तथ्यजाँच मिथ्या सूचना

के हो महेश बस्नेत कुटिएको भन्दै भाइरल भएको भिडियोको तथ्य?


के हो महेश बस्नेत कुटिएको भन्दै भाइरल भएको भिडियोको तथ्य?

सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भएको छ- जसमा ढाकाटोपी लगाएका एक व्यक्तिलाई भिडले कुट्न खोजेको र उनी दौडिँदै कुनै गेटभित्र प्रवेश गरेको देखिन्छ। भिडियोमा ‘ए, पुलिस खै?’ भनेको सुनिन्छ। भिडियो धमिलो भएकोले त्यति प्रष्ट देखिन्न। तर, भाइरल भिडियोसँगै लेखिएको विवरणमा उनी एमाले सांसद तथा पूर्व मन्त्री महेश बस्नेत भएको र ‘भक्तपुर वाइसिएलद्वारा कुटपिट गरी लखेटिएको’ दावी गरिएको छ।

तर, हामीले तथ्य जाँचका क्रममा भाइरल भएको भिडियोको ओरिजिनल फाइल, त्यसलाई सबैभन्दा पहिले सामाजिक सञ्जालमा अपलोड गरिएको भिडियो र त्यो भिडियो खिच्ने पत्रकारको भनाईको विश्लेषण गरी यो दावी मिथ्या रहेको निश्कर्षमा पुगेका छौँ। 

कसरी भयो भाइरल ?

२०७९ भदौ १३ गते सोमबार एमालेले भक्तपुरमा आयोजना गरेको एउटा कार्यक्रममा  महेश बस्नेतले गरेको भाषणका समाचार र भिडियो क्लिप भाइरल भएका थिए। नागरिकन्युजमा प्रकाशित समाचारमा उनले ‘बालेन शाह, रविन्द्र मिश्र, रवि लामिछाने, रमेश खरेलका नाममा विभिन्न खालका अन्तराष्ट्रिय मिसनहरु परिचालित भएको’ भनेको र ‘सकभर मुखले सम्झाउनुहोस,  मुखले सम्झाउँदा मानेनन भने हात गोडा के केले सम्झाउने हो सम्झाउनुहोस्, परेको कुरा पार्टीले व्यहोर्छ’  भनेको उल्लेख छ। उक्त कार्यक्रमको सामाजिक सञ्जालमा भिडियो पनि देख्न सकिन्छ।

महेश बस्नेतको अभिव्यक्ति भाइरल भएको भोलिपल्टै उनी कुटिएको दावी गरिएको भिडियो भाइरल भएको हो जसमा लेखिएको छ-  ‘भक्तपुर वाइसिएलद्वारा महेश बस्नेत कुटपिट गर्दै लखेटिएका छन्। बालेनमाथि जाई लाग्न युवा संघलाई निर्देशन दिएको भन्दै जवाफी कारबाही गरेको वाइसिएलले जनाएको छ।’

केशव थुलुङ नामको प्रोफाइलबाट सेयर भएको यो भिडियोमा ३६ सय रियाक्सन छन् भने १३ सय कमेन्ट र ३८ सय सेयर। यसको भ्युज बुधबारसम्म ३ लाख ४२ हजार कटेको छ।

विभिन्न फेसबुक पेज, ग्रुप र व्यक्तिहरुले समेत यो भिडियो पोस्ट गरेका छन्। केही भिडियोहरुमा एक लाखभन्दा बढी भ्युज कटेको देखिन्छ।

एक लाख भ्युज कटेका केही पोस्टहरु-

के हो तथ्य ?


महेश बस्नेतको भन्दै भाइरल भएको भिडियो जसमा अनुहार स्पष्ट देखिन्न।

यो भिडियोको स्रोत खोज्दै जाने क्रममा हामी २०२२ अप्रिल २७ तारिखमा अपलोड भएको @bijayanepal6 युजर नेमबाट टिकटकमा अपलोड भएको यो भिडियोमा पुग्यौँ। यो भिडियोको २० देखि ३० सेकेन्ड टाइम फ्रेमको भिडियो अंश र अहिले भाइरल भएको भिडियो र अडियो उस्तै देखिन्छ।

@bijayanepal6चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन जाँदै माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा♬ original sound – Bijaya Nepal

