तथ्यजाँच भ्रामक सूचना

के हो फेसबुकमा भाइरल भएको डा. शेरबहादुर पुनको मन्त्री र सचिवलक्षित ‘गाली’को तथ्य?


के हो फेसबुकमा भाइरल भएको डा. शेरबहादुर पुनको मन्त्री र सचिवलक्षित ‘गाली’को तथ्य?

मन्त्री र सचिवलाई गाली गरिएको एउटा पोस्ट अहिले फेसबुकमा भाइरल भएको छ जसमा लेखिएको छ, ‘मरी मरी पढेर डाक्टर बन्यो,स्थायी बन्न दशतिर चाकरी ठोक्नुपर्छ, करारमा बसेर काम गर्‍यो, अनि साँचो बोल्यो भनेर चोरेर बीए पास गर्ने मन्त्रीले थर्काउँछ, नेपाली घोकेर सचिव बन्नेहरुले पेल्छन्, अनि कोही कसरी नेपालमा टिकुन्।’ पोस्टमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च यूनिटका संयोजक डा. शेरबहादुर पुनको नाम र फोटो सँगै हाम्रो पार्टी र धारा चिह्नसहितको लोगो पनि राखेको देखिन्छ। हाम्रो तथ्य जाँचमा डा. पुनले यस्तो अभिव्यक्ति कहीँ कतै दिएको प्रमाण भेटेनौँ। हाम्रो पार्टी नामको निर्वाचन आयोगले गत वर्ष नै खारेज गरिसकेको दलको फेसबुक पेजमा दुई वर्ष पहिले राखिएको यो पोस्ट अहिले फेरि भाइरल गरेर भ्रम फैलाइरहेको भेट्यौँ।

कसरी भयो भाइरल ?

फेसबुकमा चार लाखभन्दा बढी फलोअर भएको हाम्रो पार्टी नाम रहेको पेजमा १९ अप्रिल २०२० मा ‘डा. शेरबहादुर पुनको व्यथा’ लेख्दै यसलाई पोस्ट गरिएको थियो। हेर्नुस् लिङ्क। 

यो पोस्टमा बुधबार रातिदेखि नयाँ कमेन्टसहितको सेयर, रियाक्सन लगायतका इन्गेजमेन्ट भएको देखिन्छ।

दुई वर्षअघि पनि भाइरल भएको यो पोस्ट पछिल्लो दुई दिनमा धेरैले सेयर गर्ने, रियाक्ट गर्ने र कमेन्ट गर्ने क्रम बढेपछि फेरि भाइरल हुन पुगेको हो।  शनिबार दिउँसोसम्म यो पोस्टमा २१ सय रियाक्सन, १३८ कमेन्ट र २ हजार सेयर भएको देखिन्छ।

यो पेज आफूलाई ‘भ्रष्टाचार विरोधी समूह’ दावी गर्ने निर्वाचन आयोगमा हाम्रो पार्टी नाममा दर्ता भएको राजनीतिक दलले सञ्चालन गर्दै आएको छ। तर लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन समयमा नै नबुझाएको भन्दै आयोगको २०७८ साउन १९ गतेको बैठकले भोलिपल्टदेखि लागू हुने गरी योसहित ४१ राजनीतिक दलको दर्ता खारेज गरेको थियो। हेर्नुस् आयोगको सूचना। 

तथ्य के हो ?

डा. पुनले शुक्रबार आफ्नो फेसबुकमा सोही विवादित पोस्टको स्क्रिनसट राख्दै आफूले भन्दै नभनेको कुरामा आफ्नो नाम र फोटो राखी प्रचार भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको लेखेका छन्।

डा. पुनले हिमालखबरसँगको कुराकानीमा यस्तो अभिव्यक्ति कहीँ कतै नदिएको दावी गरेका छन्। ‘म आफ्नो विषय विज्ञता बाहेक अरु विषयमा कहीँ कतै केही भन्ने मानिस होइन, म आफ्नो काममा रमाइरहेको छु । तर, पुरानो सन्दर्भलाई लिएर भन्दै नभनेको कुरा भाइरल गराउदाँ मेरो पेशामा असर पर्ने भएकाले चिन्तित छु” हिमालखबरले डा. पुनलाई उद्‍धृत गर्दै लेखेको छ।

