तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

राष्ट्रपतिलाई बालेनले भेटेको बेलाको भनिएको भाइरल फोटोको तथ्य के हो ?


राष्ट्रपतिलाई बालेनले भेटेको बेलाको भनिएको भाइरल फोटोको तथ्य के हो ?

सामाजिक सञ्जालमा अहिले एउटा फोटो भाइरल भएको छ। फोटोमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रपति विद्यादेवी भण्डारी देखिन्छन्।

फोटोमा राष्ट्रपति र उनीबीचको दूरीलाई अस्वभाविक मान्दै विभिन्न प्रतिक्रियाहरु सामाजिक सञ्जालमा लेखिएका छन्।

हाम्रो तथ्य जाँचमा यो फोटो सही भए पनि तीन महिनाभन्दा अघिको भएकोले त्यसको व्याख्या गलत रुपमा गरिएको भेटिएको छ। त्यतिबेला बालेन मेयरको हैसियतमा नभई ‘विज्ञ’को हैसियतमा भेटेर कुरा राखेको दावी स्वयं बालेनले गरेको देखिन्छ।

कहाँ कसरी फैलियो ?

फेसबुकमा २ लाख ६६ हजारभन्दा बढी फलोअर भएका पूर्व सचिव भीम उपाध्यायले शुक्रबार बिहान यो फोटो कहिलेको र कहाँको नखुलाई पोस्ट गरेका थिए।

उनको यो पोस्टमा पाँच घण्टामै १५ सय रियाक्सन, १९७ प्रतिक्रिया आइसकेको देखिन्छ। अधिकांश प्रतिक्रिया निर्वाचित मेयरलाई विभेद गरेकोमा विरोध गरेको देखिन्छ।

पूर्व सचिव उपाध्यायले आफ्नो फेसबुकमा राख्नुअघि नै यो फोटो अरु प्रयोगकर्ताहरुले पनि राखेर भाइरल बनाइसकेको देखिन्छ।

इशारा लामा नामको फेसबुकबाट बिहीबार राति पोस्ट गरिएको यो फोटोमा मेयर र राष्ट्रपतिबीच भेट हुँदा राखिएको दूरीको आलोचना गरिएको छ। १७ घण्टामा यो फोटोमा ५ सयभन्दा बढी रियाक्सन, १८६ प्रतिक्रिया र ७२ सेयर भएको देखिन्छ।

त्यसैगरी ३ लाख ४७ हजार लाइक भएको अल्टरनेटिभ फर नेपाल नामको फेसबुक पेजले बिहीबार नै यस्तो लेख्दै यही फोटो सेयर गरेको छ- काठमाडौँ महानगर प्रमुख बालेन शाह र राष्ट्रपति विद्यादेवी भण्डारीबीचको यो (भेटघाट?) लाई तपाईँ के भन्नुहुन्छ? 

१६ घण्टामा यो पोस्टमा ६२० भन्दा बढी रियाक्सन र १७२ प्रतिक्रिया आएको देखिन्छ।

के हो तथ्य ?

हामीले राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यसित शुक्रबार अपराह्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन र राष्ट्रपतिबीच भेट भएको/नभएको बारे जिज्ञासा राख्यौँ।

आचार्यले औपचारिक रुपमा हालसम्म भेट नभएको प्रतिक्रिया दिए।

त्यसपछि यो फोटोको वास्तविकता पत्ता लगाउन हामीले गुगलमा रिभर्स इमेज सर्च गर्ने क्रममा बालेनको आधिकारिक भेरिफाइड फेसबुक पेजमा पुग्यौँ।

करिब तीन महिनाअघि अर्थात् २४ मार्च २०२२ का दिन उक्त फेसबुक पेजमा बालेनले यो फोटो अपलोड गरेका थिए। उनले फोटोसँगै यो भेटबारे लेखेका पनि थिए।

उनले त्यतिबेला लेखे अनुसार पानीको के-के समस्या छ, समाधान के छ त भन्ने विषयमा पानी विशेषज्ञ, नास्टका प्राज्ञहरु, विभिन्न विश्वविद्यालयका वरिष्ठ प्राध्यापकलाई के कसरी समस्याको समाधान गर्न सकिन्छ भन्ने बारेमा राष्ट्रपतिल परामर्श मागेका थिए। उनले लेखेका थिए, ‘हामी लगायत विज्ञहरुले हाम्रो परम्परागत पानीको प्रविधिलाई ब्युँताउनु पर्नेमा साझा परामर्श दिएका छौँ।’

उनको पोस्टमा अहिले भाइरल भएको बाहेक थप दुई वटा फोटो पनि राखिएका छन्। यहाँ क्लिक गरी हेर्नुस्। 

 

रुटिन अफ नेपाल बन्द फेसबुक पेजले भने यही फोटो बालेनले भन्दा २१ दिनपछि १३ अप्रिल २०२२ मा अपलोड गरेको देखिन्छ। रुटिन अफ नेपाल बन्दले यो फोटो राख्दा बालेन मेयर निर्वाचित भइसकेका थिएनन्। फेसबुकमा उसले यो फोटो राख्दा बालेनलाई इन्जिनियर तथा मेयर उम्मेदवार लेखेको देखिन्छ। रुटिन अफ नेपाल बन्दले भेट कहिले भएको भन्ने बारे खुलाएको छैन।

नेपालप्रेसमा २०७९ वैशाख २७ गते प्रकाशित बालेन राष्ट्रपतिका जलस्रोत सल्लाहकार हुन् ? शीतलनिवासले गरायो निर्वाचन आयोगमा ध्यानाकर्षण शीर्षकको समाचार अनुसार हरेक वर्षको मार्च २२ लाई अन्तर्राष्ट्रिय पानी दिवसका रुपमा मनाउने गरिएकोमा त्यही अवसरमा राष्ट्रपति कार्यालयले उक्त दिन जलस्रोत सम्वन्धि विज्ञहरुलाई बोलाएर अन्तरक्रिया गरेको थियो। वरिष्ठ जलस्रोतविद दिपक ज्ञवालीलाई आमन्त्रण गरिएकोमा उनकै सिफारिसमा बालेन पनि शीतलनिवास जाने टोलीमा समावेश भएको समाचारमा उल्लेख छ।

तथ्य जाँच

दावी : काठमाडौँ महानगरपालिकाका मेयर बालेन र राष्ट्रपति विद्यादेवी भण्डारीबीच दूरी कायम गरेर हालै भेट भयो।

तथ्य : भ्रामक सूचना। उक्त भेट हुँदा बालेन महानगरपालिकाका मेयर निर्वाचित भइसकेका थिएनन्। उनले राष्ट्रपतिलाई एक्लै भेटेका पनि होइनन्। बालेन आफैले आफू विज्ञका रुपमा पानीको विषयमा छलफल हुँदा सल्लाह दिन गएको उल्लेख गरेका छन्। भाइरल भएको फोटो सही भए पनि उनी मेयर नहुँदै विज्ञहरुको समूहमा सो भेट भएको देखिएकोले सामाजिक सञ्जालमा फोटोको व्याख्या भ्रामक रुपमा भएको देखिन्छ।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add