- उमेश श्रेष्ठ
- फाल्गुन ५, २०७८

पेट्रोलियम पदार्थको मूल्य बढेको समाचार गलत
बुधबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढेको खबर केही अनलाइन मिडियाहरुले दिएका छन्। ती अनलाइन मिडियाहरुको दावी अनुसार बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४.९५ रुपैयाँले भाउ बढाइएको छ।
तर हाम्रो तथ्य जाँचले नेपाल आयल निगमले मंगलबार राति पेट्रोलियम पदार्थको मूल्यबारे विज्ञप्ति प्रकाशित गरेको भए पनि भाउ बढाउने बारे कुनै निर्णय नगरेको देखिएको छ।
कहाँ कस्तो समाचार ?
नेपालप्रेस अनलाइनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो (मूल्य सूचीसहित) शीर्षकमा माघ ४ गते राति समाचार प्रकाशन गरेको छ।
समाचारमा लेखिएको छ-
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४.९५ ले बढाइएको निगमले जनाएको छ।
हेर्नुस् समाचारको अर्काइभ लिङ्क
त्यसैगरी जनताटाइम्स अनलाइनले गठबन्धन सरकारको अर्काे उपहार : फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित) शीर्षकमा माघ ५ गते समाचार प्रकाशन गरेको छ। समाचारमा लेखिएको छ-
सरकारले पेट्रोलियम पदार्थको मुल्य फेरि बढाएको छ । आजबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भारी मूल्यबृद्धि गरेको हो।
..मूल्यबृद्धिसँगै अव पेट्रोलको मूल्य १४७ रुपैया ६१ पैसा, डिजेल १३० रुपैया ६२ पैसा पुगेको छ।
हेर्नुस् समाचारको अर्काइभ लिङ्क
अरु केही अनलाइन न्युज पोर्टलहरुले पनि यो समाचार राखेका छन्-
के हो तथ्य ?
नेपाल आयल निगमले फागुन ४ गते राति पेट्रोलियम पदार्थको मूल्य सम्बन्धी एउटा विज्ञप्ति सार्वजनिक गरेको थियो। विज्ञप्तिमा इन्डियन आयल कर्पोरेसनबाट फेब्रुअरी १६ मा प्राप्त नयाँ मूल्यमा सबै इन्धनको भाउ पहिलेभन्दा बढेर आएको र यसले घाटा अझै बढ्ने जनाइएको थियो।
सहप्रवक्ता पुस्कर कार्कीको हस्ताक्षर रहेको सो विज्ञप्तिमा पेट्रोलियम पदार्थको उपभोक्ता मूल्य बढाउने बारे भने केही उल्लेख छैन। पछिल्लो पटक निगमले माघ १८ गते भाउ बढाएको थियो।
हेर्नुस् विज्ञप्ति-
तथ्य जाँच
दावी : नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ।
तथ्य : मिथ्या सूचना। नेपाल आयल निगमले भारतबाट इन्डियन आयल कर्पोरेसनले पठाएको मूल्य बढेको र आफ्नो घाटा बढ्ने उल्लेख गर्दै विज्ञप्ति मात्र जारी गरेको हो, नेपालमा उपभोक्ता मूल्य बढ्ने बारे फागुन ४ गतेको विज्ञप्तिमा केही उल्लेख छैन।