तथ्यजाँच मिथ्या सूचना

चितवनमा मतगणना नहुँदै रवि लामिछानेको अग्रतासम्बन्धी मिथ्या सूचना भाइरल


चितवनमा मतगणना नहुँदै रवि लामिछानेको अग्रतासम्बन्धी मिथ्या सूचना भाइरल

२०७९ मंसिर ५ गते बिहानैदेखि चितवन क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रारम्भिक मतगणनामा अग्रता कायम गरेको दावी गर्दै मत संख्यासहित समाचार केही अनलाइन मिडियाले लेखेका छन्। सामाजिक सञ्जालमा पनि अग्रता कायम भएको स्टायटस केहीले लेखेका छन्।

तर हाम्रो तथ्य जाँचमा ती समाचार आउँदा चितवन २ मा मतगणना सुरु भएकै थिएन। बिहान ८ बजे बसेको सर्वपक्षीय बैठकले मंसिर ५ गते दिउँसो १ बजेदेखि मात्रै मतगणना सुरु गर्ने निर्णय गरेको थियो।

कहाँ कस्तो समाचार ?

नेपाल रिपब्लिक मिडियाद्वारा सञ्चालित राष्ट्रिय दैनिक नागरिकको अनलाइन संस्करण र अङ्ग्रेजी अनलाइन रिपब्लिका दुवैमा चितवन २ मा रवि लामिछानेको अग्रतासम्बन्धी समाचार छापिएको थियो।

नागरिकको अनलाइनमा सोमबार बिहान प्रकाशित समाचारमा लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाएको दावी गरिएको छ।

हेर्नुस् अर्काइभ संस्करण

त्यसैगरी माइरिपब्लिकाको बिहान ८ बजेर २७ मिनेटमा अपडेट गरिएको National Independent Party candidate Ravi Lamichhane leads by a wide margin in Chitwan-2 शीर्षकको समाचारमा लामिछानेले ९७८ भोट, उमेश श्रेष्ठले २११ भोट र कृष्णभक्त पोखरेलले २१९ भोट पाएको दावी गरिएको छ। हेर्नुस् अर्काइभ संस्करण

त्यसैगरी रातोपाटीले पनि चितवनमा मतगणना सुरु, राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता शीर्षकको समाचारमा लामिछानेले १०२ मत प्राप्त गरिसकेको उल्लेख गरेको छ। हेर्नुस् अर्काइभ संस्करण

यस्तै अर्को अनलाइन लोकान्तरले चितवनमा मतगणना सुरु, रवि लामिछानेको अग्रता शीर्षकको समाचार राखेको थियो। हेर्नुस् अर्काइभ संस्करण

अर्को अनलाइन नेपाललाइभले पनि चितवन- २ अपडेट : रवि लामिछानेको अग्रता, पछ्याउँदै उमेश श्रेष्ठ शीर्षकमा समाचार सोमबार बिहान राखेको थियो। हेर्नुस् अर्काइभ संस्करण

त्यसैगरी नेपाली न्युज नाम रहेको एउटा फेसबुक पेजमा नोभेम्बर १९ (मंसिर ३) मा ‘रबि लामिछाने चितवन देखि निर्बिरोध चयन हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना !’ शीर्षकमा सूचना राखिएको छ। उक्त फेसबुक पोस्टमा सुदृष्टि डट कमको लिङ्क राखिएको छ र त्यसमा सोमबार मध्याह्नसम्म २३ हजार रियाक्सन, ५९९ कमेन्ट र ९२ सेयर देखिन्छ।

के हो तथ्य ?

लामिछानेले अग्रता लिँदै गरेको समाचार आउँदा चितवन २ मा सर्वपक्षीय बैठक समेत बसेको थिएन। बैठकका लागि बिहान ८ बजेको समय निर्धारण गरिएको थियो।

यो विषयमा थप जानकारीका लागि हामीले चितवन २ मा निर्वाचन अधिकृतको कार्यालयले गरेको सर्वपक्षीय बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहरालाई सम्पर्क गरेका थियौँ। उनले दिउँसो १ बजेदेखि मात्रै मतगणना गर्ने निर्णय सर्वपक्षीय बैठकले गरेको जानकारी गराए।

राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक फेसबुक पेजले पनि दिउँसो १ बजेदेखि मात्रै मतगणना गर्ने निर्णय गरेको उल्लेख गरेको छ।

पत्रकार प्रतिमा सिलवालले बिहान १०:३४ सम्म चितवनका तीन वटै क्षेत्रमा मतगणना भइनसकेको भन्दै चितवन १ को ११ बजेबाट र २ को १ बजेबाट मतगणना सुरु हुने जानकारी दिएकी छिन्।

मतदान भएर मतगणना हुने भएकोले निर्विरोध निर्वाचित हुन सम्भव भएन।

तथ्य जाँच

दावी : चितवन क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा रवि लामिछानेको अग्रता।

दावीकर्ता : नागरिक, माइरिपब्लिका, रातोपाटी, नेपाललाइभ, लोकान्तर अनलाइन मिडिया र फेसबुक प्रयोगकर्ताहरु।

तथ्य : मिथ्या सूचना । सोमबार बिहान यो समाचार भाइरल हुँदासम्म चितवन क्षेत्र नम्बर २ मा मतगणना भइसकेकै थिएन।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add