तथ्यजाँच भ्रामक सूचना

के हो प्रचण्डको भाइरल भएको भाषणको तथ्य?


के हो प्रचण्डको भाइरल भएको भाषणको तथ्य?

सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एउटा भाषणको भिडियो केही समय यता भाइरल भएको छ।

सो भिडियोमा प्रचण्डले ‘अबको चुनाव २०६४ सालको जस्तो बनाउनै पर्ने, जालझेल गर्ने, बाकस साट्ने, अनि न चुनाव जितिँदो रहेछ’ भनेको सुनिन्छ।

हामीले गरेको तथ्य जाँचमा यो भिडियो स्थानीय चुनावभन्दा अगाडिको रहेको र भाषणका केही अंश काटेर भ्रामक बनाइएको भेटिएको छ।

भाइरल भिडियो

हिमाल म्यागेजिनका प्रकाशक, पत्रकार र तथा लेखक कनकमणि दीक्षितले अक्टोबर १७ मा अपिल गुरुङले ट्विट गरेको भिडियो कोट ट्विट गर्दै लेखेका छन्,  ‘अबको चुनाव ६४को जस्तो बनाउनै पर्छ हामीले, गर्नुपर्ने पनि गरियो नगर्नुपर्ने पनि गरियो। जालझेल गर्ने, बाकस साट्ने, हामीले कति गर्याथेऊँ सम्झनुस त ६४!” यी मानिस २०६४ देखि असोज २०७९ सम्म सप्रेका छैनन। सप्रने आश कहिल्यै थिएन।’

यो तथ्य जाँच गर्दासम्म यो भिडियोको ट्विटरमा ५४ हजार भ्युज भइसकेको छ भने दीक्षितको ट्विटमा ३७ रिट्विट, सात कोट ट्विट र १६९ लाइक छन्।

दीक्षितको ट्विटको स्क्रिनसट। अर्काइभ हेर्न यता क्लिक गर्नुस्

अपिल गुरुङको ट्विट भने २३४ पटक रिट्विट भएको छ र यसमा ५४६ लाइक र ११६ कोट ट्विट छन्। अर्काइभ

त्यसैगरी ओम तिवारी नामको फेसबुक प्रोफाइलबाट १६ अक्टोबरमा पोस्ट भएको यस्तै भिडियो ६ हजार ६ सय पटक सेयर भएको छ भने त्यसमा ३९९ कमेन्ट र १ हजार रियाक्सन देखिन्छ।

ओम तिवारीको फेसबुकबाट पोस्ट भएको भिडियोको स्क्रिनसट

त्यसैगरी नेपालआज नामको अनलाइनले पनि २०७९ कात्तिक १ गते ‘०६४ जस्तो बाकस साटेर भएपनि चुनाव जित्न प्रचण्डको निर्देशन’ शीर्षकमा भाइरल भएको यही भिडियोलाई आधार बनाएर समाचार बनाएको छ। समाचारमा प्रचण्डले कहाँ र कहिले यसो भनेका हुन् भन्ने उल्लेख छैन।

त्यसैगरी एभरेस्ट हेडलाइन्स नामको अनलाइनले पनि २०७९ असोज ३० गते अवको चुनावमा जालझेल गर्ने, बाकस साटने काम गर्नैपर्छ प्रचण्ड शीर्षकमा समाचार राखेको छ।

भाइरल भएको भिडियोमा प्रचण्डले यसो भनेको सुनिएको छ-

अबको चुनाव ६४ को जस्तो बनाउनै पर्छ हामीले। जालझेल गर्ने, कुरा बुझ्नु भो त..चाहिँ त्यहाँ लगेर चाहिँ बाकस साट्ने…अनि न चुनाव जितिँदो रहेछ। हामीले त्यो बेला कति गर्‍या थियौँ, तपाईँहरुले कति गर्नुभाथ्यो सम्झिनुस् त ६४। गर्नु पनि गरियो, नगर्नु नि गरियो र त जितियो। अहिले सोझो हुँदा त हामीलाई त हेप्ने सबैले।

के हो तथ्य ?

