- उमेश श्रेष्ठ
- भदौ २०, २०७९
के निलम्बित प्रधान न्यायाधीशले विवादित फैसलाबारे प्रायश्चित छ भनेका हुन् ?
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले महाभियोग सिफारिश समितिमा बयान दिँदै श्रीमतीको हत्या गरेको मुद्दामा रन्जन कोइरालाको कैद सजाय घटाउने फैसलाबारे प्रायश्चित गरेको बताएको दावी गर्दै विभिन्न मिडियामा समाचार आएका छन्।*
तर हाम्रो तथ्य जाँचमा यो दावी भ्रामक देखिएको छ।
कहाँ कस्तो सूचना ?
महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा रहेका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान महाभियोग सिफारिश समितिसमक्ष हुँदैछ। यही क्रममा तेस्रो दिन २०७९ भदौ १९ गते आइतबार रन्जन कोइरालाको सजाय घटाउने फैसलाबारे प्रश्न सोधिएको थियो। त्यसैको जवाफ बारे विभिन्न मिडियाले समाचार बनाएका छन्।
अनलाइनखबरले ‘रञ्जन कोइरालाको मुद्दा फैसलाबारे चोलेन्द्रको बयान : मलाई प्रायश्चित्त छ’ शीर्षकको समाचारमा लेखेको छ- ‘निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले रन्जन कोइरालाको मुद्दा फैसलामा प्रायश्चित गरेको बताएका छन्।’
त्यसैगरी इकागजले पनि रन्जन कोइरालाको फैसलाबारे चोलेन्द्रको बयान : क्षमा चाहन्छु, मलाई प्रायश्चित छ शीर्षकको समाचार राखेको छ। समाचारमा लेखिएको छ- ‘आइतबार समितिले श्रीमतीको हत्यापछि प्रमाण नष्ट गर्न जलाएको अभियोगमा जेल सजाय भोगिरहेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रन्जन कोइरालालाई सजाय कम गर्नेगरी गरेको फैसलाबारे प्रश्न गरेको थियो । जवाफमा जबराले उक्त फैसलाप्रति माफी माग्दै आफूले प्रायश्चित गरेको बताए।’
त्यसैगरी समाचारमा लेखिएको छ- ‘यस फैसलाप्रति जनतासँग माफी चाहने र आफूलाई प्रायश्चित लागेको जबराको बयान छ । ‘कोइरालालाई कम सजाय तोकिँदा विवेक प्रयोग गर्दा गल्ती भएको यसलाई महाअभियोग लगाइएको हो भने जनतासमक्ष क्षमा चाहन्छु र यसप्रति मलाई प्रायश्चित भएको छ,’ बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै जबराले भने।’
राजधानी दैनिकमा पनि रन्जन कोइरालको फैसलाका विषयमा चोलेन्द्रको बयान : क्षमा चाहन्छु, मलाई प्रायश्चित छ शीर्षकमा समाचार राखिएको छ। हेर्नुस् अर्काइभ लिङ्क
इकान्तिपुरको समाचारमा पनि ‘उनले आफूले गरेको त्यो गल्तीमाथि प्रायश्चित भएको पनि उल्लेख गरे’ लेखिएको छ।
अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्।
निलम्बित प्रधान न्यायाधीशले त्यो फैसलाबारे मलाई प्रायश्चित छ भनेको समाचार अरु विभिन्न अनलाइन मिडियामा पनि आएको छ। केही उदाहरण-
शिलापत्र : रञ्जन कोइरालाको सजाय घटाएकोमा चोलेन्द्रको प्रायश्चित, भने- विवेक प्रयोग गर्दा गल्ती भयो
खबरहब : रञ्जन कोइरालाको फैसलाबारे जबराको बयान : क्षमा चाहन्छु, मलाई प्रायश्चित छ
फरकधार : रन्जन कोइरालाको फैसलाबारे चोलेन्द्रको बयान : क्षमा चाहन्छु, मलाई प्रायश्चित छ
केही मिडियामा भने गल्ती स्वीकार गरेको, फैसलाप्रति आफूलाई ‘गिल्टी फिल’ भएको (गोरखापत्र), न्यायिक विचलन भएको स्वीकार गरेको (उकेरा) समाचार समेत आएका छन्।
के हो तथ्य ?
