तथ्यजाँच वागमती सम्बन्धित प्रदेश सही सूचना

के ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा झलनाथ खनालको पालामा आएको हो?


के ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा झलनाथ खनालको पालामा आएको हो?

पूर्व प्रधानमन्त्री तथा हाल नेकपा एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा आफ्नो पालामा ल्याइएको दावी गरेको समाचार विभिन्न मिडियामा आएका छन्।

पूर्व प्रधानमन्त्री केपी शर्मा ‌ओलीले लोकप्रिय बनाएको नारा आफूले नवौँ महाधिवेशनको क्रममा ल्याएको दावी उनले गरेको ती समाचारहरुमा उल्लेख छ।

के हो यसको तथ्य? हामीले खोजेका छौँ।

कहाँ कस्तो समाचार ?

सरकारी स्वामित्वको दैनिक गोरखापत्रले ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा मेरो हो : खनाल  शीर्षकको समाचार पुस ९ गते शुक्रबार प्रकाशन गरेको छ। बिहीबार काठमाडाैंमा राजनीतिज्ञ बद्रीप्रसाद खतिवडाको पुस्तक ‘अभियन्ता’ विमोचन कार्यक्रममा बोल्दै नेता खनालले नेकपा एमालेको नवौँ महाधिवेशनमा आफूले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा अघि सारेको दाबी गरेको उल्लेख छ।

त्यस्तै नेपालप्रेसले पनि झलनाथको दाबी- ‘सुखी नेपाली, समृद्ध नेपाल’ मैले अघि सारेको नारा शीर्षकमा पुस ८ गते समाचार राखेको छ।

समाचारमा लेखिएको छ- ‘सुखी नेपाली, समृद्ध नेपाल मैले नेकपा (एमाले) को नवौं महाधिवेशनमा अगाडि सारेको नारा हो,’ खनालले भने, ‘कम्युनिष्ट आन्दोलन त्यति बेला ठ्याक्क ६५ वर्षमा पुगेको थियो । अब ३५ वर्षमा सय वर्षमा पुग्छ । यो अवधिमा हामीले नेपालमा कम्युनिष्ट आन्दोलनका सामु के लक्ष्य राख्ने त भन्दा सुखी नेपाली समृद्ध नेपाल हुनुपर्छ भनेर अगाडि सारिएको थियो ।’

समाचारमा झलनाथ खनालले बोलेको भिडियो पनि राखिएको छ-

खनालले यस्तो दावी गरेको यो पहिलो पटक भने होइन। यसअघि पनि उनले यस्तो दावी गरेको हामीले गुगलमा खोज्ने क्रममा भेट्टायौँ। माघ २५, २०७७ मा सेतोपाटीमा प्रकाशित सुखी नेपाली, समृद्ध नेपाल’ मैले तय गरेको नारा हो-झलनाथ खनाल शीर्षकको समाचारमा लेखिएको छ- ‘नवौं महाधिवेशनको राजनीतिक दस्तावेज मैले नै लेखेको हुँ। कम्युनिष्ट आन्दोलन सुरू भएको ७० वर्ष पुग्न लाग्दै गर्दा अबको नारा के तय गर्ने भन्ने मलाई लागेको थियो,’ उनले भने, ‘जनवादी क्रान्ति सम्पन्न भइसकेको अवस्था छ। त्यसैले अब कम्युनिष्ट पार्टी स्थापनाको शताब्दी पुग्दा सुखी नेपाली, समृद्ध नेपालीको एजेण्डा लिएर त्यसलाई सम्पन्न गर्नुपर्छ भनेर यो नारा तय भएको हो।’

के हो तथ्य?

२०६५ सालमा बुटवलमा भएको एमालेको आठौं महाधिवेशनमा झलनाथ खनालले केपी शर्मा ओलीलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका थिए। २०७१ सालको नवौँ महाधिवेशनमा अध्यक्षका रुपमा खनालले नै राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

के साँच्चै एमालेको नवौँ महाधिवेशनमा यो नारा उल्लेख छ त?

हामीले नेकपा एमालेको आधिकारिक वेबसाइटमा दस्तावेजहरु खोज्यौँ।

नवौँ राष्ट्रिय महाधिवेशनको राजनीतिक प्रतिवेदनको विषयसूचीको (ड) मा ‘नेकपा एमालेको परिकल्पना : सुखी नेपाली समृद्ध नेपाल’ उल्लेख छ।

दस्तावेजमा ‘विक्रम संवतको एक्काइसौँ शताब्दीको अन्त्यसम्म नेपाल संसारका मध्यम विकसित राष्ट्रहरुको दाँजोमा स्थापित हुने र समृद्ध नेपाल र सुखी नेपाली हाम्रो मिसन हुने’ उल्लेख छ।

यसका लागि राजनीतक क्षेत्रमा, अर्थतन्त्रका क्षेत्रमा, सामाजिक क्षेत्रमा, सङ्घीयता र स्थानीय स्वशासन, सामाजिक सांस्कृतिक रुपान्तरण, राष्ट्रियताका क्षेत्रमा र वातावरण र विविध गरी सात वटा कार्यक्रम राखिएका थिए। हेर्नुस् दस्तावेज

२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेको घोषणापत्रमा ‘सुखी नेपाली : समृद्ध नेपालको लक्ष्य हासिल गर्नुछ’ लेखिएको छ भने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रमा सुखी जनता, समृद्ध नेपाल– हाम्रो अभियान ! उल्लेख छ।

यो नारालाई चर्चामा ल्याउने काम भने प्रतिनिधि सभाको निर्वाचन पछि बनेको केपी शर्मा ओलीको सरकारले गरेको हो। ओलीले आफ्ना सम्बोधनहरुमा यो नारा उल्लेख गर्ने गरेका थिए।  राष्ट्रिय योजना आयोगले पनि समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिका ५५ सूचक सार्वजनिक गरेको थियो २०७५ चैतमा। १५औँ पञ्चवर्षीय योजना कार्यान्वयन पूरा हुने आर्थिक वर्ष २०८०/८१ सम्म प्राप्त गर्नुपर्ने लक्ष्यलाई सूचकमा राखिएको छ । राष्ट्रिय सूचकमध्ये समृद्धिका ३२ वटा छन् भने सुखका २३ वटा छन् ।

तथ्य जाँच

दावी : पूर्व प्रधानमन्त्री झलनाथ खनालको दावी अनुसार नेकपा एमालेको नवौँ महाधिवेशनमा उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा अघि सारेका हुन्।

तथ्य : सही सूचना। नेकपा एमालेको नवौँ महाधिवेशनको राजनीतिक प्रतिवेदनमा यो नारा उल्लेख भएको देखिन्छ। यद्यपि, यो नारालाई चर्चामा ल्याएका भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हुन्।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add