- उमेश श्रेष्ठ
- मंसिर १, २०७९
दोलखा सदरमुकाममा बम विस्फोट भएको समाचार ‘मिथ्या’
दोलखा सदरमुकाम चरिकोटमा बम विस्फोट भएको खबर केही मिडियाले बुधबार दिएका छन्। समाचारमा भीमेश्वर नगरपालिका–३ स्थित सातदोबाटोमा विष्फोट भएकाे दावी गरिएको छ।
तर हाम्रो तथ्य जाँचमा यो खबर मिथ्या भएको देखिएको छ।
कहाँ कस्तो समाचार ?
अनलाइन मिडिया ‘फरकधार’ले २०७९ कात्तिक ३० गते ‘दोलखा सदरमुकाम चरिकोटमा बम विष्फोट’ शीर्षकमा समाचार राखेको छ।
विस्फोट भएको जस्तो देखिने एउटा फोटोसहित प्रकाशित यो समाचारमा भीमेश्वर नगरपालिका–३ स्थित सातदोबाटोमा विष्फोट भएकाे लेखिएको छ। हेर्नुस् अर्काइभ संस्करण।
त्यसैगरी अर्को अनलाइन अर्थरोजगारले पनि सोही शीर्षकमा सोही व्यहोराको समाचार राखेको छ। यसमा एउटा बजारको फोटो राखिएको छ। हेर्नुस् अर्काइभ संस्करण।
के हो तथ्य?
यो समाचार बारे थप जानकारीका लागि हामीले जिल्ला प्रहरी कार्यालय दोलखामा सम्पर्क गर्यौँ। त्यहाँको सञ्चार शाखाले दिएको जानकारी अनुसार विस्फोट भएको आवाज आएको भन्ने सूचना आए पनि अनुसन्धानमा बम पड्किएको देखिएको थिएन।
हामीले फरकधारमा समाचारसँगै प्रकाशित फोटोलाई पनि गुगलको रिभर्स इमेज सर्चबाट खोज्यौँ। त्यस क्रममा हामी जिम्बाब्वेको एउटा वेबसाइटमा सन् २०१८ मा प्रकाशित यो समाचारमा पुग्यौँ-
समाचारमा जिम्बाब्वेकै बुलावायोमा विस्फोट भएको उल्लेख गरिएको छ। हेर्नुस् अर्काइभ संस्करण
तथ्य जाँच
दावी : दोलखाको चरिकोटमा बम विस्फोट भयो।
दावीकर्ता : फरकधार र अर्थरोजगार अनलाइन।
तथ्य : मिथ्या समाचार। जिल्ला प्रहरी कार्यालय दोलखाको सञ्चार शाखाले बम विस्फोट नभएको जानकारी दिएको छ। फरकधारमा प्रकाशित समाचार पुरानो र विदेशको रहेको देखियो।