तथ्यजाँच मिथ्या सूचना

तारा एयरको जहाज दुर्घटनाको भन्दै एभिन्युज टिभीमा देखाइएको दृश्य गलत


तारा एयरको जहाज दुर्घटनाको भन्दै एभिन्युज टिभीमा देखाइएको दृश्य गलत

पोखराबाट जोमसोमका लागि २०२२ मे २९ आइतबार बिहान उडेको तारा एयरको एउटा जहाज सम्पर्कविहीन भयो। यस सम्बन्धी समाचार दिने क्रममा एभिन्युज खबर टेलिभिजनले आइतबार दिउँसो ‘दुर्घटना भएको स्थलको ताजा दृश्य प्राप्त भएको’ दावी गर्दै फोटो प्रसारण गरेको थियो। तर हाम्रो तथ्य जाँचमा उक्त दृश्य नेपालको नभई भारतमा भएको हेलिकप्टर दुर्घटनाको दृश्य भएको खुलेको छ।

के थियो एभिन्युजको समाचारमा?

एभिन्युज टेलिभिजनमा ब्रेकिङ न्युज भन्दै समाचारवाचकले भन्दै गरेको देखिएको छ- “पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ र यतिखेर पछिल्लो जानकारी अनुसार विमानको दुर्घटना भएको स्थलको हामीसँग ताजा दृश्य पनि प्राप्त भएको छ। यो केही बेर अगाडि मात्रै प्राप्त भएको दृश्य हो….”

के हो तथ्य ?

हामीले यसको तथ्य जाँच गर्ने क्रममा एभिन्युज टेलिभिजनले तारा एयरको दुर्घटनाको दृश्य दावी गर्दै प्रसारण गरेको दृश्यको स्क्रिनसट लिएर गुगलमा रिभर्स इमेज सर्च गर्‍यौँ।

यो क्रममा हामी इन्डिया टुडेमा प्रकाशित यो पेजमा पुग्यौँ-

हेर्नुस् अर्काइभ लिङ्क

एभिन्युज टेलिभिजनमा प्रसारण भएको तारा एयरको दुर्घटना स्थल भनी दावी गरिएको दृश्य र इन्डिया टुडेमा प्रकाशित प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) लाई क्रेडिट दिई प्रकाशित दृश्य एउटै देखिन्छ।

इन्डिया टुडेमा जनवरी ५, २०२२ मा प्रकाशित यो समाचारमा राखिएको दृश्य तत्कालीन भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटनाको भग्नावशेषको भएको त्यसमा खुलाइएको छ।

सोही फोटो बिजनेस टुडेमा यहाँ,  आउटलुक इन्डियामा यहाँ, द हिन्दूमा यहाँ, इन्डियाटिभीमा यहाँ, डेक्कनहेराल्डमा यहाँ पनि हेर्न सकिन्छ।

तथ्य जाँच

दावी : एभिन्युज टिभीले तारा एयरको जहाज दुर्घटना स्थलको ताजा दृश्य भन्दै प्रसारण गरेको दृश्य

तथ्य : मिथ्या सूचना । उक्त दृश्य भारतमा डिसेम्बर २०२१ मा भएको हेलिकप्टर दुर्घटनाको हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add