तथ्यजाँच मिथ्या सूचना

नझुक्किनुस्, बालेनकी छोरी जन्मिएको खबर साँचो होइन


नझुक्किनुस्, बालेनकी छोरी जन्मिएको खबर साँचो होइन

बिहीबार केही अनलाइन मिडियामा र सोसल मिडियामा काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार बालेन साहकी छोरी जन्मिएको खबर फैलियो। ती खबरमा ‘मतगणना चल्दै गर्दा आज छोरी जन्मिएको’ भन्दै बालेनलाई उद्ध‌त गर्दै ‘आफूलाई पुत्रीलाभ भएकोमा खुशी व्यक्त गरेको ‘समेत दावी गरिएको छ।

तर हाम्रो तथ्य जाँचमा यो खबर सही नभएको भेटिएको छ।

कसरी फैलियो खबर ?

जेठ ५ गते अनलाइन मिडिया लोकान्तरले मतगणना चल्दै गर्दा जन्मिइन् बालेनकी छोरी शीर्षकमा समाचार राखेको थियो। यहाँ क्लिक गरी हेर्नुस् अर्काइभ।

समाचारमा दावी गरिएको छ- बालेनकी पत्नी सबिना काफ्लेले आज छोरीलाई जन्म दिएकी हुन् । मेयर उम्मेदवार बालेनले मतगणनामा अग्रता लिइरहेका बेला पुत्रीलाभ भएकोमा खुशी व्यक्त गरेका छन् ।उनका समर्थक एवं शुभचिन्तकहरुले मतगणनाकै क्रममा अग्रता लिइरहेको बखत उनको घरमा छोरी जन्मिनुलाई शुभ संकेत भन्दै बधाई दिइरहेका हुन् ।

बालेनको छोरी जन्मिएको समाचार इमेज च्यानलको अनलाइन इमेजखबर, द नेपाल टप, दैनिक अनलाइन, नेपाल घटना, मेरो लाइफ स्टाइल लगायतका अनलाइनहरुले पनि लेखे।

त्यसैगरी फेसबुकमा दुई लाखभन्दा बढी फलोअर रहेकी इशा गुरुङले पनि ‘बालेनकी पत्नी सबिना काफ्लेले आज छोरीलाई जन्म दिएकी’ भन्दै आफ्नो फेसबुकमा बिहीबार एक बजेर ४८ मिनेटमा स्टायटस लेखेर बधाई दिएकी थिइन्।

बेवारिसे लाश व्यवस्थापन तथा बेसहाराको लागि पुनर्जीवन केन्द्रमार्फत् सामाजिक सेवा गरिरहेका विनयजंग बस्नेतले पनि बिहीबार फेसबुकमा स्टायटस लेख्दै भर्खर जन्मिएकी आफ्नी छोरीको नाम “स्वतन्त्रता” राख्न बालेनलाई अनुरोध गरेका छन्।

फेसबुकका थुप्रै पेज र ग्रुपहरुमा पनि यो खबर फैलिएको देख्न सकिन्छ। 

के हो तथ्य ?

हामीले यो विषयमा बुझ्नका लागि बालेन साहकी पत्नी सविना काफ्लेसित सम्पर्क गर्‍यौँ। उनले यी समाचार गलत रहेको पुष्टि गरिन्।

सविनाका अनुसार बुधबार बालेनका दाजुभाउजुलाई पुत्री लाभ भएको हो। आफू गर्भवतीसमेत नरहेको र आएका समाचारले आफूलाई अचम्म लागेको पनि उनले बताइन्।

तथ्य जाँच

दावी : काठमाडौँ महानगरपालिकाको स्थानीय तहको निर्वाचनको मतगणना चल्दै गर्दा मेयर उम्मेदवार बालेन साहकी छोरी जन्मिइन्।

तथ्य : मिथ्या सूचना । बालेनकी श्रीमतीले यी समाचार गलत रहेको र आफू गर्भवतीसमेत नरहेको पुष्टि गरिन्। केही अनलाइनहरुले सुरुमा राखेको समाचार सच्याएका पनि छन्। तसर्थ यो सूचना मिथ्या रहेको पुष्टि हुन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add