तथ्यजाँच भ्रामक सूचना

चुनावका लागि चार दिन सार्वजनिक विदा हुने समाचार भ्रामक


चुनावका लागि चार दिन सार्वजनिक विदा हुने समाचार भ्रामक

मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सरकारले चार दिन सार्वजनिक विदा दिने निर्णय गरेको समाचार मंगलबार फैलिएको छ।

सरकारी अखबार गोरखापत्र र दि राइजिङ नेपालका अनलाइन संस्करणले पनि यो समाचार दिएका छन्।

तर हाम्रो तथ्य जाँचमा यो समाचार भ्रामक देखिएको छ।

कहाँ कस्तो समाचार ?

सरकारी अखबार गोरखापत्रको अनलाइन संस्करणमा २९ कात्तिक २०७९ मंगलबार ‘निर्वाचनमा चार दिन बिदा दिने सरकारको निर्णय’ शीर्षकमा समाचार राखेको छ।

समाचारमा मंसिर २ देखि ५ गतेसम्म चार दिन सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको दावी गरिएको छ।

गोरखापत्रको अनलाइनमा प्रकाशित समाचारको स्क्रिनसट

त्यसैगरी अङ्ग्रेजी दैनिक दि राइजिङ नेपालको अनलाइन संस्करणमा पनि Govt. decides to grant four-day public holiday for elections शीर्षकमा समाचार राखिएको छ। हेर्नुस् अर्काइभ। 

यस्तै थाहा सञ्चार नेटवर्कमा आवद्ध देशका विभिन्न एफएममा एकसाथ प्रसारण हुने थाहाखबरले पनि निर्वाचनका लागि चार दिन सार्वजनिक विदा दिने सरकारको निर्णय भएको दावी गर्दै समाचार प्रसारण गरेको छ।

हाम्रा कुरा अनलाइनले भने सरकारले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर तीन दिन सार्वजनिक बिदा दिएको दावी गर्दै समाचार राखेको छ। हेर्नुस् अर्काइभ लिङ्क। 

सामाजिक सञ्जालमा अरु थुप्रै अनलाइनले पनि चार दिन सार्वजनिक विदा दिइएको दावी गरेका सूचना राखेका छन्।

के हो तथ्य ?

हामीले यस विषयमा थप जानकारीका लागि गृह मन्त्रालयको आधिकारिक विज्ञप्ति खोज्यौँ। गृह मन्त्रालयको आधिकारिक वेबसाइटमा विज्ञप्ति राखिएको छ। हेर्नुस् अर्काइभ लिङ्क।

प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा मंसिर २ देखि ५ गतेसम्म अर्थात् चार दिन मतदानस्थल रहेका शिक्षण संस्था/विद्यालयमा (मात्र) विदा हुने उल्लेख छ।

सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा भने मतदानको दिन मंसिर ४ र त्यसको भोलिपल्ट मंसिर ५ गते दुई दिन सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। मंसिर ३ गते शनिबार परेकोले लगातार तीन दिन विदा हुने देखिन्छ।

समाचारहरुले चार दिन सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा हुने अर्थ आउने भए पनि यो सही होइन। सरकारले मंसिर २ गते मतदान स्थल रहेका शिक्षण संस्था/विद्यालयमा मात्र विदा हुने निर्णय गरेको हो। मतदान स्थल नरहेका शिक्षण संस्था/विद्यालयमा त्यो दिन विदा नहुने भएकोले त्यसलाई सार्वजनिक विदामा राख्न मिल्ने देखिँदैन।

तथ्य जाँच

दावी : चुनावका लागि सरकारले चार दिन सार्वजनिक विदा दिने घोषणा गरेको छ।

दावीकर्ता : गोरखापत्र, दि राइजिङ नेपाल, थाहा खबर रेडियो

तथ्य : भ्रामक सूचना। सरकारले मतदान स्थल रहेका शिक्षण संस्था/विद्यालयमा मात्र मंसिर २ गते विदाको घोषणा गरेको हो। सरकारले मंसिर ४ गते र ५ गते दुई दिन मात्र सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add