तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

फेसबुकमा राष्ट्रपतिको फोटोसहितको फर्जी विज्ञापन


फेसबुकमा राष्ट्रपतिको फोटोसहितको फर्जी विज्ञापन

सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारीको फोटोसहित ‘नेपाली जनताका लागि छात्रवृत्ति’ लेखिएको र नेपालमा प्रति परिवार १ हजार डलर पाउने दावीसहितको विज्ञापन गरिएको (स्पोन्सर्ड) पोस्ट भाइरल भएको छ। हाम्रो तथ्यजाँचमा यो विज्ञापन फिसिङ अर्थात् फेसबुकको युजरनेम र पासवर्ड चोर्ने प्रपञ्च भएको देखिएको छ।

यस्तो छ विज्ञापन

नेपाली प्रयोगकर्तालाई लक्षित गरी फेसबुकमा विज्ञापन गरिएको (स्पोन्सर्ड) पोस्ट ‘अनुदान’ शीर्षकको फेसबुक पेजमा राखिएको छ।

प्रति परिवार १ हजार डलर पाउने भनिएको यो पोस्टमा सोमबार साँझ ७ बजेसम्म ५ सयभन्दा रियाक्सन, १४५ वटा कमेन्ट र १६ पटक सेयर भएको देखिएको छ।

के हो तथ्य ?

उक्त फेसबुक पेजको पेज ट्रान्सपरेन्सी विवरण हेर्दा २०२२ जुलाई ४ मा बनाइएको देखिएको छ। नयाँ पेज भए पनि विज्ञापनकै मद्दतबाट फेसबुकमा यसले धेरै इन्गेजमेन्ट पाएर धेरै जनामा पुगेको देखिन्छ।

 

हामीले उक्त फेसबुक पोस्टको साइन अप लेखिएको लिङ्कमा क्लिक गर्दा 1000usd9.godaddysites.com खुल्यो। त्यसमा राज्य सहायताको लागि दर्ता गर्न र प्रति परिवार १ हजार डलर पाउने वाचा फेरि गरिएको छ।

त्यसमा रहेको अहिले दावी गर्नुहोस् लेखिएको लिङ्कमा क्लिक गर्दा फेरि अर्को पेज खुल्ने गर्छ। तर त्यो पेज हेर्दा फेसबुक पेज जस्तो देखिन्छ। वास्तवमा त्यो फेसबुक पेज नभएर फिसिङ साइट हो। हेर्दा फेसबुकबाट आफै साइन आउट भएर पुनः युजरनेम र पासवर्ड राखेर लगइन गर्न उक्साएको देखिए पनि खासमा ब्राउजरमा एड्रेस भने फेसबुकको नभएर https://delapo-uteeim.mdbgo.io/ देखिन्छ।

 

 

mdbgo.com  आफ्नो एप्स र डेटाबेस निःशुल्क होस्ट गर्न मिल्ने सेवा हो। फेसबुक पेजको साइन अप गर्ने जस्तै देखिने पेज यसमा होस्ट गरिएको देखिन्छ।

कसैले फेसबुक पेज जस्तै ठानेर यसमा आफ्नो युजर नेम र पासवर्ड राखेमा त्यो यो फिसिङ साइट होस्ट गर्नेको इमेलमा जान्छ।

टेकटार्गेटका अनुसार फिसिङ छलको एउटा तरिका हो जसमा आक्रमणकारीले आफूलाई प्रतिष्ठित संस्था वा व्यक्तिका रुपमा इमेल वा सञ्चारको अन्य माध्यमबाट पीडितको लग इन विवरण वा खाता सम्बन्धी जानकारी लिन्छ। पहिले इमेलबाट यसको धेरै प्रयोग हुने गरे पनि अहिले भने सामाजिक सञ्जालबाट पनि आक्रमण हुने गरेको छ।

तथ्य जाँच

दावी : नेपालमा प्रति परिवार एक हजार डलर पाउने गरी राज्य सहायता दिइँदैछ। त्यसका लागि दर्ता गर्नुपर्छ (फेसबुक विज्ञापन)

तथ्य : मिथ्या सूचना । विज्ञापनमा क्लिक गर्दा खुल्ने पेजमा सहायता दिने विवरण नभएर फेसबुकको पेज झैँ देखिने गरी फर्जी पेजमा फेसबुकको युजरनेम र पासवर्ड राख्न उक्साइएको छ। यो प्रयोगकर्ताको विवरण चोर्ने प्रयास (फिसिङ आक्रमण) भएको देखिन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add