तथ्यजाँच मिथ्या सूचना

के हो ‘बच्चा चोर’ भन्दै भाइरल भएको फोटो र भिडियोको तथ्य ?


के हो ‘बच्चा चोर’ भन्दै भाइरल भएको फोटो र भिडियोको तथ्य ?

  • सीपी खनाल 

सामाजिक सञ्जालमा अहिले ‘बच्चा चोर’ भन्दै केही फोटो र भिडियो भाइरल भएका छन्। त्यसमध्ये एउटा भिडियो र त्यसैसँग सम्बन्धित केही फोटोमा प्रहरीहरु, एक बालिका र एक अधवैँशे महिला देखिन्छ। भाइरल पोस्टमा चाउमिन खुवाउने भनी फकाई फुलाई भगाएको दावी गर्दै तपाईं हाम्रो घर आँगनमा पनि यस्ता व्यक्ति आउन सक्ने भन्दै सचेत हुन भनिएको छ।

तर हाम्रो तथ्य जाँचमा यो दावी गलत देखिएको छ। अधवैँशे महिलासँग भेटिएकी बालिका उनकै छोरी रहेको प्रहरीले पुष्टि गरेको छ।

कसरी भयो भाइरल ?

रानीमहल नामको फेसबुक पेजले आइतबार ११ सेप्टेम्बर २०२२ राति अपलोड गरेको केही फोटोसहितको पोस्ट २४ घण्टामा १४ सय पटक सेयर भएको छ भने १६ सय रियाक्सन र १७६ कमेन्ट देखिन्छ।

रानीमहल फेसबुक पेजबाट भाइरल भएको पोस्ट। बालिकाको फोटोलाई हामीले नचिनिने बनाएका छौँ। 

त्यसैगरी इटहरीखबर नामको फेसबुक पेजमा उही फोटो र उही विवरण राखेर गरिएको पोस्ट पनि भाइरल भएको छ। हामीले सोमबार राति स्क्रिनसट लिँदासम्म यो पोस्ट १७ सय पटक सेयर भइसकेको छ भने ५ हजार रियाक्सन र २२१ कमेन्ट देखिन्छ। यहाँ क्लिक गरी स्क्रिनसट हेर्नुस्। 

उही फोटो र उही विवरणसहितको तिलोत्तमा सिटी न्युज नामको फेसबुक पेजमा पनि यो पोस्ट भाइरल भएको छ। यसमा सोमबार रातिसम्म ६५९ सेयर, ९२६ रियाक्सन र ८२ कमेन्ट छन्।

मिडिया अनलाइनखबर नाम राखिएको अर्को फेसबुक पेजमा उही फोटो र विवरणसहितको पोस्ट ९५४ सेयर १२ सय रियाक्सन र ४९ कमेन्ट छन्।

फेसबुकमा अरु थुप्रै पेज, ग्रुप र व्यक्तिहरुले समेत यो विवरणसहितको पोस्ट सेयर गरेका छन्।

उक्त पोस्टमा भएको विवरण यस्तो छ-

आज करिब ७ बजे साँझ पूर्व मंगलापुर टोलमा इभिनिङ वाक गर्ने क्रममा एक अपरिचित महिलाले एक बच्चा झाडीको बाटो लगिरहेको देखेर रोकेर सोधपुछ गर्दा भाग्न खोजेको र तुरुन्त मंगलापुर पुलिसलाई खबर गरी पक्राउ गरेको छ।
महिला इन्डियाको हैदरवादको भएको र बच्चा बुटवल, ममी ड्याडी घरै भएको र चाउमिन खुवाउने भनी फकाई फुलाई भगाएको जानकारी भयो। यस्ता चोर तपाईं हाम्रो घर आँगनमा पनि आउन सक्छन, सचेत हौँ।
त्यसैगरी उही विवरण राखिएको भिडियो पनि फेसबुकमा भाइरल भएको छ। रुटिन अफ बुटवल बन्द नामको फेसबुक पेजमा राखिएको यो भिडियो सोमबार रातिसम्म २ लाखभन्दा बढीले हेरिसकेका छन्।
भाइरल भिडियोको स्क्रिनसट
भिडियोमा अधवैँशे महिला सडकमा अनुहार झुकाएर बसिरहेकी देखिन्छिन् भने बालिकालाई महिला प्रहरीले बोकेर विभिन्न प्रश्न सोधिरहेकी छिन्। एक पुरुषले बालिकालाई तिम्रो मामु हो भनेर सोध्छन्। भिडमा आवाज सुनिन्छ, हैन होला भए नि हो भन्ला। 

के हो तथ्य ?

