गण्डकी तथ्यजाँच भ्रामक सूचना

के हो २१ लाख रुपैयाँमा स्याङ्जामा बनेको पुल भन्दै भाइरल भएको फोटोको तथ्य?


के हो २१ लाख रुपैयाँमा स्याङ्जामा बनेको पुल भन्दै भाइरल भएको फोटोको तथ्य?

स्याङ्जामा २१ लाख रुपैयाँ लागतको एउटा पुल बनेको तर पुल तर्ने कोही नभएको भन्दै एउटा फोटोसहितको पोस्ट सामाजिक सञ्जालमा भाइरल भएको छ। फोटोमा एउटा सानो काठे पुल देखिन्छ।

तर हाम्रो तथ्य जाँचमा यो भ्रामक देखिन्छ। उक्त पुलको बारेमा गलत व्याख्यासहित पोस्ट गरेको देखिएको छ।

फेसबुकमा साथीखबर नामको एउटा पेजले साथीखबरडटकममा प्रकाशित ‘स्याङजामा बन्यो २१ लाख लागतको पुल तर पुल तर्ने कोहि भएनन’ शीर्षकको एउटा लिङ्कसहितको पोस्ट गरेको छ। ३ जनवरी २०२३ मा प्रकाशित यो समाचारमा जनवरी २९ दिउँसोसम्म २ हजार ६ सय रियाक्सन, १५२ कमेन्ट र ४२ सेयर भएको देखिन्छ। हेर्नुस् अर्काइभ लिङ्क

सोही पेजले जनवरी २६ मा राखेको यही शीर्षक र लिङ्कसहितको अर्को पोस्टमा जनवरी २९ दिउँसोसम्म ४ हजार ८ सय रियाक्सन, २४८ कमेन्ट र ६२ सेयर देखिन्छ। हेर्नुस् अर्काइभ लिङ्क

के हो तथ्य ?

सो वेबसाइटमा क्लिक गरी हेर्दा शीर्षकबारे खासै केही लेखिएको छैन। पहिलो लाइनमा लेखिएको छ, ‘पुल स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा १७ लाख २२ हजार लागतमा १० दिनमै बनेको पुल। के कुरा सिकौं है स्याङ्जालिबाट सहि लागे सियर गरौ।’

यसबाहेक थप केही विवरण त्यसमा उल्लेख छैन।

उक्त वेबसाइटलाई न्युजपोर्टल जस्तो देखाइए पनि सञ्चालक वा पत्रकार अथवा सम्पादक कसैको पनि नाम र परिचय खुलाइएको छैन। वेबसाइट कहाँबाट सञ्चालित भन्नेसमेत खुलाइएको छैन।

२१ लाख लागतको पुल दावी गरी भाइरल बनाइएको फोटोबारे गुगलमा रिभर्स इमेज सर्च गरी खोज्दा हामी थाहाखबरमा २०७९ पुस १८ मा प्रकाशित यो समाचारमा पुग्यौँ।

हेर्नुस् थाहाखबरमा प्रकाशित समाचारको अर्काइभ लिङ्क। 

समाचारमा उल्लेख भए अनुसार यो पुल स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित काठेखोलामा बनेको हो। तर यसको लागत २० लाख रुपैयाँ नभएर ५ लाख २२ हजार ७१२ रुपैयाँ मात्र हो।

समाचारमा गाउँपालिका अध्यक्ष खिमबहादुर थापालाई उद्‍धृत गर्दै गाउँपालिकाले २ लाख ७७ हजार ८१२ र पर्यटन मन्त्रालयले २ लाख ४५ बजेट विनियोजन गरेको उल्लेख छ।

१० दिनमा बनेको ५ मिटर लामो पुलबाट ६३ घरपरिवार लाभान्वित भएको समाचारमा उल्लेख छ।

त्यसैगरी २०७९ पुस १९ गते गोरखापत्र दैनिकको अनलाइनमा ‘दस दिनमा बन्यो काठेपुल’ शीर्षकमा समाचार प्रकाशन भएको पनि हामीले भेट्यौँ। यो समाचारमा पनि यो पुल कालीगण्डकी गाउँपालिका–४, बिर्घा काठेखोलामा बनेको र यसका लागि कालीगण्डकी गाउँपालिकाको दुई लाख ७७ हजार ८१२ रुपियाँ र पर्यटन मन्त्रालयको दुई लाख ४५ हजार रुपियाँ गरी कुल पाँच लाख २२ हजार ८१२ रुपियाँमा निर्माण भएको उल्लेख छ।

भाइरल समाचारमा पुल तर्ने कोही भएनन् भन्ने दावी गरिए पनि गोरखापत्रको समाचारमा लेखिएको छ- ‘करिब पाँच मिटर लामो यो पुल झट्ट हेर्दा सामान्य लागे पनि चिफलडाँडाका स्थानीय बासिन्दा र विद्यार्थीलाई ओहोरदोहोर गर्न ठूलो राहत पुगेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो।’

हेर्नुस् गोरखापत्रमा प्रकाशित समाचारको अर्काइभ लिङ्क।

तथ्य जाँच

दावी : स्याङजामा बन्यो २१ लाख लागतको पुल, तर पुल तर्ने कोही भएनन्।

दावीकर्ता : साथीखबर अनलाइन र फेसबुक पेज

तथ्य : भ्रामक सूचना। थाहाखबर र गोरखापत्रले यही पुलको फोटोसहितको विस्तृत समाचार राखेका छन्। समाचार अनुसार पुल स्याङ्गजामा बनेको त हो, तर लागत भाइरल भएको सूचनामा जस्तो २१ लाख नभएर ५ लाख २२ हजार रुपैयाँमात्र हो। त्यसैगरी पुल तर्ने कोही भएनन् भनी गरिएको दावी पनि भ्रामक छ। पुलले स्थानीय बासिन्दा र विद्यार्थीहरुलाई ओहोरदोहोर गर्न राहत पुगेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापालाई उद्‍धृत गर्दै प्रकाशित समाचारमा लेखिएको छ।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add