तथ्यजाँच मिथ्या सूचना

के हो फेसबुकमा भाइरल भएको मञ्जु भण्डारीको स्टायटसको तथ्य ?


के हो फेसबुकमा भाइरल भएको मञ्जु भण्डारीको स्टायटसको तथ्य ?

धरान उपमहानगरपालिकामा यस पटकको निर्वाचनमा मेयरका उम्मेदवार तथा अघिल्लो कार्यकालका उपमेयर मञ्जु भण्डारीको एउटा फेसबुक स्टायटसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएको छ। वर्तमान मेयर हर्क साम्पाङले समेत उक्त स्क्रिनसट सेयर गरेका छन्। तर उक्त  स्क्रिनसटका केही प्राविधिक विषयका आधारमा हाम्रो तथ्य जाँचमा यो मिथ्या भएको देखिएको छ।

कसरी भयो भाइरल ?

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार अनुसार धरानमा बराह बचत तथा ऋण सहकारीको बचतकर्ताहरूको रकम हिनामिना भएको विषयमा पीडित र धरानका मेयर हर्क साम्पाङबीच विवाद भएपछि आक्रोशित भिडले उनीविरुद्ध नाराबाजी, गालीगलौजसँगै कार्यकक्षको सिसा तोडफोड गरेको थियो।

त्यसलगत्तै पीडितलाई उचालेर तोडफोडको अगुवाई गरेको भन्दै मेयर साम्पाङले संघर्ष समिति संयोजक खगेन्द्र नेपालीको एउटा फोटो फेसबुकमा पोस्ट गरेका थिए, जसमा ‘मेरो भोट मञ्जु भण्डारीलाई’ लेखिएको थियो र उनको फोटोसहित सूर्य चिह्नमा छाप लगाइएको पनि देखिन्थ्यो।

मञ्जु भण्डारी र एमालेसँग मेयर साम्पाङको विवाद भइरहेकै बेला अहिले भाइरल भएको  स्टायटसको स्क्रिनसट सामाजिक सञ्जालमा देखिएको थियो जसलाई मेयर स्वयंले पनि बिहीबार बिहान फेसबुकमा सेयर गरेका थिए। बिहीबार राति साढे नौ बजे उक्त पोस्ट भएको १४ घण्टामा त्यसमा १६ हजार रियाक्सन, साढे ७ हजार कमेन्ट र १ हजारभन्दा बढी सेयर भएका छन्।

अरु धेरैले पनि यो स्क्रिनसट सेयर गरेका छन्।

के हो तथ्य ?

हामीले मञ्जु भण्डारीको भनिएको यो फेसबुक पोस्टको स्क्रिनसटका डिटेल हेर्‍यौँ। फेसबुक वा ट्विटरका फेक पोस्ट बनाउन त्यति गाह्रो छैन। यसका लागि फोटोसप गरिरहन पनि जरुरी हुँदैन। फेक फेसबुक पोस्ट जेनेरेटरमा फोटो र अरु विवरण हालेर सजिलै नक्कली पोस्ट बनाउन सकिन्छ।

प्रायङ्कमीनटबाट बनाइएको फेक फेसबुक पोस्टको स्क्रिनसट।

हामीले फेसबुकमा यहाँ यसको अर्को स्क्रिनसट पनि भेट्टायौँ जुन यस्तो देखिन्छ-

यो स्क्रिनसटमा पोस्ट गर्ने मञ्जु भण्डारी र कमेन्ट लेख्नेहरुको प्रोफाइल पिक्चर वर्गाकार (स्क्वायर) देखिन्छ जबकि अहिलेका फेसबुक पोस्टहरुमा प्रोफाइल पिक्चर गोलो (सर्कुलर) देखिन्छ।

तर फेसबुकले प्रोफाइल पिक्चर स्क्वायरको साटो गोलो देखाउन थालेको सन् २०१७ देखि नै हो।

 

त्यसैगरी उक्त स्क्रिनसटमा लाइक गर्नेहरुको ठाउँमा ‘Friend’s name’ समेत लेखेको देखिएको छ। वास्तविक पोस्टमा यस्तो हुँदैन, साथीको नाम नै लेखिएको हुन्छ।

यसबाहेक सो स्क्रिनसटको १.३ हजार रियाक्सन देखाइए पनि सबै लाइक मात्र देखिएको छ जबकि हाल लाइक बाहेक अरु ६ वटा रियाक्सन पनि फेसबुकमा उपलब्ध छ। त्यति धेरै रियाक्सन हुँदा पनि अरु रियाक्सन नदेखिनुले पनि यो स्क्रिनसटको सत्यतामा प्रश्न उठ्छ।

फेसबुकमा हाल उपलब्ध सात वटा रियाक्सन

 

भण्डारीले बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै  सामाजिक रुपमा द्वेष फैलाउने गरी भ्रम फैलाउने काम भएको बताएकी छिन्।

तथ्य जाँच

दावी :  जातीय द्वेषसहितको फेसबुक स्टायटसको स्क्रिनसट मञ्जु भण्डारीले पोस्ट गरेकी हुन्।

दावीकर्ता : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र फेसबुक प्रयोगकर्ताहरु।

तथ्य : मिथ्या सूचना । उक्त फेसबुक पोस्टको स्क्रिनसट मात्र सामाजिक सञ्जालमा सेयर भएको देखिन्छ। कसैले यसको लिङ्क पोस्ट गरेका छैनन्। स्क्रिनसट जसको जस्तोसुकै पनि बनाउन सकिने भएकोले स्क्रिनसटका आधारमा मात्र यसलाई सही वा मिथ्या पत्ता लगाउन सम्भव हुँदैन। तर यो स्क्रिनसटमा देखिएका विभिन्न डिटेलहरु (पाँच वर्षअघि नै फेसबुकले हटाइसकेको स्क्वायर आकारको प्रोफाइल पिक्चर हुनु, लाइक गर्नेको नाममा Friend’s name हुनु र अरु रियाक्सन नहुनु) को कारण यो स्क्रिनसट मिथ्या भएको निश्कर्षमा हामी पुगेका हौँ।

 

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add