तथ्यजाँच मिथ्या सूचना

रमेश प्रसाइँको आँखाको शल्यक्रिया सफल भएको मिथ्या सूचना फेसबुकमा फैलँदै


रमेश प्रसाइँको आँखाको शल्यक्रिया सफल भएको मिथ्या सूचना फेसबुकमा फैलँदै

हाल ग्यालेक्सी टेलिभिजनमा ‘लालमोहर’ नामको टक शो कार्यक्रम सञ्चालक रहेका रमेश प्रसाइँको आँखाको शल्यक्रिया सफल भएको खबर फेसबुकमा भाइरल भएको छ।

भाइरल खबरमा नेपालकै टप आँखा चिकित्सकहरु मिलेर रमेश प्रसाईको आँखाको शल्यक्रिया सफल पारेको, आँखा देखे लगत्तै खुशी हुँदै सबैभन्दा पहिला छोरी र पत्नीलाई हेरेको,  शल्यक्रिया सफल भएपछि अस्पतालमा नै बधाई दिन रवि पुगेको जस्ता विषय लेखिएका छन्।

हाम्रो तथ्य जाँचमा यो खबर पूर्णतया भ्रामक रहेको पायौँ।

कहाँ कस्तो खबर ?

२ लाख ३२ हजार सदस्य रहेको रमेश प्रसाइँ फ्यान क्लब नामको फेसबुक ग्रुपमा आइतबार पोस्ट गरिएको यो पोस्टमा गजबकोन्युज डट कमको पेज लिङ्क राखिएको छ। यो कुनै अनलाइन न्युज मिडिया जस्तो भने देखिएन। किनभने न यसमा सञ्चालकको नाम छ न कार्यरत पत्रकारहरुको नाम छ।  भिडियो हेर्नुस् भनेर पेजमा असम्बन्धित भिडियो पोस्ट गरिएको छ भने रमेश प्रसाइँको शीर्षक भएको पेजमा स्कूटरको असम्बन्धित समाचार राखिएको छ।

यो पोस्टमा आइतबार दिउँसोसम्म ५४२ रियाक्सन, ८९ कमेन्ट र ५ सेयर देखिन्छ।

त्यसैगरी १ लाख ३९ हजार सदस्य रहेको कृष्ण कँडेल एबीसी समर्थक नामको फेसबुक ग्रुपमा पनि उस्तै फोटो र उस्तै हेडलाइनसहित यही गजबकोन्युज डट कमकै पेज लिङ्क राखिएको छ। यसमा आइतबार दिउँसोसम्म ४९१ रियाक्सन,  १३६ कमेन्ट छन् भने  ११ पटक सेयर भएको छ।

सोही ग्रुपमा सिन्धुअनलाइन नामको पेज पनि सेयर गरिएको छ, जसमा शीर्षक र फोटो बाहेक अरु केही छैन।

आजको न्युज पढ्नु भयो शीर्षकको अर्को १ लाख ७४ हजारभन्दा बढी सदस्य भएको फेसबुक ग्रुपमा उही शीर्षक र उही फोटोसहित दुःखकोखबर डट कम नामको वेबपेजको लिङ्क सेयर गरिएको छ। ६८७ रियाक्सन भएको यो पोस्टमा १०९ कमेन्ट र ७ सेयर छन्।

अनलाइन न्युजपोर्टल जस्तो डिजाइन देखिए पनि यो वेबसाइटमा पनि व्यवसायिक न्युजपोर्टलमा हुनुपर्ने सञ्चालक, पत्रकारको नाम लगायत केही गुण देखिन्न। यसमा पनि प्रसाइँको शीर्षकमा स्कूटरको समाचार राखिएको छ। अर्काइभ लिङ्क। 

के हो तथ्य ?

हामीले यो विषयमा बुझ्नका लागि रमेश प्रसाइँसँग कुरा गर्‍यौँ। उनले भाइरल भएका समाचार हल्ला मात्रै भएको बताउँदै त्यस्तो अतिरन्जनामा विश्वास नगर्न अनुरोध गरे।

‘मेरो आँखाको केस संसारको एकदमै दुर्लभ केसमा पर्छ,’ उनले अगाडि भने, ‘र यसको शल्यक्रिया हुने, उपचार हुने विधि पनि पत्ता लागेको छैन अहिलेसम्म, कुनै अभ्यास पनि भएको छैन- यो कुरा मलाई डाक्टर सन्दुक रुइतले बताउनु भएको हो।’

तथ्य जाँच

दावी  : नेपालकै टप आँखा चिकित्सकहरु मिलेर रमेश प्रसाइँको आँखाको शल्यक्रिया सफल पारे।

तथ्य : मिथ्या सूचना। रमेश प्रसाइँको आँखाको शल्यक्रिया भएको छैन। मिथ्या सूचना राख्ने वेबपेज र त्यस्तो फैलाउने फेसबुक ग्रुपहरुले यो हल्ला फैलाएका हुन्।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add