- उमेश श्रेष्ठ
- असार १५, २०७७
के कृषि मन्त्रीले भने जस्तै हेभी मेटल म्युजिकले सलहलाई कक्रक्कै पार्छ?
कृषि मन्त्री घनश्याम भुसालले हेभी मेटल म्युजिक सुनाएपछि सलह कक्रक्कै पर्ने भएकोले त्यस्तो म्युजिक संकलन गरिरहेको बताएको खबरले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ।
सिन्धुलीमाढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले बताएको कुरालाई ‘कान्तिपुर’ ले ‘सलह कक्रक्कै हुने अमेरिकी गीत संकलन गर्दैछौं : मन्त्री भुसाल‘ शीर्षकमा समाचार छापेको थियो।
लगत्तै कृषि मन्त्रीका पिएले कान्तिपुरको नाम नलिई मन्त्रीको अभिव्यक्तिलाई बटारेर झोँक फेरेको आरोप फेसबुकमा लगाए।
तर अन्नपूर्ण पोस्टले राखेको मन्त्रीको अभिव्यक्तिको अडियो र कान्तिपुरले नै राखेको मन्त्रीको भिडियो हेर्दा अभिव्यक्ति बटारिएको देखिन्न।
मन्त्री भुसालले भनेका छन्- “ठूल्ठूलो माइकहरु लगाइदिने, अहिले भर्खरै म आउँदै थिएँ, अस्ट्रेलियाबाट एक जना नेपाली भाइ पढ्दै हुनुहुँदो रहेछ मेलबर्नमा, उहाँले मलाई फोन गर्नुभाथ्यो, फोन नम्बर पत्ता लगाएर। उहाँले चाहिँ त्यो हेभी मेटल म्युजिक भन्ने एउटा हुँदो रहेछ, त्यो चाहिँ अमेरिकामा गाएको, एउटा ब्यान्डले गाएको, त्यो गीत चाहिँ सुनाएपछि त्यो बढ्ता चाहिँ, त्यो जहाँको तहीँ हुँदो रहेछ के, कक्रक्कै परिहाल्दो रहेछ त्यो चाहिँ। त्यस्तो रहेछ। अनि यस्ता यस्ता अनेक चिजहरु चाहिँ हामी संकलन पनि गर्दैछौँ।”
के मन्त्री भुसालले भने जस्तै हेभी मेटल म्युजिक सुनाएपछि सलह कक्रक्कै पर्ने हो त? हामीले फ्याक्टचेक गरेका छौँ।
भारतको लोकस्ट (सलह) वार्निङ अर्गनाइजेसनका डेपुटी डाइरेक्टर डा. के एल गुर्जारले एक महिनाअघि दिल्लीवासीहरुलाई ठूलो आवाजमा हल्ला गर्न सुझाव दिएका थिए, ताकि ती सलहहरु बस्नुको साटो उडेर जाउन्।
गएको शनिबार फेरि दिल्ली सरकारले एडभाइजरी जारी गरेको स्क्रोलले जनाएको छ। समाचार अनुसार ड्रम बजाएर र थाल ठटाएर, पटाका पड्काएर, ठूलो आवाजमा म्युजिक बजाउन र नीमको पात जलाउन दिल्लीवासीहरुलाई भनिएको थियो। यसो गर्दा सलहहरु भाग्ने बताइएको थियो।
Preventive measures for for locust swarm attack. No imminent threat as of now pic.twitter.com/b4w7jpHQa0
— DM G.B. Nagar (@dmgbnagar) May 28, 2020
गौतम बुद्ध नगरका जिल्ला म्याजिस्ट्रेटको एडभाइजरी।
उत्तर प्रदेशका एक प्रहरी अधिकारीले ट्विटरमा डिजेले चर्को आवाजमा म्युजिक बजाएर सलह भगाउन खोजेको भिडियो नै हालेका छन्-
डीजे सिर्फ़ नाच गाने के लिये ही नहीं बल्कि टिड्डी दल भगाने में भी कारगर होता है ।
दिन सबके बदलते हैं !
