तथ्यजाँच भ्रामक सूचना

के विभिन्न स्थानीय तहमा निर्विरोध निर्वाचित भएको घोषणा भइसकेको हो?


के विभिन्न स्थानीय तहमा निर्विरोध निर्वाचित भएको घोषणा भइसकेको हो?

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका क्रममा वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता सकिए लगत्तै केही मिडिया र सामाजिक सञ्जालमा पनि विभिन्न ठाउँमा निर्विरोध निर्वाचित भएको खबर आएका छन्। तर हाम्रो तथ्य जाँचमा ती खबर भ्रामक रहेको देखिएको छ।

कहाँ कस्तो खबर ?

विभिन्न मिडियामा निर्विरोध निर्वाचित भएको सम्बन्धी आएका समाचार यस्ता छन्-

पर्वतमा एमालेका दुई महिला उम्मेदवार निर्विरोध निर्वाचित (रेडियो नेपाल)

पाल्पामा दुई महिला वडा सदस्य निर्विरोध निर्वाचित (देशसञ्चार)

स्थानीय तह निर्वाचन: तीन गाउँपालिकाको नेतृत्व निर्विरोध (नागरिक)

स्थानीय निर्वाचन : इन्द्रसरोवरमा एमालेबाट दुई वडा सदस्य निर्विरोध (फरकधार)

रसुवामा दुई महिला वडा सदस्य निर्विरोध (सेतोपाटी)

पाल्पामा एमालेका दुई उम्मेदवार सदस्यमा निर्विरोध (अन्नपूर्ण पोस्ट)

त्यसैगरी फेसबुकमा २ लाख ३६ हजारभन्दा बढी फलोअर भएका पूर्व सचिव भीम उपाध्यायले बिहीबार यस्तो लेखेका छन्-

बिहीबार रातिसम्म उनको यो पोस्टमा १४ सय रियाक्सन, १८५ कमेन्ट र ९५ सेयर भएको देखिन्छ।

के हो तथ्य?

निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ५५ मा निर्विरोध निर्वाचित भएको घोषणा कसरी गर्ने बारे विवरण छ-

निर्देशिका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि मात्र जति जना निर्वाचित हुनुपर्ने हो, त्यति मात्र संख्यामा वा कम उम्मेदवार कायम भएमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुपर्ने उल्लेख छ।

तर यो तथ्य जाँच तयार पार्दा (वैशाख १५ गते बिहीबार)सम्म अन्तिम नामावली नै प्रकाशन भइसकेको छैन। निर्वाचन आयोगको इबुलेटिनमा भएको सूचना अनुसार वैशाख १६ गते बल्ल उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन्छ।

बिहीबार निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले अहिले नै निर्विरोध निर्वाचित भन्न नमिल्ने बताएका थिए।

उनले एक जनाको मात्रै उम्मेदवारी परे पनि कानुनको कसीबाट छिर्न सक्नु पर्ने, त्यसपछि मात्रै निर्विरोध भन्न मिल्ने बताए।

‘दावी विरोधको प्रोसेसबाट पनि उहाँहरु पास हुनुभयो भने अनि बल्ल उहाँहरु एउटा एलिजिबल क्यान्डिडेट हुने’ उनले बताए। हेर्नुस् आयोगको पत्रकार सम्मेलनको भिडियो-

तथ्य जाँच

दावी : स्थानीय तह निर्वाचनका क्रममा विभिन्न स्थानीय तहमा विभिन्न उम्मेदवार निर्वाचित भइसकेका छन्।

तथ्य : भ्रामक सूचना। निर्वाचन आयोगले निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको छैन। निर्देशिका र तालिका अनुसार निर्वाचन आयोगले वैशाख १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेपछि मात्र निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add