- श्यामसुन्दर पुडासैनी
- भदौ ११, २०७८

के बालिकाले बाँदरको बच्चा बोकेको भाइरल फोटो नेपालकै हो?
- श्यामसुन्दर पुडासैनी –
सामाजिक सञ्जालमा मंगलबार रातिदेखि एउटा फोटो भाइरल भएको छ। फोटोमा रातो लुगा लगाएकी एक बालिकाले बाँदरको सानो बच्चालाई बोकिरहेको देख्न सकिन्छ। फोटोसँगै मकै खाना आएको बाँदरको माउलाई मारेपछि सानो बच्चाले आमालाई नछाडेपछि आफै पाल्छु भनेर फोटोमा देखिएकी बहिनीले बोकेर आएको मार्मिक बयान गरिएको छ।
विभिन्न फेसबुक पेजहरुले पनि यो फोटोसहितको पोस्टलाई साभार गरेका छन्। के यो फोटो नेपालकै हो ? हामीले तथ्य जाँच गरेका छौँ।
कहाँ कस्तो पोस्ट?

अभी लामिछाने (दीपक) नाम रहेको फेसबुक अकाउन्टबाट यो फोटो २४ अगस्त २०२१ मा राति ७ बजेर ३५ मिनेटमा पोस्ट भएको छ। यो पोस्ट शुक्रबार मध्याह्नसम्म ४९४ पटक सेयर भइसकेको छ भने १७ सय वटा रियाक्सन र १२९ कमेन्ट छन्।
फेसबुकमा यही पोस्टमा रहेको ‘एक जना बुनेले बादरको बच्चा बोकेको’ कीवर्डसहित सर्च गर्दा यही फोटोसहितका पोस्टहरु थुप्रै फेसबुक पेज र ग्रुपहरुले राखेको भेटियो।
भएको के थियो?
हामीले यो फोटो सबैभन्दा पहिला फेसबुकमा पोस्ट गर्ने अभी लामिछानेसित सम्पर्क गर्यौँ। उनले दिएको जानकारी यस्तो छ-
‘म उदयपुरको कटारीबाट मंगलबार (२४ अगस्त) गाडीमा काठमाडौँ फर्कँदै गर्दा सँगै यात्रा गर्ने ९ वर्षकी एक जना बहिनीसँग सानो बाँदर पनि थियो। त्यो बहिनीलाई र उसको आमाबुबालाई पनि सोधेँ। मकै खान आएको भनेर बाँदरलाई मार्दा यो सानो बाँदरको माउ पनि मारिएछ। बाँदरले मरिसकेको माउलाई छाड्दै नछाडेपछि त्यो बहिनीलाई माया लागेछ। त्यसपछि उसले म आफै लगेर पाल्छु भनेर लिएर आएको रहेछ। बाँदर पनि अरुसँग नमान्ने, त्यही बहिनीसँगै टाँस्सिएर बसिरहने रहेछ। उनीहरुले बाँदरलाई खुवाउने भनेर केराको घारी पनि बोकेर आएका थिए। उनीहरु सिनामंगल झरेका थिए।’
तथ्य जाँच
हामीले गुगल र यान्डेक्सबाट रिभर्स इमेज सर्च गरी यो फोटो खोज्दा पुरानो मितिको कतै भेटिएन। लामिछानेलाई हामीले ओरिजिनल फोटो पठाउन भन्यौँ। उनले फोटोसहित एउटा भिडियो पनि पठाए।
यो भिडियोको प्रोपर्टीजमा गएर हेर्दा यो खिचेको मिति २४ अगस्त बिहान १० बजेर ३८ मिनेटमा देखियो।
त्यसैगरी उनले पठाएका दुई वटा फोटोलाई जेफ्रीज इमेज मेटाडेटा भ्युअरमा लगेर हेर्दा दुवै फोटो ओप्पो ए ९३ मोडलको मोबाइलबाट खिचेको देखियो।
एउटा फोटो अगस्त २४ का दिन १० बजेर ३८ मिनेट २२ सेकेन्डमा र अर्को फोटो सोही दिन १० बजेर ३८ मिनेट १५ सेकेन्डमा खिचेको देखियो।
तथ्य जाँच
दावी : सामाजिक सञ्जालमा भाइरल भएको यो फोटो नेपालको हो।
तथ्य जाँच : सही सूचना । फोटो अभी लामिछानेले पोस्ट गरेको मितिभन्दा पहिला अपलोड भएको देखिन्न। उनीसित ओरिजिनल फोटो र भिडियो पनि रहेको र तथ्य जाँचका लागि उनले पठाएका फोटोको मेटाडेटा हेर्दा पोस्ट भएकै दिन अगस्त २४ मा ओप्पो ए ९३ मोबाइलबाट बिहान १० बजेर ३८ मिनेटमा खिचेको देखिन्छ। यद्यपि फोटोमा जिपिएस डेटा भने रहेको छैन। उनले दिएका जानकारीहरुको स्वतन्त्र पुष्टि गर्न नसकिए पनि हामीसँग उपलब्ध प्रमाणहरुको आधारमा यो फोटो उनले नै खिचेको भन्न सकिन्छ।