भाइरल पोस्टमा ठाउँ प्रष्ट नखुलाइए पनि हामीले यो फोटो र भिडियो खिचिएको स्थान रुपन्देहीको तिलोत्तमा मंगलापुरको भएको पुष्टि प्रहरीबाट गर्‍यौँ।

मंगलापुर प्रहरी चौकीका सई लक्ष्मण डाँगीका अनुसार भिडियो र फोटोमा देखिएकी अधवैँशे महिला पाल्पा तानसेन ७ लामिडाँडा बस्ने ज्योति रञ्जन हुन्। त्यसमा देखिएकी ५ वर्षकी बालिका ज्योतिकै छोरी रहेको आफन्तले प्रमाणित गरेपछि कागज गरेर जिम्मा लगाइएको छ।

भारत माइती भएकी ज्योतिलाई नेपाली भाषा राम्रोसँग बोल्न आउँदैन। भाषा बोल्न नजानेकैले उनले अरुको बच्चा अपहरण गरेर भारत लैजान लागेको आरोप स्थानीयले लगाएको तर प्रहरीले अनुसन्धान पछि उनी र बच्चालाई आफन्तको जिम्मा लगाइसकेको उनले जानकारी दिए।

प्रहरीले ज्योति र उनकी छोरीलाई नवलपरासी पश्चिम सुनवल नगरपालिका १ बस्ने उनकी नन्द सुनिता थापाको जिम्मा लगाएको थियो। सुनिता थापाले हामीसँग कुरा गर्दै आफ्नी भाउजु ज्योति र भतिजी दिप्ती आफूसँगै रहेको र पाल्पाबाट लिन आएपछि पाल्पा नै पठाउने बताइन्। 

भदौ ७ गते बिहान स्कूल गएका ज्योतिका छोराहरु जेठो १७ वर्षीय दिनेशराज सिंह गन्धर्व, माइलो १४ वर्षीय चनराज सिंह गन्धर्व र कान्छो १२ वर्षका समिरराज सिंह गन्धर्व हराएका थिए। उनीहरुले भदौ ११ गते प्रहरी चौकी प्रवासमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले उनीहरुको खोजीका लागि प्रयत्न गरिरहेको भएपनि उनीहरु फेला परेका छैनन्। 

‘बच्चाहरु स्कुलबाट नफर्किएको भन्दै भदौ ११ गते प्रवास प्रहरीमा निवेदन आएको थियो, हामीहरु खोजतलासका लागि सबैतिर जानकारी पठाएका छौं’, प्रहरी चौकी प्रवासका सई भरत थापा भन्छन्,‘यिनीहरुको परिवारभित्र पनि झैझगडा भएको रहेछ, त्यसपछि छोराहरु खोज्न भनेर आमा घरबाट हिँडेको रहेछ।’ 

जिल्ला प्रहरी कार्यालय पाल्पा, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी इन्चार्ज विष्णु न्यौपाने हराइरहेका उनीहरुको खोजीका लागि बुटवलसम्म जानकारी पठाइएको र मामाघर भारत गएको हुनसक्ने अनुमानका आधारमा भारतमा समेत खोजीका लागि परिवारलाई अनुरोध गरिएको बताइन्। 

सोमबार राति नेपाल प्रहरीको साइबर ब्युरोले पनि विज्ञप्ति जारी गर्दै बच्चा चोरीको सामाजिक सञ्जालमा फैलाइएको प्रचार भ्रामक भएको भनिएको छ। त्यस्ता प्रचारमा उल्लेख भए झैँ देशभर रहेका कुनै पनि प्रहरी कार्यालयहरुमा हालसम्म कुनै पनि माध्यमबाट कुनै पनि उजुरी/सूचना प्राप्त नभएको त्यसमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि आफ्नो फेसबुकमा सामाजिक सञ्जालमा उल्लेख भए झैँ घटनाका सम्बन्धमा उजुरी तथा निवेदन नपरेको र त्यस्तो कुनै पनि प्रकारको गतिविधि भएको नपाइएको भन्दै हल्ला र अफवाहको पछि नलाग्न अनुरोध गरिएको छ।

बच्चा चोरीको यस्तो हल्ला नेपालमा मात्र हैन, छिमेकी देश भारतका विभिन्न राज्यहरुमा पनि फैलिएको भारतीय मिडियाहरुका समाचारमा देख्न सकिन्छ।

तथ्य जाँच

दावी : नेपालको मंगलापुरमा एक अपरिचित महिलाले एक बालिकालाई चाउमिन खुवाउने भनी फकाई फुलाई चोरेर भगाउन खोजिन्। यो बारे फोटो र भिडियोहरु।

दावीकर्ता : फेसबुकका विभिन्न पेज, ग्रुप र व्यक्तिहरु।

तथ्य : मिथ्या सूचना । भाइरल फोटो र भिडियोमा देखिएकी महिला भारत माइती भएकी ज्योति रञ्जन भएको र उनीसँगैकी ५ वर्षीया बालिका उनकै छोरी रहेको प्रहरीले पुष्टि गरेको छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add