यो भिडियोको वास्तविकता पत्ता लगाउन हामीले सर्च इन्जिन गुगलमा ‘प्रचण्ड, बाकस साट्ने, चुनाव, ६४’ की वर्ड प्रयोग गरेर खोज्यौँ। त्यस क्रममा हामी नेपाली नेटवर्क डट कममा एक वर्षभन्दा अघि अर्थात् २०७८ असोज महिना प्रकाशित यो समाचारमा पुग्यौँ- २०६४ मा गर्नु नगर्नु सबै गरेर पो जितियो, अबको चुनावमा पनि त्यसै गर्नुपर्छः प्रचण्ड

समाचारमा ‘काभ्रेको पाँचखालमा वाइसिएलको भेलालाई सम्बोधन गर्दै’ प्रचण्डले त्यसो भनेको उल्लेख गरिएको छ। यही आधारमा खोज्दै जाँदा हामीले प्रचण्डको भेरिफाइड फेसबुक पेजबाट २६ सेप्टेम्बर २०२१ मा पोस्ट गरिएको भिडियो भेट्यौँ। त्यसमा ‘योङ कम्युनिस्ट लिग, नेपालको दोस्रो पाँचखाल नगर सम्मेलन । पाँचखाल, काभ्रे । २०७८ असाेज ०७ गते’ लेखिएको छ। भिडियोको ५२ औँ मिनेटमा यो अहिले भाइरल भएको क्लिप सुन्न सकिन्छ।

भिडियोमा उनले भनेका छन्-

अबको चुनाव ६४ को जस्तो बनाउनै पर्छ हामीले। जालझेल गर्ने, कुरा बुझ्नु भो त..चाहिँ त्यहाँ लगेर चाहिँ बाकस साट्ने…या पुलिस र कर्मचारीलाई प्रयोग गरेर चाहिँ जित्न खोज्नेहरुलाई भ्याकुर लखेटे झैँ लखेट्दिनु पर्छ गाउँगाउँबाट। अनि न चुनाव जितिँदो रहेछ। हामीले त्यो बेला कति गर्‍या थियौँ, तपाईँहरुले कति गर्नुभाथ्यो सम्झिनुस् त ६४। गर्नु पनि गरियो, नगर्नु नि गरियो र त जितियो। अहिले सोझो हुँदा त हामीलाई त हेप्ने सबैले।

त्यसैगरी नेपालप्रेस अनलाइनले काभ्रेमा प्रचण्डको उत्तेजक भाषणः हामी विजेता हौं, केपी हरुवा, भगौडा हो(भिडिओ)  शीर्षकको समाचारमा पनि एउटा भिडियो राखेको छ जसमा अहिले भाइरल भएको भिडियोको अंश छ।

यो भिडियोमा पनि प्रचण्डको आधिकारिक फेसबुकमा राखेको भिडियो जस्तै बोलेको देखिन्छ।

भाइरल भएको भिडियोलाई मंसिरको प्रतिनिधि तथा प्रदेश सभा चुनावको प्रसंगमा प्रयोग गरिए पनि यो भिडियो एक वर्षभन्दा अघि २०७८ साल असोज महिनाको हो। भाइरल भिडियोमा उनको बोलीका केही अंश काटेर भ्रामक बनाइएको छ। अबको चुनाव ६४ को जस्तो बनाउनै पर्छ हामीले। जालझेल गर्ने, कुरा बुझ्नु भो त..चाहिँ त्यहाँ लगेर चाहिँ बाकस साट्ने… पछि प्रचण्डले बोलेको यो अंश या पुलिस र कर्मचारीलाई प्रयोग गरेर चाहिँ जित्न खोज्नेहरुलाई भ्याकुर लखेटे झैँ लखेट्दिनु पर्छ गाउँगाउँबाट लाई काटिएको छ।

तथ्य जाँच

दावी : प्रचण्डको भाषणको भाइरल भिडियो जसमा उनले भनेका छन्- अबको चुनाव ६४ को जस्तो बनाउनै पर्छ हामीले। जालझेल गर्ने, कुरा बुझ्नु भो त..चाहिँ त्यहाँ लगेर चाहिँ बाकस साट्ने…अनि न चुनाव जितिँदो रहेछ।

दावीकर्ता : सामाजिक सञ्जाल फेसबुक र युट्युबका प्रयोगकर्ताहरु र अनलाइन नेपालआज, एभरेस्ट हेडलाइन

तथ्य : भ्रामक सूचना। भाइरल भएको भिडियोलाई आसन्न निर्वाचनको प्रसंगमा प्रयोग गरिए पनि यो भिडियो एक वर्षभन्दा अघिको हो। भिडियोमा उनले बोलेका केही अंशलाई काटेर भ्रामक बनाइएको छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add