आप मुँह से आवाज़ निकाल सकते हैं या थाली भी पीट सकते हैं ।#DiscJockey #Locustswarm #locustswarms #Locusts #Locustsattack #LocustInvasion #LocustSwarmsAttack pic.twitter.com/zUcpYiJTGb
— RAHUL SRIVASTAV (@upcoprahul) May 27, 2020
भिडियोमा बिहेमा बजाइने डिजे भेहिकलबाट आवाज निकालेर सलह भगाउन खोजेको देखिन्छ।
तर यसले काम गर्छ भन्ने निश्चित भने नहुने राजस्थानको उदाहरणले देखाउँछ। इन्डियाटाइम्समा जुन २२ मा प्रकाशित रिपोर्ट अनुसार सलह आक्रमणबाट सबैभन्दा बढी प्रभावित भारतीय राज्यमध्ये एक राजस्थानमा किसानहरु र उनीहरुका परिवारका सदस्यहरुले दिउँसो र र साँझ चर्को आवाजमा म्युजिक बजाउने, आगो बाल्ने, साइलेन्सर हटाएर ट्रयाक्टर खेतमा चलाउने आदि गरेर सलहलाई तर्साउन खोजे पनि त्यसले काम गरिरहेको छैन।
संयुक्त राष्ट्र संघको खाद्य एवं कृषि सङ्गठन (FAO) ले सलह नियन्त्रणका लागि चर्को संगीत बजाउने उपाय सुझाएको छैन।
सलहको सुन्ने शक्तिबारे प्रशस्त अध्ययन भएका छन्।
सलहको कान। फोटो : semanticscholar
Proceedings. Biological sciences मा सन् २०१४ मा प्रकाशित एउटा अध्ययनले सलहले उसका दुई कानले विभिन्न पिचको आवाज सुन्न सक्ने रहेको देखाउँछ। प्रयोगशालामा गरिएको परीक्षणले चर्को आवाजमा सलहको अडिटरी नर्भमा न्युरोफिजियोलजिकल रेस्पन्स बढेको देखाएको थियो। सलहले 1–30 kHz को आवाजसमेत सुन्न सक्ने रहेछ।
Journal of the Royal Society Interface मा प्रकाशित अर्को अध्ययनले सलहको सुन्ने प्रणाली मान्छेको कान वा कुनै इलेक्ट्रोनिक माइक्रोफोनको जस्तो रहेको देखाएको छ।
सलह समूहमा उड्ने गर्छ। यसलाई बाँच्नका लागि अरु सलहको लो फ्रिक्वेन्सीको ध्वनि सुन्नु पर्ने हुन्छ भने शत्रु जस्तै कि चमेरोको हाइ फ्रिक्वेन्सी आवाज पनि सुन्नु पर्ने हुन्छ। यसको सानो इयरड्रमले दुवै किसिमको ध्वनि सुन्ने र पहिचान गर्न सक्ने क्षमता राखेको हुन्छ।
अध्ययनकर्ताहरुले सलहको इयरड्रम मेम्ब्रेनले लाउडस्पिकरबाट आएको साउन्डवेभ्सलाई कसरी प्रतिक्रिया जनाउँछ भन्ने अध्ययन पनि गरेका थिए।
निश्कर्ष : यी अध्ययनहरुले स्पष्ट पार्छ कि चर्को आवाज सलहले सुन्छन्। तर त्यसका लागि अमेरिकी हेभी मेटल म्युजिक नै संकलन गर्न जरुरी भने हुन्न। कुनै पनि संगीत चर्को आवाजमा बजाए हुन्छ वा चर्को ध्वनि जेबाट निकाले पनि हुन्छ। त्यसैगरी चर्को आवाजका कारण मन्त्री भुसालले दावी गरे जस्तो सलह ‘जहाँको तहीँ हुने’ वा ‘कक्रक्कै परिहाल्ने’ भने होइन। त्यो आवाजको प्रतिक्रिया स्वरुप उडेर अर्को ठाउँमा जाने हो।
त्यसैले कृषि मन्त्री घनश्याम भुसालको अमेरिकी हेभी मेटल म्युजिक सुनाएपछि सलह जहीँको तहीँ भएर कक्रक्क पर्ने दावी भ्रामक छ।