तथ्यजाँच मिथ्या सूचना

सवारी ज्यान मुद्दामा मल्ललाई तोकिएको जरिवाना १ हजार कि १० हजार?


सवारी ज्यान मुद्दामा मल्ललाई तोकिएको जरिवाना १ हजार कि १० हजार?

२०७६ सालमा पैदल यात्रु लीला देवकोटाको मृत्यु हुने गरी बुढानिलकण्ठमा भएको सवारी दुर्घटनाका चालक पृथ्वी मल्ललाई काठमाडौँ जिल्ला अदालतले २०७८ चैत ७ गते सजाय तोकेको छ। तर सजायबारे फरक फरक ठाउँमा फरक फरक व्यहोरा देखिन्छ। कुनैमा ६ महिना कैद र १ हजार जरिवाना लेखिएका छन् भने कुनैमा ६ महिना कैद र १० हजार जरिवाना। हाम्रो तथ्य जाँचमा १० हजार जरिवाना दावी गरिएका सूचना मिथ्या देखिएको छ।

कहाँ कस्तो खबर?

अनलाइनखबरको अङ्ग्रेजी संस्करणमा Prithvi Malla, notorious hit-and-run perpetrator, to be jailed for 6 months only शीर्षकको समाचार प्रकाशित छ। त्यसमा अदालतले १० हजार जरिवानाको सजाय सुनाएको दावी गरिएको छ-

नो नेक्स्ट क्वेसनको फेसबुक पेजमा राखिएको पोस्टमा पनि अदालतले मल्ललाई १० हजार जरिवानाको सजाय सुनाएको दावी गरिएको छ। यो पोस्टमा २०२२ मार्च २८ सम्म हजार रियाक्सन छन् भने सयभन्दा बढी सेयर र कमेन्ट छन्। हेर्नुस् अर्काइभ लिङ्क

अनलाइन मिडिया देशसञ्चारले पनि चैत ८, २०७८ मा प्रकाशित समाचारको शीर्षक राखेको छ-हिट एण्ड रनका आरोपी मल्ललाई ६ महिना कैद, १० हजार जरिवाना। समाचारमा लेखिएको छ- काठमाडौँ जिल्ला अदालतले बुढानिलकण्ठमा २०७६ मंसिरमा भएको ‘हिट एण्ड रन’ मुद्दाका आरोपी पृथ्वी मल्ललाई ६ महिना कैद र दश हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ। हेर्नुस् अर्काइभ लिङ्क

नयाँ पत्रिका राष्ट्रिय दैनिकको अनलाइनमा पनि ‘दुर्घटनामा चरम लापरबाही, सजाय तोक्दा न्यूनतम : १० वर्ष कैद सजाय माग, ६ महिना मात्र सजाय गर्ने जिल्ला अदालतको फैसला’ शीर्षकको समाचारमा १० हजार रुपैयाँ जरिवाना भएको दावी गरिएको छ। हेर्नुस् अर्काइभ लिङ्क

अनलाइन मिडिया नेपाललाइभमा ‘पैदलयात्रुको ज्यान लिएका मल्ललाई न्यून सजायमा जिल्ला अदालतले दियो उन्मुक्ति’ शीर्षकको समाचार छ। त्यसमा लेखिएको छ- काठमाडौं जिल्ला अदालतले २ वर्ष अगाडिको सो घटनाबारे फैसला सुनाउँदै चालकलाई जम्मा ६ महिना कैद र १० हजार जरिवाना गर्ने फैसला सुनाएको छ। यो कैद सजाय सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा ३ अनुसारको हो। सरकारी पक्षले मल्ले लापरवाहीपूर्ण रुपमा सवारी चलाएको, मदिरा सेवन गरेको र नेपालको सवारी चालक अनुमति पत्र समेत नभएको भन्दै सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा २ अनुसार सजाय हुनुपर्ने मागदावी गरेको थियो।

हेर्नुस् अर्काइभ लिङ्क।

के हो तथ्य ?

यो मुद्दाको फैसलाको पूर्णपाठ यो तथ्यजाँच गर्दासम्म आइसकेको छैन। तर काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले पृथ्वी मल्ललाई ६ महिना कैद र एक हजार रुपैयाँ जरिवानाको सजाय भएको पुष्टि गरे।

नेपाललाइभको समाचारमा ‘सजाय सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा ३ अनुसारको हो’ भनिएको छ। जबकि उक्त उपदफामा १० हजार रुपैयाँ जरिवानाको व्यवस्था नै छैन। उक्त उपदफाले अधिकतम दुई हजार रुपैयाँसम्मको जरिवानाको मात्रै व्यवस्था गरेको छ-

सरकारी वकिलको कार्यालयले उपदफा २ अनुसारको सजायको मागदावी गरेको थियो। उक्त उपदफामा तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

अर्थात् १० हजार रुपैयाँ जरिवानाको प्रावधान उपदफा २ र ३ दुवैमा देखिन्न। हेर्नुस् सवारी तथा यातायात व्यवस्था ऐन २०४९।

सेतोपाटी, नेपालसमय जस्ता अनलाइनका समाचारमा पनि १ हजार रुपैयाँ जरिवाना गरिएको उल्लेख छ। हेर्नुस्-

सवारी ज्यान मुद्दामा पृथ्वी मल्ललाई ६ महिना कैद र एक हजार जरिवाना (सेतोपाटी)
‘हिट एन्ड रन’ मुद्दाको फैसला गर्ने न्यायाधीश भन्छन् – गाडीको गति सामान्य देखियो, अल्झिनुपर्ने कुरै छैन (नेपालसमय)

अनलाइन मिडिया उकेराले भने सुरुमा १० हजार जरिवाना लेखिएको समाचार र शीर्षक सच्याएको सूचना राख्दै १ हजार लेखेको छ।

तथ्य जाँच

दावी : बुढानिलकण्ठ दुर्घटना प्रकरणमा चालक पृथ्वी मल्ललाई काठमाडौँ जिल्ला अदालतले ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनायो।

तथ्य : मिथ्या सूचना। मल्ललाई ६ महिना कैद सजाय भएको सत्य हो तर जरिवाना १० हजार रुपैयाँ नभई १ हजार रुपैयाँमात्रै हो।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add