तथ्यजाँच भ्रामक सूचना

नेपालको राजधानी काठमाडौँबाट सार्ने सूचना भ्रामक


नेपालको राजधानी काठमाडौँबाट सार्ने सूचना भ्रामक

सामाजिक सञ्जालहरुमा केही दिनदेखि नेपालको संघीय राजधानी काठमाडौँबाट सार्न लागिएको बारे सूचनाहरु छाएका छन्। ती सूचनाहरुमा दावी गरिए अनुसार राजधानी सार्न बहस भएका छन्, भित्रभित्रै सार्ने तयारी भएका छन्।

तर हाम्रो तथ्य जाँचमा ती सूचना मिथ्या रहेको देखिएको छ।

कसरी भयो भाइरल ?

संघीय राजधानी काठमाडौँबाट सार्ने बारे सूचना फेसबुकमा धेरै फैलिएको छ। ‘काठमाडौँबाट नेपालको राजधानी सार्ने’ शीर्षकमा ‘पोलिटिक्स दैनिक’ नामको अनलाइनमा खबर राखिएको छ। उक्त अनलाइनमा सञ्चालकको नाम र सम्पर्क ठेगाना केही पनि रहेको छैन। हेर्नुस् अर्काइभ लिङ्क। सो अनलाइनको फेसबुक पेजमा भने यो खबरमा बिहीबार मध्याह्नसम्म १ हजार ८ सय रियाक्सन, ३०६ कमेन्ट र १० सेयर देख्न सकिन्छ।

त्यसैगरी ‘रवि लामिछाने समर्थक’ नामको फेसबुक पेजले ‘काठमाडौँबाट नेपालको राजधानी सारेर कहाँ लैजाने तयारी हुँदैछ?’ शीर्षकमा इनेपालीसमाचार डट कममा प्रकाशित एउटा लिङ्क सेयर गरेको छ। उक्त लिङ्कमा १२ हजार रियाक्सन, १ हजार ७ सय कमेन्ट र १३२ सेयर देख्न सकिन्छ। अघिल्लो अनलाइनमा जस्तै यो अनलाइनमा पनि सम्पादकसहितका पत्रकारहरुको नाम र सम्पर्क ठेगाना उल्लेख छैन। हेर्नुस् अर्काइभ लिङ्क।

अनलाइन नेपाल नामको अर्को फेसबुक पेजमा ‘काठमाडौँबाट नेपालको राजधानी सार्ने बहस, कहाँबाट आयो राजधानी सार्ने कुरा” शीर्षकको खुल्दुलीपोस्ट डट कमको एउटा लिङ्क सेयर गरिएको छ। बिहीबार मध्याह्नसम्म यो लिङ्कमा ६ हजार ३ सय रियाक्सन, २३१ कमेन्ट र ६६ सेयर देखिन्छ। यो अनलाइनमा पनि सम्पादक र अन्य पत्रकारहरुको नाम र सम्पर्क ठेगाना उल्लेख छैन। हेर्नुस् अर्काइभ लिङ्क।

त्यसैगरी फेसबुकमा ‘भित्रभित्रै यसरी हुदैछ काठमाडौँबाट नेपालको राजधानी सार्ने तयारी’ शीर्षकका समाचार पनि देखिन्छन्। ‘नेपालको राजधानी सार्ने’ कीवर्ड राखेर फेसबुकमा सर्च गर्दा प्रशस्त लिङ्कहरु भेटिए।

यो बारे फेसबुकमा समाचार खोज्दै जाने क्रममा ‘धनकुटा खबर’ नामको भेरिफाइड फेसबुक पेजमा पनि हामी पुग्यौँ। १५ नोभेम्बर २०२२ मा यसमा ‘काठमाडौँबाट नेपालको राजधानी सारेर कहाँ लैजाने तयारी हुँदैछ?’ शीर्षकको धनकुटाखबर डट नेटको एउटा लिङ्क सेयर गरिएको छ। यो लिङ्कमा बिहीबार मध्याह्नसम्म ३ हजार रियाक्सन, १ हजार ३ सय कमेन्ट र २३ सेयर देखिन्छ। यो अनलाइनमा पनि सम्पादक लगायत पत्रकारहरुको परिचय र सम्पर्क ठेगाना राखिएको छैन। हेर्नुस् अर्काइभ लिङ्क।

के हो तथ्य ?

