- उमेश श्रेष्ठ
- असार २, २०७७

रुकुम घटनामा ‘कान्तिपुर’मा प्रकाशित पोस्टमार्टमको रिपोर्ट गलत
देशविदेशमा चासोको विषय बनेको रुकुम-जाजरकोट घटनाबारे ‘कान्तिपुर’ले २०७७ जेठ १६ गतेको अंकमा ‘पोस्टमार्टम रिपोर्ट भन्छ- पाँचै युवाको मृत्यु कुटपिटबाट, भेरी नदीमा बगे पनि मृतकको पेटमा पानी भरिएको नदेखिएको चिकित्सकको भनाइ’ शीर्षकमा समाचार छापेको थियो। तर, जाजरकोट अस्पतालका चिकित्सकले तयार पारेको पोस्टमार्टम रिपोर्टमा भने कुटपिटबाट मृत्यु भएको होइन, डुबेर भएको उल्लेख छ।
जेठ १६ को कान्तिपुरको पहिलो पेजमा ‘पोस्टमार्टम रिपोर्ट भन्छ- कुटपिटबाट मृत्यु’ र ‘नदीमा बगे पनि पेटमा पानी भरिएको भेटिएन’ शीर्षक राखिएको थियो। त्यसैगरी चौथो पेजको समाचारमा ‘पोस्टमार्टम रिपोर्टमा कुटपिटपछि मृत्यु भएको देखिएको चिकित्सकले बताएका छन्’ लेखिएको थियो। नाम नखुलाइएको चिकित्सकलाई उद्धृत गर्दै समाचारमा अगाडि लेखिएको छ, ‘नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन उनका अनुसार नदीमा डुबे मृत्यु भएका मानिसले पानी खाएर पेट फुल्नुपर्ने हुन्छ । तर, यो अवस्था देखिएको छैन । यसको अर्थ उनीहरुको मृत्यु पानीमा डुबेर नभएको देखिने पनि उनले बताए।’
तर कान्तिपुरको रिपोर्टले जे भन्यो त्यसको ठ्याक्कै उल्टो वास्तविक पोस्टमार्टम रिपोर्टमा भने ६ जनाकै मृत्युको कारण Drowning अर्थात् डुबेको उल्लेख छ।
घटनाको अनुसन्धान सकाएर प्रहरीले राय प्रतिवेदनसहित जेठ ३२ गते जिल्ला सरकारी वकील कार्यालयमा बुझाएको थियो। सरकारी वकील कार्यालयले सोही दिन रुकुम जिल्ला अदालतमा ३२ जना विरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरुलाई हत्या गरेको, हत्या प्रयास गरेको र जातीय छुवाछुत गरेको अभियोग लगाइएको छ।
हामीलाई प्राप्त पोस्टमार्टम रिपोर्टमा ६ जनाकै शवमा चोटपटक छ तर सबैको मृत्युको कारण र सम्भावित कारणमा Drowning नै लेखिएको छ।
नवराज वि.क. को पोस्टमार्टम रिपोर्टको ओपिनियन अर कन्क्लुजनमा शरीरका तीन ठाउँमा शक्तिशाली प्रहार (blunt force) का कारण बाह्य चोट रहेको उल्लेख छ। तर मृत्युको सम्भावित कारण भने डुब्नु उल्लेख छ।
त्यसैगरी लोकेन्द्र सुनारको पोस्टमार्टम रिपोर्टमा शरीरमा पनि शक्तिशाली प्रहारका कारण तीन ठाउँमा चोट लागेको र मृत्युको कारण डुब्नु उल्लेख छ।
सन्जु भनिने सञ्जीव विकको पोस्टमार्टम रिपोर्टमा भएको चोटपटक नदीमा खसेको कारण हुनसक्ने उल्लेख गर्दै मृत्युको कारण डुब्नु उल्लेख छ।
त्यस्तै टीकाराम नेपालीको रिपोर्टमा घातक प्रहारका कारण टाउको, अनुहार, घाँटी, तल्लो भागहरुमा थुप्रै चोटपटक (मल्टिपल ब्लन्ट फोर्स इन्जुरिज) भएको र मृत्युको कारण डुब्नु उल्लेख छ।
गणेश बुढा मगरको पोस्टमार्टम रिपोर्टमा शरीरको माथिल्लो भाग, घुँडा र खुट्टामा ब्लन्ट फोर्स इन्जुरिज (घस्रिएको) देखिएको तर त्यो भूइँमा लडेर भएको हुनसक्ने र यो चोट ज्यानै जाने खालको नभएको उल्लेख छ। उनको मृत्युको कारण पनि डुब्नु नै उल्लेख छ।
यसैगरी गोविन्द शाहीको पोस्टमार्टम रिपोर्टमा शरीरका तीन ठाउँमा बाह्य चोटपटक रहे पनि मृत्युको सम्भावित कारण डुब्नु उल्लेख भएको देखिन्छ।
निश्कर्ष : कान्तिपुरले चिकित्सकलाई उद्धृत गर्दै कुटपिटबाट मृत्यु भएको र पानीमा डुबेर मृत्यु भएको नदेखिने दावी गर्दै राखेको समाचार आधिकारिक पोस्टमार्टम रिपोर्टसँग बाझिएकोले गलत हो।
यद्यपि प्रहरीले भने पोस्टमार्टम रिपोर्टबाट ‘Blunt force समेत प्रयोग भएको कारणबाट घाउचोट लागेको तथ्य स्थापित भएको’ भन्दै ‘मृतकहरुको मृत्यु प्रतिवादीहरुले वारदात मितिमा प्रहार गरेका चोट समेतबाट भएको स्पष्ट देखिएको’ दावी गर्दै कर्तव्य ज्यानको मुद्दा चलाउन राय दिए बमोजिम मुद्दा दर्ता भएको देखिन्छ। मुलुकी अपराध संहिता,२०७४ को दफा १७७ मा पनि ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने दफा १ कसैले कसैको नियत पुर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन लेखिएको छ र यसको स्पष्टीकरणमा यस दफाको प्रयोजनको लागि कसैले कसैलाई निजको ज्यान मर्न सक्ने गरी नियतपूर्वक गम्भिर शारिरीक चोट वा क्षति पुर्याएकोमा तत्कालै ज्यान नमरी सोही चोटको परिणाम स्वरुपपछी ज्यान मरेमा पनि सोही व्यक्तिले ज्यान मारेको मानिनेछ लेखिएको छ। शवबाट भिसेरा परीक्षणको लागि पठाए पनि रिपोर्ट आइसकेको छैन।