तथ्यजाँच मिथ्या सूचना

के कांग्रेसले आफ्नो महाधिवेशनमा ‘चुच्चे हैन बुच्चे नक्सा’ प्रयोग गरेको हो?


के कांग्रेसले आफ्नो महाधिवेशनमा ‘चुच्चे हैन बुच्चे नक्सा’ प्रयोग गरेको हो?

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले भर्खरै सम्पन्न आफ्नो १४ औँ महाधिवेशनमा नेपालको पुरानो नक्सा प्रयोग गरेको दावी गरेका छन्।

पुस २३ गते मूलपानीमा भएको काठमाडौँ जिल्ला अधिवेशनमा सम्बोधन गर्दै उनले कांग्रेसले महाधिवेशनमा चुच्चे हैन बुच्चे नक्सा प्रयोग गरेको भाषण गरेका थिए।

के साँच्चै कांग्रेसले महाधिवेशनमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा प्रयोग नगरी पुरानै नक्सा प्रयोग गरेको हो त? हामीले तथ्य जाँच गरेका छौँ।

के भनेका थिए ओलीले ?

२०७८ पुस २३ गते शुक्रबार मूलपानीमा भएको काठमाडौँ जिल्ला अधिवेशनका क्रममा ओलीको सम्बोधनको भिडियो नेपालप्रेसले आफ्नो फेसबुकमा राखेको छ।

भिडियोको ८ औँ मिनेटमा ओलीले भनेका छन्, ‘हामीले नेपालको भूभाग सामेल गरेर नेपालको नक्सा छाप्यौँ। संसदबाट पारित गर्‍यौँ। नेपाली कांग्रेस पनि हात उठाउनेमा त थियो पास गर्ने कुरामा संविधान। नेपालको नक्सा अहिले चुच्चे नक्सा भनिन्छ। चुच्चे नक्सा पास गर्ने ठाउँमा त नेपाली कांग्रेस पनि थियो संसदमा। तर आफ्नो महाधिवेशनमा चुच्चे हैन बुच्चे नक्सा फेरि कांग्रेसले बुच्ने नक्सा राख्यो। कसका लागि, कसको इशारामा नेपाली कांग्रेसले फेरि किन बुच्चे नक्सा पुरानै नक्सा किन राख्यो ? हाम्रो संसदले दुई तिहाईबाट मात्र हैन सर्वसम्मतिले पास गरेको, संविधान संशोधनसमेत गरेर पास गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी सामेल भएको नक्सा ..संविधानको उल्लङ्घन नेपाली कांग्रेसले किन गर्‍यो आफ्नो महाधिवेशनमा?’

कस्तो नक्सा प्रयोग भएको थियो?

हामीले काठमाडौँको भृकुटी मण्डपमा भएको कांग्रेस महाधिवेशनको फोटो खिचेका दुई फोटो पत्रकारहरुसित यसबारे सोध्यौँ।

कान्तिपुर राष्ट्रिय दैनिकका फोटो पत्रकार अंगद ढकालले महाधिवेशनमा प्रयोग भएको फ्लेक्स देखिने फोटो पठाए। उनले खिचेको फोटोमा नेपालको नयाँ चुच्ने नक्सा  नै देखिन्छ।

फोटो जुम गरी हेर्दा।

त्यसैगरी पहिलोपोस्टका फोटो पत्रकार प्रवीण रानाभाटले हामीलाई अर्को फोटो पठाए। उनले खिचेको मञ्चको मुख्य भागमा राखिएको नेपालको नक्सामा पनि चुच्चे नक्सा नै देखिन्छ-

यही फोटो जुम गरी हेर्दा –

उनले खिचेको केपी ओली देखिने अर्को फोटोमा पनि चुच्चे नक्सा नै देखिन्छ-

कांग्रेस महाधिवेशनको पोस्टर सार्वजनिक गरिएको बारे इकान्तिपुरमा २०७८ मंसिर १६ गते समाचार प्रकाशित छ। समाचारमा राखिएको पोस्टरमा पनि नक्सा चुच्चे नै देखिन्छ।

महाधिवेशनको क्रममा महामन्त्री र कोषाध्यक्षको प्रतिवेदनमात्र सहभागीलाई वितरण गरिएको र त्यसमा नेपालको नक्सा नरहेको जानकारी कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका गोविन्द परियारले बताए।

कान्तिपुरमा प्रकाशित महामन्त्रीको प्रतिवेदनको अग्रपृष्ठ जसमा पार्टीको झण्डा देखिन्छ।

तथ्य जाँच

दावी : नेपाली कांग्रेसले आफ्नो महाधिवेशनमा नेपालको पुरानो नक्सा प्रयोग गर्‍यो।

तथ्य : मिथ्या सूचना। महाधिवेशनको आधिकारिक पोस्टर र भृकुटीमण्डपमा आयोजित उद्घाटन समारोहका फोटोहरु गहिरिएर हेर्दा  नेपालको पुरानो बुच्चे नक्सा होइन, नयाँ चुच्चे नक्सा नै प्रयोग भएको देखिन्छ।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add