- उमेश श्रेष्ठ
- बैशाख १६, २०७८

के सरकारले त्रिकोणात्मक क्रिकेट सिरिज जित्ने खेलाडीलाई ४–४ लाख दिन लागेको हो?
हालै काठमाडौँमा तीन देशबीच भएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको नेपाली क्रिकेट टोलीका सदस्य प्रत्येकलाई ४-४ लाख रुपैयाँ पुरस्कार दिने निर्णय सरकारले गरेको बारे केही मिडियामा समाचार आएका छन्।
राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र वर्तमान कप्तान ज्ञानेन्द्र मल्लले पनि क्रिकेट टोलीलाई सरकारले पुरस्कृत गर्न लागेको व्यहोराका पोस्ट सामाजिक सञ्जालमा गरेका छन्।
के यो सही हो ? हामीले यो विषयमा तथ्य जाँच गरेका छौँ।
मिडियामा के-के आए?
अनलाइन मिडिया नेपालप्रेसले ‘त्रिकोणात्मक क्रिकेट सिरिज जित्ने टोलीका २३ खेलाडीलाई ४–४ लाख दिइने‘ शीर्षकमा समाचार राखेको छ।
समाचारमा लेखिएको छ, ‘हालै त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि जितेको नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ४ लाख रुपैयाँ प्रदान गरिने भएको छ। टोलीका २३ जना खेलाडीलाई सो नगद पुरस्कार दिने निर्णय मन्त्रीपरिषदले गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए।’
२४ लाखभन्दा बढीले फलो गर्ने फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ले पनि क्रिकेट टिमलाई सरकारले पुरस्कार रकम दिन लागेको लेखेको थियो।
राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले पनि अनलाइनखबरमा प्रकाशित समाचारसहित खेलाडीहरुलाई बधाई दिएका छन्।
वर्तमान कप्तान ज्ञानेन्द्र मल्लले पनि ट्विटरमा पुरस्कार दिन लागेकोमा सरकारलाई धन्यवाद दिएका थिए।
अरु थुप्रै अनलाइन मिडियाहरुले पनि यो समाचार राखेका छन्-
के हो तथ्य ?
मन्त्रिपरिषद्ले गरेका विभिन्न निर्णयहरुको बारेमा जानकारी दिन सरकारका प्रवक्ता पार्वत गुरुङले वैशाख १५ गते बुधबार पत्रकार सम्मेलन गरेका थिए। यसको भिडियो सेतोपाटीको फेसबुक पेजमा उपलब्ध छ।
यसमा मन्त्री गुरुङले भनेका छन्- ‘त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी विजेता २३ जना खेलाडीलाई प्रति व्यक्ति चार लाख तथा तीन जना प्रशिक्षकलाई प्रतिव्यक्ति दुई लाखको दरले प्रमाणपत्रसहित नगद पुरस्कार प्रोत्साहन गर्ने निर्णय भएको छ।’
मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको छ। त्यसमा पनि वैशाख ९ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयमा क्रिकेट खेलाडी होइन, फुटबल खेलाडीलाई नै पुरस्कार दिने लेखिएको छ।
अनलाइनखबरले गल्ती भएको स्वीकार्दै समाचार सच्याएको छ। समाचारको पुछारमा लेखिएको पनि छ– त्रिदेशीय फुटबल लेख्नुपर्नेमा यसअघि भुलवश त्रिकोणात्मक क्रिकेट सिरिज भएकाले सच्याइएको छ। यसैगरी पारस खड्का र ज्ञानेन्द्र मल्ले पनि सामाजिक सञ्जालमा आफ्ना पोस्टहरु हटाइसकेका छन् भने रुटिन अफ नेपाल बन्दले पनि पोस्ट डिलिट गरेको छ। तर पनि अरु अनलाइन मिडियाहरुमा यो समाचार कायमै छ।
तथ्य जाँच
दावी : सरकारले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको नेपाली क्रिकेट टोलीका सदस्य प्रत्येकलाई ४-४ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ।
तथ्य : मिथ्या सूचना। सरकारले त्रिदेशीय क्रिकेट प्रतियोगिता होइन त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी विजेता २३ जना खेलाडीलाई प्रतिव्यक्ति चार लाख तथा तीन जना प्रशिक्षकलाई प्रतिव्यक्ति दुई लाखका दरले प्रमाणपत्रसहित नगद प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ। केही मिडियाले यसलाई सच्याएका पनि छन्। तसर्थ क्रिकेट खेलाडीलाई पुरस्कार दिने निर्णयबारे विभिन्न मिडियामा आएका समाचार गलत प्रमाणित हुन्छ।