तथ्यजाँच मिथ्या सूचना

के भ्यूटावर उद्‍घाटन गर्न गएका ओली र पौडेललाई स्थानीयले लखेटेका हुन्?


के भ्यूटावर उद्‍घाटन गर्न गएका ओली र पौडेललाई स्थानीयले लखेटेका हुन्?

सामाजिक सञ्जालमा मंगलबारदेखि एउटा भिडियो भाइरल भएको छ। भिडियोमा गाडीहरु कुद्‍दै गरेका र मान्छेले ढुंगा हान्दै गरेको देखिएको छ भने भिडियोको विवरणमा ‘बुटवलमा भ्यूटावर उद्घाटन गर्न गएका एमाले नेता विष्णु पौडेल र केपी ओलीलाई स्थानीयले झुटो आश्वासन दिएर भुलाएको र हस्पिटलको ठाउँमा १२ करोडको भ्यू- टावर बनाएको भन्दै लखेटेको’ दावी गरिएको छ।

तर हाम्रो तथ्य जाँचमा एक वर्षअघिको अर्कै घटनाको भिडियोलाई अहिले भाइरल बनाएको देखिएकोले यो मिथ्या सूचना रहेको  पुष्टि भएको छ।

कसरी फैलियो भिडियो?

कमल सन्ज्यालको फेसबुक पेजमा मंगलबार साँझ अपलोड गरिएको पौडेल र ओलीलाई लखेटिएको दावी गरिएको यो भिडियोमा २४ घण्टा नपुग्दै साढे ६ हजारभन्दा बढी रियाक्सन छन् भने हजारभन्दा बढी कमेन्ट र सेयर देखिन्छन्। भिडियो एक लाख ३० हजारभन्दा बढी पटक हेरिएको छ।  हेर्नुस् अर्काइभ लिङ्क-

 

सन्ज्यालले राखेको यो भिडियोलाई क्रप गरिएको भए पनि फेसबुकमा अरु थुप्रैले पनि यही विवरणका साथ भिडियो राखेका छन्। ती भिडियोमा ‘जागरण पोस्ट’को लोगो पनि स्पष्ट देखिएको छ-

जागरण पोस्टको लोगो देखिएको भिडियोको स्क्रिनसट –

हामीले यही आधारमा जागरण पोस्ट अनलाइन मिडियाका विभिन्न सोसल मिडिया अकाउन्टमा खोज्ने क्रममा युट्युबमा मार्च ५, २०२१ मा अपलोड गरिएको यो भिडियो भेट्यौँ-

युट्युब भिडियोको लिङ्कका लागि यहाँ क्लिक गर्नुस्। 

यही भिडियोका केही अंश अहिले भाइरल भएको भिडियोसँग हुबहु मिल्छ। यद्यपि, यसमा जागरण पोस्टको लोगो भने भिडियोको बायाँतिर छ।

खोज्ने क्रममा हामीले अहिले भाइरल भएको भिडियोमा जस्तै बायाँ पट्टी जागरण पोस्टको लोगो भएको भिडियो पनि भेट्यौँ। चित्रराज भट्टको फेसबुकमा ६ मार्च, २०२१ मा अपलोड भएको यो भिडियो अहिले भाइरल भएको भिडियोसँग मिल्छ। हेर्नुस् लिङ्क

के थियो घटना ?

शिलापत्रमा प्रकाशित समाचार अनुसार,तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टले २०७७ फागुन २१ मा  बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्ने क्रममा विवादित कार्यक्रम अघि बढाएको भन्दै मन्त्रीद्वय सवार गाडीलाई लक्षित गरी ढुंगा प्रहार भएको थियो । कोरिडोरमा बनाइएको मञ्च तथा शिलालेख स्थानीयले अघिल्लो दिन नै भत्काएका थिए । त्यसपछि ठूलो संख्यामा प्रहरी परिचालन गरी रातारात निर्माण गरी अवरोधकै बीचमा शिलान्यास भएको थियो।

इकान्तिपुर र नेपालखबरमा पनि यसबारे समाचार छ। नेपालखबरको समाचारमा लेखिएको छ- २०७७ फागुन २१ गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेल उद्योगमन्त्री लेखराज भट्टसँग मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न आइपुगे। त्यतिबेला पनि व्यापक विरोध भएको थियो। तर त्यहीबीच पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए। पौडेलको शिलान्यास भाषण पनि नसकिँदै स्थानीयले लखेटेका थिए। पौडेलको गाडीमा ढुंगामुढासमेत भएको थियो। समारोहपछि स्थानीयले शिलान्यासको शिलालेखसमेत तोडफोड गरेका थिए। 

त्यसको करिब ७ महिनापछि फेरि सो क्षेत्रमा हिंसात्मक झडप हुँदा प्रहरीको गोली लागी ४ जनाको मृत्यु भएको थियो भने त्यहाँ कर्फ्यु नै लगाउनु परेको थियो।

हाम्रो पुरानो भिडियो भाइरल बनाइयो : जागरण पोस्टका प्रधान सम्पादक

जागरण पोस्टका प्रधान सम्पादक विजय ज्ञवालीले नेपालफ्याक्टचेकसँगको फोन संवादमा आफूहरुको पुरानो भिडियो भाइरल बनाइएकोमा आपत्ति जनाए।

उनले पनि भिडियो एक वर्षअघिको भएको बताए। तत्कालीन मन्त्रीहरु विष्णु पौडेल र लेखराज भट्ट मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न आउने क्रममा भएको झडपको कभर आफूहरुले गरेको र उतिबेला पनि त्यो भिडियो भाइरल भएको जानकारी उनले दिए।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ चैत १५ गते रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ शंकरनगरस्थित बनबाटिकामा निर्माण गरिएको भ्यू टावरको  उद्घाटन गरेका थिए योसँगै पुरानो भिडियो भाइरल बनाइएको र यसको नयाँ घटनासँग कुनै सम्बन्ध नभएको प्रधान सम्पादक ज्ञवालीले जानकारी दिए।

उनले फेसबुकमा पनि स्टायटस लेख्दै भनेका छन्, ‘डिजिटल अनलाइन पत्रिका जागरण पोस्ट सञ्चालन गरेको नाताले सामाजिक सञ्जालमा ऐले भाइरल भएको भिडियो रुपन्देहीको तिलोत्तमाको नभई पोहोरसाल मोतिपुर क्षेत्रको भिडियो भएको जानकारी गराउँदछु। तिलोत्तमा नगरपालिकामा अवस्थित कमर्सियल भ्युटावर उद्धाटनका क्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि त्यस्तो कुनै घटना नघटेको र शान्तिपूर्णरुपमा उक्त टावरको उद्धाटन कार्यक्रम सम्पन्न भएको पनि जानकारी गराउन चाहन्छौं।’

 

तथ्य जाँच

दावी : बुटवलमा भ्यूटावर उद्घाटन गर्न गएका एमाले नेता विष्णु पौडेल र केपी ओलीलाई स्थानीयले झुटो आश्वासन दिएर भुलाएको र हस्पिटलको ठाउँमा १२ करोडको भ्यु- टावर बनाएको भन्दै लखेटेका छन्।

तथ्य : मिथ्या सूचना। अहिले भाइरल बनाइएको भिडियो तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टले २०७७ फागुन २१ मा  बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्ने क्रममा गरिएको ढुंगामुढाको हो। पुरानो भिडियोलाई गलत विवरणका साथ अहिले फैलाइएको हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add