सामाजिक सञ्जालमा सेयर भएका राजधानी सार्ने बारे खबर राख्ने अनलाइनहरुमा सञ्चालक, सम्पादक र पत्रकारहरुको नाम त छैन नै, कहाँबाट सञ्चालित हुन् भनी ठेगानासमेत राखिएको छैन।

प्रकाशित खबरका तथ्यहरु पनि मिल्दैनन्। पोलिटिक्सदैनिक नामको अनलाइनमा प्रकाशित समाचारमा लेखिएको छ-  ‘निर्वाचन भएर प्रदेश सरकारहरु बनेको ३ वर्ष पुगिसक्दा पनि प्रदेश नम्बर १ र २ ले नाम नै राख्न सकेका छैनन्।’

जबकि प्रदेश सरकार बनेको ५ वर्ष पूरा भएर गएको मंसिर ४ मा नयाँ प्रदेश सभा सदस्यका लागि निर्वाचन भएर त्यसको नतिजासमेत आइसक्यो। प्रदेश नम्बर १ ले नाम राख्न नसकेको सही हो। तर प्रदेश नम्बर २ ले गत वर्ष अर्थात् २०७८ माघ ३ गते नै प्रदेशको नाम मधेश राखिसकेको छ।  हेर्नुस् प्रदेश राजपत्रमा प्रकाशित सूचना। 

समाचारमा सामान्य विषयमा पनि बेनामे स्रोत उल्लेख गरिएको छ जस्तै ‘एक जना वातावरणविद् भन्छन्’, एक जना सामाजिक अभियन्ता भन्छन्’।

प्रकाशित समाचारमा डा. बाबुराम भट्टराईले ‘काठमाडौँबाट राजधानी सारौँ’ भन्ने विषय उठान गरे भन्ने दावी गरिएको छ। हामीले यसबारे खोज्ने क्रममा डा. भट्टराईले गत वर्ष एउटा ट्विटमा यो विषय उल्लेख गरेको भेट्यौँ।

यसले हाल फेसबुकमा भाइरल भएको यो खबर पुरानो सन्दर्भको हो भन्ने देखियो। थप खोज्ने क्रममा हामी बिजपाटी डट कममा पुग्यौँ। यो अनलाइनमा अप्रिल १३, २०२१ मा ‘काठमाडौँबाट राजधानी सारेर कहाँ लैजाने ?’ शीर्षकमा एउटा सामग्री छापिएको छ। अहिले भाइरल भएका समाचारको कन्टेन्ट यसैबाट कपिपेस्ट भएको देख्न सकिन्छ। हेर्नुस् अर्काइभ लिङ्क

के छ राजधानी सम्बन्धी संविधानमा व्यवस्था ?

नेपालको संविधानको धारा २८८ मा राजधानी सम्बन्धी व्यवस्था गरिएको छ। उक्त धाराको उपधारा १ मा ‘नेपालको राजधानी काठमाडौँमा रहनेछ’ लेखिएको छ। उपधारा २ मा प्रदेशको राजधानी भने सम्बन्धित प्रदेश सभाको दुई तिहाइले बहुमतबाट निर्णय गरे बमोजिम हुने उल्लेख छ।

अतः नेपालको संघीय राजधानी सार्नका लागि धारा २८८ को उपधारा १ संशोधन गर्नुपर्ने हुन्छ। यसका लागि दुई तिहाई बहुमतसहित संविधान संशोधन गर्नुपर्ने हुन्छ।

राजधानी सार्ने बारे हाल कुनै बहस भएको छैन। पुराना, असान्दर्भिक समाचारलाई कपिपेस्ट गरी कोद्वारा सञ्चालित नखुलेका अनलाइन र फेसबुकबाट राजधानी सार्न लागेको सूचना भ्रामक रुपमा फैलाइएको देखिन्छ।

तथ्य जाँच

दावी : नेपालको राजधानी काठमाडौँबाट सारिँदैछ।

दावीकर्ता : विभिन्न अनलाइन तथा फेसबुक पेजहरु।

तथ्य : भ्रामक सूचना। पुराना र असान्दर्भिक सूचना कपिपेस्ट गरी सामाजिक सञ्जालबाट यसलाई फैलाइएको छ। अहिले राजधानी सार्नेबारे केही भएको देखिन्न।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add