हामीले खोज्ने क्रममा पनि डा. पुनले यस्तो अभिव्यक्ति दिएको अडियो, भिडियो वा कुनै समाचार समेत फेला भेट्न सकेनौँ। त्यसो त भाइरल भएको फेसबुक पोस्टमा पनि यो उनले नै भनेको हो कि हैन- स्पष्ट देखिन्न। तर डा. पुनकै फोटो राखेर उनको व्यथा लेखिएको हुनाले धेरैले यसलाई उनले नै बोलेको भन्ने अर्थमा बुझेको कमेन्ट र सेयर गर्नेहरुको भाषाबाट देखिन्छ।

पुरानो सन्दर्भ के थियो?

जतिबेला यो पोस्ट पहिलो पटक भाइरल भएको थियो, त्यतिबेलाको सन्दर्भ बेग्लै थियो। त्यतिबेला केपी ओलीको सरकार थियो। स्वास्थ्य मन्त्री भानुभक्त ढकाल थिए भने स्वास्थ्य सचिव यादव कोइराला थिए।

२०७७ वैशाख ५ गते स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले टेकु अस्पतालमा कार्यरत डा. पुनलाई पत्र काट्दै अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड १९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्‍याउने काममा लागि मन्त्रालयमा उपस्थित हुन भनिएको थियो । तर, सामाजिक सञ्जाल तथा मिडियामा भने कोभिड १९ को महामारी नियन्त्रणमा सरकारलाई सहयोग गर्नुको साटो भ्रम फैलाएको तथा सूचना चुहाएकाले कारवाही गरिएको भन्ने आशयका समाचार आएका थिए।

यस्तो समाचारका कारण तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको चौतर्फी विरोध भएपछि वैशाख ७ गते डा. पुनले तत्कालीन स्वास्थ्यमन्त्री ढकाललाई भेटे। उक्त भेटपछि डा. पुनले विज्ञप्ति जारी गर्दै मन्त्रालयले कारवाही गरेको तथा स्ष्पष्टीकरण सोधेको विषय झुटो भएको दावी गरेका थिए।

अनलाइनखबरले त्यतिबेलाको यो प्रसङ्गलाई डा. शेरबहादुर पुन ‘होस्टाइल’ भएकै हुन् ? अघिल्लो दिनसम्म आफूलाई ‘भिक्टिम’ बताउने डाक्टरको बयान फेरियो शीर्षकमा समाचार लेखेको थियो।

तथ्य जाँच

दावी : डा. शेरबहादुर पुनले ‘मरी मरी पढेर डाक्टर बन्यो,स्थायी बन्न दशतिर चाकरी ठोक्नुपर्छ, करारमा बसेर काम गर्‍यो, अनि साँचो बोल्यो भनेर चोरेर बीए पास गर्ने मन्त्रीले थर्काउँछ, नेपाली घोकेर सचिव बन्नेहरुले पेल्छन्, अनि कोही कसरी नेपालमा टिकुन्’ भने।

तथ्य : भ्रामक सूचना। डा. पुनले फेसबुकमा भाइरल भएको पोस्टमा दावी गरिए जस्तो अभिव्यक्ति दिएको कुनै अडियो, भिडियो वा विश्वसनीय मिडियामा आएको समाचार देखिन्न। यो पोस्ट पनि अघिल्लो सरकारका पालामा मिडियाले दावी गरेको ‘कारबाही’ को पुरानो सन्दर्भलाई लिएर पुरानै भएको हाम्रो तथ्य जाँचमा देखिन्छ। तसर्थ डा. शेरबहादुर पुनको अपुष्ट पुरानो सन्दर्भको अभिव्यक्तिलाई नयाँ सन्दर्भमा भाइरल गरिएकोले यसलाई हामीले भ्रामक सूचनाको वर्गीकरणमा राखेका छौँ।

हाम्रो तथ्य जाँच वर्गीकरणको अर्थ बुझ्न यहाँ क्लिक गर्नुस्। 

हामीलाई निम्न माध्यमबाट पनि शंका लागेका सामग्री पठाउन सक्नुहुन्छ-

फेसबुक पेज

ट्वविटर डिएम

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add