हामीले टिकटकमा यो भिडियो अपलोड गर्ने पत्रकार विजय नेपालसित यसबारे थप जानकारी माग्यौँ। उनी स्थानीय अनलाइन खुल्लापाना डट कमका सम्पादक पनि हुन्। स्थानीय तहको निर्वाचन २०७९ को उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन २०७९ वैशाख १२ गते चौतारी साँगाचोकगढी नगरपालिका भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाहिर  यो भिडियो गोप्रो क्यामेराबाट खिचेको उनले जानकारी दिए।

उनका अनुसार उक्त नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको थियो तर मनोनयन दर्ता भन्दा अघिसम्म यो विषय गोप्य राखिएको थियो। जुलुससहित नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार कृष्णप्रसाद सापकोटा मनोनयन दर्ता गर्न आउँदै गर्दा सो हातपातको प्रयास भएको थियो।

कान्तिपुर २०७९ वैशाख १३ मा प्रकाशित ‘चौतारा झडप : सिसा तोडफोड गर्ने तीन जना पक्राउ, अन्य फरार’ शीर्षकको समाचारमा पनि उनले दिएको जस्तै जानकारी भेटियो। समाचारमा ‘सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरको चौतारा बजारमा असन्तुष्ट पक्षबाट उम्मेदवारी दर्ताको क्रममा भएको झडपमा तोडफोड सुरु गर्नेमध्ये तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको’, ‘मनोनयन दर्ता गर्न खोज्दै अघि बढेका माओवादी-समाजवादीको हुलबीच धकेलाधकेल सुरु भयो’ र ‘जुलुसकै बेला माओवादीको तर्फबाट मेयर उम्मेदवार कृष्णप्रसाद सापकोटा देशबन्धुमाथि हातपातको प्रयास भयो। समाजवादीका नेता सोम सापकोटा र सुभाष कर्माचार्यलाई समेत ‘टार्गेट’ गरियो’ लेखिएको छ। हेर्नुस् समाचारको अर्काइभ लिङ्क।

हामीले थप पुष्ट्याइँका लागि पत्रकार विजय नेपालसित यो भिडियोको ओरिजिनल फाइल मगायौँ। उक्त फाइलको मेटाडेटा हेर्‍यौँ।

उनले पठाएको ४४ सेकेन्डको ओरिजिनल भिडियोको मेटाडेटामा २०२२ अप्रिल २५ तारिख अपराह्न ४ बजेर २३ मिनेटमा यो फाइल क्रियट भएको देखिन्छ। विक्रम संवतमा परिवर्तन गर्दा यो मिति २०७९ वैशाख १२ नै हुन आउँछ, जुन निर्वाचन आयोगले उम्मेदवारीको मनोनयन दर्ता गर्न तोकेको दुई दिनमध्ये अन्तिम दिन थियो।

ओरिजिनल भिडियोबाट निकालिएको स्क्रिनसट जसमा अनुहार स्पष्ट देखिन्छ, महेश बस्नेत दावी गरिएका व्यक्ति चौतारा साँगाचोकढी नगरपालिकाका वर्तमान मेयर कृष्णप्रसाद सापकोटा हुन्।

हेर्नुस् ओरिजिनल भिडियो-

पत्रकार विजय नेपालका अनुसार उनले यो भिडियोको ‘पुलिस खै’ वाक्य बोलिएका केही अंश स्लो मोसनमा बनाएर ५१ सेकेन्डको भिडियो टिकटकमा हालेका हुन्। त्यसैका केही अंश निकालेर अनुहार नचिनिने गरी बनाइएको भिडियो हाल सामाजिक सञ्जालमा गलत विवरणका साथ भाइरल भएको हो।

तथ्य जाँच

दावी : एमाले सांसद महेश बस्नेतलाई कुटपिट गर्दै लखेटिएको भिडियो।

दावीकर्ता : सामाजिक सञ्जालका प्रयोगकर्ता, फेसबुक पेज र ग्रुपहरु।

तथ्य : मिथ्या सूचना । भाइरल भएको सो भिडियोमा हातपात गर्न खोजिएका व्यक्ति महेश बस्नेत नभई हाल चौतारा साँगाचोकगढीको मेयर पदमा निर्वाचित कृष्णप्रसाद सापकोटा हुन्। भाइरल भएको भिडियोको ओरिजिनल फाइल, त्यसलाई सबैभन्दा पहिले सामाजिक सञ्जाल टिकटकमा अपलोड गरिएको भिडियो, त्यो भिडियो खिच्ने पत्रकार विजय नेपालको भनाई र त्यतिबेला प्रकाशित समाचारहरुको विश्लेषण गरी हामी यो निश्कर्षमा पुगेका हौँ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add