- उमेश श्रेष्ठ
- जेष्ठ २०, २०७८

के कोरोना भाइरसको ‘नेपाल भेरियन्ट’ भेटिएको हो?
कोरोना भाइरसको ‘नेपाल भेरियन्ट’ भेटिएको दावी गर्दै बेलायती ट्याब्ल्वाइड अखबार ‘डेली मेल’ले बिहीबारको अङ्कमा बनाएको मुख्य समाचार चर्चामा छ। यो समाचारलाई बीबीसी लगायत अरु बेलायती मिडियाले पनि साभार गरेका छन्। सामाजिक सञ्जालमा पनि यसबारे चर्चा चुलिएको छ।
के साँच्चै ‘नेपाल भेरियन्ट’ भेटिएको हो त? हामीले यसबारे तथ्य जाँच गरेका छौँ।
सनसनीपूर्ण शीर्षक र समाचारहरुका कारण अक्सर विवादमा परिरहने बेलायती ट्याब्ल्वाइड डेली मेललेे बिहीबार यसलाई पहिलो पृष्ठको समाचार बनाउँदै नेपाल भेरियन्टकका कारण विदेशमा विदा मनाउने काम जोखिममा परेको शीर्षक राखेको छ। यसलाई उसले एक्सक्लुसिभको ट्याग पनि राखेको छ।
समाचारमा नाम उल्लेख नगरिएका वैज्ञानिकहरुलाई उद्धृत गर्दै नेपालमा पहिले देखिएको यो भाइरस युरोपमा फैलिएको र यो खोप प्रतिरोधीसमेत रहेको दावी गरिएको छ।
डेली मेलले यो समाचारपछि आफ्नो वेबसाइटमा अर्को समाचार अपडेट गर्दै ‘नेपाल भेरियन्ट’ २० जना बेलायतीमा भेटिसकेको दावी पनि गरेको छ। समाचारमा पहिले यो भेरियन्ट पोर्चुगलमा भेटिसकेको र बेलायतमा आइपुगेको बारेमा पनि घोषणा हुने उल्लेख छ।
के हो तथ्य ?
डब्लुएचओको नेपाल कार्यालयले नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको विषयमा आफू जानकार नरहेको स्पष्ट पारेको छ। सामाजिक सञ्जालमा डब्लुएचओले लेखेको छ- नेपालमा रहेका भेरियन्टहरु Alpha (B.1.1.7), Delta (B.1.617.2) र Kappa (B.1.617.1) हुन् । यी तीन मध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट Delta (B.1.617.2) हो।
नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरु Alpha (B.1.1.7), Delta (B.1.617.2) र Kappa (B.1.617.1) हुन् । यी तीन मध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट Delta (B.1.617.2) हो । @mohpnep @PandavRajesh https://t.co/SPib5Tqc8a
— WHO Nepal (@WHONepal) June 3, 2021
डब्लुएचओले देशका नाममा भेरियन्टको नाम राख्न नहुने भन्दै विभिन्न भेरियन्टहरुलाई फरक फरक नाम दिएको छ। डब्लुएचओले भेरियन्ट अफ कन्सर्नका रुपमा यी नाम उल्लेख गरेको छ-
त्यसैगरी भेरियन्ट अफ इन्ट्रेस्टमा यी नाम छन्-
नेपालमा अलग्गै भेरियन्ट भेटिएको बारे डब्लुएचओले पहिचान गरिसकेको छैन।
स्वास्थ्य मन्त्रालयले पनि बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्टमात्र भेटिएको र यसबाहेक अरु कुनै पनि नयाँ भेरियन्ट पुष्टि नभएको बताएको छ।
दावी : नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियो।
तथ्य : अपुष्ट । नेपालमा नयाँ भेरियन्ट भेटिएको पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले बताएको छ भने डब्लुएचओको नेपाल कार्यालयले पनि नयाँ भेरियन्टबारे अवगत नभएको बताएको छ। तसर्थ डेली मेलको दावी पुष्टि हुन सक्दैन।