तथ्यजाँच भ्रामक सूचना

के विदेश घुम्न जानेले २०० डलरमात्र साट्न पाउने भएको हो?


के विदेश घुम्न जानेले २०० डलरमात्र साट्न पाउने भएको हो?

केही अनलाइन मिडियाहरुले अबदेखि विदेश घुम्न जाने नेपालीहरुले दुई सय अमेरिकी डलर मात्रै सटही सुविधा पाउने समाचार लेखेका छन्। ती समाचारमा दावी गरिए अनुसार नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्मको सटही सुविधा प्रदान गर्ने व्यवस्था गरेको हो।

तर हाम्रो तथ्य जाँचमा यो भ्रामक सूचना देखिएको छ। नेपाल राष्ट्र बैँकले विदेश घुम्न जानेलाई २०० डलर मात्र सटही सुविधा दिने सर्कुलर जारी गरेको नभई इजाजतप्राप्त मनीचेन्जरको हकमा मात्र लागू गरेको हो। परिवर्त्य विदेशी मुद्रा सतही सम्बन्धी २०७८ पुसमा जारी गरिएको एकीकृत परिपत्र २०७८ कायमै छ।

कहाँ कस्तो समाचार ?

गोरखापत्रमा २०७९ साउन ४ गते विदेश भ्रमणमा जानेलाई २०० अमेरिकी डलरको मात्रै सटही सुविधा शीर्षकमा समाचार राखिएको छ। सो समाचारमा लेखिएको छ-

के तपाई विदेश  यात्राको तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुनेछैन। नेपाल राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्मको सटही सुविधा प्रधान गर्ने व्यवस्था गरेको छ।

समाचारको यो अंशले अब विदेश भ्रमणमा जाने सबै नेपालीले राहदानी वापत बढीमा २०० अमेरिकी डलरसम्म मात्र साट्न पाउने बुझिन्छ।

सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले यो समाचार सम्प्रेषण गरेको देखिन्छ-

राससको समाचारको स्क्रिनसट

यही व्यहोराको समाचार अरु विभिन्न अनलाइन मिडियाहरुमा पनि आएका छन्-

इकागज : विदेश भ्रमणमा जानेलाई अब २०० अमेरिकी डलरको मात्रै सटही सुविधा

देशसञ्चार : विदेश भ्रमणमा जानेलाई अब २०० अमेरिकी डलरको मात्रै सटही सुविधा

नेपाललाइभ : विदेश भ्रमणमा जानेलाई अब २०० अमेरिकी डलरको मात्रै सटही सुविधा

फरकधार : अब विदेश भ्रमणमा जानेले २०० अमेरिकी डलर मात्रै साट्न पाउने

प्रशासन : विदेश भ्रमणमा जानेलाई डलर सटहीमा कडाइ , २०० डलर मात्र सटही सुविधा पाउने

नेपालप्रेस : विदेश भ्रमणमा जानेलाई डलर सटहीमा कडाइ

सगरमाथा टिभी : विदेश भ्रमणमा जानेलाई डलर सटहीमा कडाइ

क्यापिटल नेपाल : विदेश भ्रमणमा जानेलाई डलर सटहीमा कडाइ

त्यसैगरी युवामाझ चर्चित ‘रुटिन अफ नेपाल बन्द’ले पनि पर्यटकका रुपमा विदेश भ्रमणमा जाने नेपालीले २०० अमेरिकी डलर मात्रै साट्न पाउने पोस्ट शुक्रबार गरेको छ। चार घण्टामा सो पोस्टमा ११ हजार रियाक्सन, ६२९ कमेन्ट देखिन्छ।

के हो तथ्य ?

हामीले यसको तथ्य खोज्ने क्रममा नेपाल राष्ट्र बैँकको आधिकारिक वेबसाइटमा राखिएको यो व्यहोराको सूचना देख्यौँ- ०३/२०७९–८० : एकीकृत परिपत्र–२०७८ मा संशोधन गरिएको सम्बन्धमा (मनिचेञ्जरले प्रदान गर्न सक्ने राहदानीवापतको सटही सुविधासम्बन्धी) । मिति २०७९।०४।०४

त्यसमा राखिएको परिपत्र यस्तो छ-

उक्त परिपत्रमा एकीकृत परिपत्र-२०७८ मा संशोधन गरिएको उल्लेख गर्दै परिवर्त्य विदेशी मुद्रा बिक्री गर्ने इजाजत प्राप्त गर्ने मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी वापत अधिकतम अमेरिकी डलर २०० सम्मको सटही सुविधा प्रदान गर्न सक्नेछन् लेखिएको छ।

यसको अर्थ मनिचेञ्जरको हकमा मात्र यो लागू भएको हो।

एकीकृत परिपत्र-२०७८ मा के छ त ? हामीले नेपाल राष्ट्र बैँकको वेबसाइटमा खोज्ने क्रममा त्यसलाई यहाँ भेट्टायौँ।

२०७८ पुसमा जारी गरिएको यो परिपत्रको बूँदा नम्बर ७ मा परिवर्त्य विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्थाबारे विस्तृत उल्लेख छ। (पेज नम्बर १०४)

परिपत्रमा उल्लेख भए अनुसार नेपाल राष्ट्र बैँक बैँकिङ विभाग लगायत प्रदेश स्थित कार्यालयहरु र इजाजत प्राप्त क वर्गका वाणिजय बैँकहरु अनि ख वर्गमा विकास बैँकहरु र इजाजत प्राप्त मनिचेन्जरहरुलाई यो परिपत्र जारी गरिएको थियो। यसमा मनिचेन्जरको हकमा माथिको अर्को परिपत्र लागू भएपछि बैँकहरुका लागि पुरानो परिपत्र कायम छ।

पुरानो परिपत्रमा राहदानी वापत सटही सुविधामा भारत बाहेक विदेश भ्रमणमा जाने नेपालीहरुलाई अमेरिकी डलर १५०० सम्म सटही सुविधा वर्षमा दुई पटकमा नबढ्ने गरी प्रदान गर्न सकिने उल्लेख छ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जानेलाई भने २०० अमेरिकी डलरसम्म मात्रको सुविधा दिने भनिएको छ।

 

तथ्य जाँच

दावी : अब विदेश भ्रमणमा जाने सबै नेपालीले राहदानी वापत बढीमा २०० अमेरिकी डलरसम्म मात्र सटही सुविधा पाउँछन्।

तथ्य : भ्रामक सूचना । विदेश भ्रमणमा जाने नेपालीलाई इजाजतप्राप्त मनिचेञ्जरले प्रदान गर्ने सटही सुविधामात्रै अधिकतम २०० अमेरिकी डलरसम्म भनिएको हो। बैँकहरुबाट दिइने सटही सुविधामा पुरानै परिपत्र कायमै छ। अर्थात् पुरानो परिपत्रमा रहेको राहदानी वापत सटही सुविधामा भारत बाहेक विदेश भ्रमणमा जाने नेपालीहरुलाई अमेरिकी डलर १५०० सम्म सटही सुविधा वर्षमा दुई पटकमा नबढ्ने गरी प्रदान गर्न सकिने र श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जानेलाई भने २०० अमेरिकी डलरसम्म मात्रको सुविधा बैँकमार्फत् दिने व्यवस्था कायमै छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add