तथ्यजाँच मिथ्या सूचना

के नेमकिपाले दुई प्रदेशको प्रदेश सभामा समानुपातिकमा शून्य मत पाएको हो?


के नेमकिपाले दुई प्रदेशको प्रदेश सभामा समानुपातिकमा शून्य मत पाएको हो?

नागरिक राष्ट्रिय दैनिकले २१ मंसिर २०७९ बुधबारको अङ्कमा ‘सकियो मतगणना’ शीर्षकको समाचार पहिलो पेजमा छापेको छ। समाचारको बाँकी अंश दोस्रो पेजमा पनि राखिएको छ। त्यसमा नेपाल मजदूर किसान पार्टी (नेमकिपा) ले प्रदेश १ र मधेश गरी दुई प्रदेशमा प्रदेश सभातर्फ समानुपातिकमा शून्य मत पाएको उल्लेख गरेको छ।

तर हाम्रो तथ्य जाँचमा नागरिकको यो दावी गलत देखिएको छ।

के छ समाचारमा ?

नागरिक राष्ट्रिय दैनिकको ‘सकियो मतगणना’ शीर्षकको समाचारमा ‘प्रदेश सभामा प्रत्यक्षतर्फ चुनाव जित्ने दलहरुले प्राप्त दलगम समानुपातिक मत’ उपशीर्षकमा टेबलसहितको तथ्याङ्क राखिएको छ।

उक्त टेबलमा नेमकिपाले प्रदेश १ र मधेसमा ० मत ल्याएको उल्लेख गरिएको छ। त्यसैगरी सबै प्रदेशको जोड्दा कूल ८१ हजार १८७ लेखिएको छ।

नागरिकमा प्रकाशित तथ्याङ्कको स्क्रिनसट

के हो तथ्य ?

हामीले यसबारे थप जानकारी पाउन निर्वाचन आयोगको वेबसाइटमा राखिएको तथ्याङ्क खोज्यौँ।

आयोगको वेबसाइट अनुसार प्रदेश १ मा नेपाल मजदूर किसान पार्टीले १ हजार ८ सय ८२ मत पाएको छ।

हेर्नुस् वेबसाइटको स्क्रिनसट-

त्यसैगरी मधेश प्रदेशको प्रदेश सभामा नेपाल मजदूर किसान पार्टीले २ हजार ७ सय ४६ मत पाएको आयोगको वेबसाइटमा उल्लेख छ। हेर्नुस् अर्काइभ लिङ्क

हेर्नुस् वेबसाइटको स्क्रिनसट-

अतः नागरिक दैनिकले प्रकाशित गरेको नेमकिपाको प्रदेश १ र मधेश प्रदेशमा शून्य मत रहेको तथ्याङ्क गलत देखिन्छ। सोही अनुसार दलगत जम्मा भन्दै नेमकिपाको राखिएको ८११८७ पनि गलत देखिन्छ।

तथ्य जाँच

दावी : नेपाल मजदूर किसान पार्टीले प्रदेश सभाको समानुपातिक प्रणालीतर्फको निर्वाचनमा प्रदेश १ र मधेश प्रदेशमा शून्य मत ल्याएको छ।

दावीकर्ता : नागरिक राष्ट्रिय दैनिक

तथ्य : मिथ्या सूचना। निर्वाचन आयोगको वेबसाइटमा उल्लेख भए अनुसार प्रदेश १ मा सो पार्टीले १८८२ र मधेश प्रदेशमा २७४६ मत पाएको छ।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add