गोरखापत्र दैनिकमा प्रकाशित समाचारमा फैसलाप्रति जबराले ‘आफूलाई गिल्टी फिल भएको’ बताएको लेखिए पनि सोही समाचारको मुनि ‘गिल्टी फिल गर्दिनँ’ भनेको उल्लेख छ।
हामीले सेतोपाटीले युट्युबमा अपलोड गरेको बयानको भिडियो पनि हेर्यौँ। त्यसमा पनि जबराले ‘गिल्टी फिल गर्दिनँ’ नै भनेका छन्।
सेतोपाटीमा तेस्रो दिन जबराको बयानको ३५ मिनेट लामो भिडियो पनि राखेको छ। (यहाँ क्लिक गरी हेर्नुस्) यसमा उनले कतै पनि मलाई प्रायश्चित छ भनेको देखिन्न।
अनलाइनखबरले यो समाचारमा यो फैसलाबारे उनको बयानलाई उनकै शब्दमा उतारेको पनि छ। त्यसमा पनि प्रायश्चित भएको बताएको कतै उल्लेख छैन।
बयान सुन्दा उनले यो फैसलाको प्रतिरक्षा गरेको देखिन्छ, न कि न्यायिक विचलन भएको स्वीकार गरेको। उनले न्यायाधीशलाई विवेक प्रयोग कानुनले दिएको अधिकार हो भन्दै आफूले कानुनले दिएको अधिकारअनुसार विवेक प्रयोग गरेको दावी गर्दै विवेकमा प्रश्न उठाउन पाइँदैन भनेका छन्।
अझ यसैका आधारमा महाभियोग लगाउने भए म गिल्टी फिल गर्दिनँ समेत भनेका छन्।
अनलाइनखबरले उतारेको उनको बयानको अंश यस्तो छ-
“मिसिलबाट महसुस गर्ने हो, न्यायाधीशलाई विवेक प्रयोग कानुनले दिएको अधिकार हो । त्यो विवेक प्रयोग गरेर दुइटा बच्चाबच्चीका लागि गार्जियन (अभिभावक) चाहिन्छ कि भन्ने दृष्टिकोणबाट ८ वर्ष ४ महिना चानचुन बसिहाल्यो भनेर साढे ८ वर्षको राय लगाएको हो ।
राय लगाउने सबै इजलासबाट भएको हो । हिजो पनि थियो, आज पनि छ । मलाई दुःख लागेको छ । दुःख यसकारण लागेको छ कि साढे ८ वर्षको राय लगाउँदा त्यसबाट पीडित परिवार लगायतबाट प्रश्न उठाइयो । यसबाट मलाई पनि दुःख लागेको छ । यो कुरा नभइदिएको भए हुने रहेछ भन्ने फिल गरेको छु । मलाई पनि दुःख लागेको छ । यसबाट गल्ती भा’छ, यसबाटै महाअभियोग लागेर अवकाश दिनुपर्ने अवस्था छ भने म हार्दिकतापूर्वक जनता र समितिसामु अनुरोध गर्छु, मैले कानुनले दिएको अधिकारअनुसार विवेक प्रयोग गरेको हुँ । विवेकमा प्रश्न उठाउन पाइँदैन । र पनि गम्भीर गल्ती भएकै हो भन्ने लाग्दछ भने यसमा कुनै अनियमितता, त्यसपछाडि भ्रष्टाचार भएको होइन । कानुनले दिएको अधिकार प्रयोग गरेर ती दुइटा बालकहरुकाे भरणपोषण गर्नुपर्ने दायित्व आमाको अभावमा बाबु भएको हुनाले यो घटना पनि पारिवारिक भएको हुनाले दिएको हुँ । अर्को न्यायाधीशलाई म आरोप लगाउँदिनँ । यसको मैले लिड गरेको हुँ, देशको प्रधानन्यायाधीश हुँ, मैले न्याय प्रशासनको जिम्मेवारी लिएको छु । यदि यसैबाट महाअभियोग लाग्छ र मैले अवकाश लिनुपर्छ भने मैले हार्दिकतापूर्वक क्षमा चाहन्छु । हार्दिकतापूर्वक अनुरोध गर्छु, यो आधारबाट महाअभियोग लाग्छ भने म कुनै आपत्ति र गिल्टी फिल गर्दिनँ ।”
सेतोपाटीले युट्युबमा राखेको बयानको भिडियो-
* संशोधन : यसअघि ‘रन्जन कोइरालाको ज्यान मुद्दामा सजाय घटाउने फैसलाबारे’ लेखिएकोमा यो शब्द स्पष्ट नभएको हुनाले त्यसलाई संशोधन गरी ‘श्रीमतीको हत्या गरेको मुद्दामा रन्जन कोइरालाको कैद सजाय घटाउने फैसलाबारे’ बनाइएको छ।
तथ्य जाँच
दावी : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले महाभियोग सिफारिश समितिमा बयान दिँदै रन्जन कोइरालाको ज्यान मुद्दामा सजाय घटाउने फैसलामा प्रायश्चित गरेको बताए। न्यायिक विचलन भएको स्वीकार गरे। गल्तीका लागि माफी मागे।
दावी गर्ने : अनलाइनखबर, कान्तिपुर, गोरखापत्र, इकागज, राजधानी, उकेरा, फरकधार लगायत अनलाइनहरु।
तथ्य : भ्रामक सूचना। बयानको उपलब्ध भिडियो हेर्दा निलम्बित प्रधान न्यायाधीशले आफ्नो फैसलाको प्रतिरक्षा गरेका छन्। उनले फैसला गर्दा कानुनले दिएको अधिकारअनुसार विवेक प्रयोग गरेको भन्दै विवेकमा प्रश्न उठाउन पाइँदैन भनेका छन् र यो आधारबाट महाअभियोग लाग्छ भने म कुनै आपत्ति र गिल्टी फिल गर्दिनँ भनेका छन्। भिडियोमा कतै पनि उनले पश्चताप शब्द बोलेको देखिन्न।