- वसन्त खड्का
- फाल्गुन ४, २०७९
के सीके राउतले ‘आफू सकिएर भएपनि रवि लामिछानेलाई बचाउँछु’ भनेका हुन्?
जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समर्थन गर्दै आफू सकिएर भए पनि उनलाई बचाउँछु भनेको दावी गरिएको फेसबुक पोस्ट भाइरल भएको छ। ती पोस्टमा सीके राउतले बोल्दै गरेको युट्युबमा अपलोड गरिएको एउटा भिडियो पनि राखिएको छ।
तर हाम्रो तथ्य जाँचमा राउतले बोल्दै नबोलेको कुरा उल्लेख गरी मिथ्या सूचना फैलाएको देखिएको छ।
कसरी भयो भाइरल ?
फेब्रुअरी १३, २०२३ मा सीबीनेपाल नामको फेसबुक पेजबाट सीबीनेपाल डट कममा प्रकाशित एउटा सामग्री सेयर गरियो जसको शीर्षक छ- रवि लामिछानेलाई सीके राउतको साथ, भन्छन् आफू सकिएर भएपनि तपाईँलाई बचाउँछु रविजी (हेर्नुहोस् भिडियोसहित)
उक्त सामग्रीको थम्बनेलमा भने ठूलो अक्षरमा माथि ‘रविको लागि सडकमा उत्रन्छु सिके राउत’ र तल ‘बरु घाँटी काट्छु तर तपाईँको साथ छोड्दिन’ लेखिएको छ।
यो पोस्टमा बिहीबार दिउँसोसम्म २३ हजार रियाक्सन छ भने ७१७ वटा कमेन्ट र ६२१ पटक सेयर गरिएको देखिन्छ। अर्थात् यो सामग्री भाइरल भएको छ।
सीबीनेपाल डट कमको यो सामग्रीको लिङ्कलाई हामीले बिहीबार दिउँसो क्राउडट्याङ्गलबाट चेक गर्दा फेसबुकमा कूल २४ हजार ७३२ इन्टर्याक्सन भएको देखियो।
क्राउडट्याङ्गलको स्क्रिनसट
यो सामग्री ३७ वटा विभिन्न फेसबुक पेज वा ग्रुपमा सेयर भएको देखिन्छ। हेर्नुस् क्राउडट्याङ्गलको पूरा तथ्याङ्क।
क्राउडट्याङ्गलको इन्टर्याक्सनको तथ्याङ्क, यो सेयर गर्ने फेसबुक पेजहरुको कूल फलोअर्स संख्या ५५ लाखभन्दा बढी भएको र अधिकांश कमेन्ट लेख्नेहरुले शीर्षक पत्याएको देखिएकोले हामीले यो सामग्री भाइरल भएको निश्कर्ष निकाल्दै तथ्य जाँच गरेका हौँ।
सूचना विभागको दर्ता नम्बरसमेत राखिएको यो साइटमा राखिएको सामग्रीको दोस्रो अनुच्छेदमा सीके राउतले बोलेको भन्दै यस्तो दावी गरिएको छ-
सिके राउतले अहिले रविलाई साथ् दिएका छन्, उनले मिडिया सामु बोल्दै आफु सुकिएर भएपनि तपाईलाई बचाँउछु रवि जि, बरु घाँ;टी काट्छु तर तपाईको साथ छोड्दिन, भन्दै मिडिया सामु एस्तो बाचा गर्दै यो मुलुकमा रबि जस्तो मान्छे चाहिने जिक्र गरेका हुन् ।
सामग्रीको तेस्रो अनुच्छेददेखि भने कान्तिपुरमा माघ २२, २०७९ मा प्रकाशित ‘रविको ओज ३२ दिनमै ओरालो’ शीर्षकको समाचारबाट कपिपेस्ट गरिएको छ।
हेर्नुस् सीबीनेपालको अर्काइभ लिङ्क। हेर्नुस् कान्तिपुरको समाचारको अर्काइभ लिङ्क।
सीबीनेपालले उक्त सामग्रीमा एउटा युट्युब भिडियो पनि राखेको छ जसको शीर्षक राखिएको छ- ‘आफु सुकिएर भएपनि तपाईलाई बचाँउछु रवि जि : सिके रावत, बरु घाँटी काट्छु तर तपाईको साथ छोड्दिन CK Raut’
यो भिडियो युट्युबमा जनज्योति मिडिया नामको एकाउन्टबाट फेब्रुअरी ११, २०२३ मा अप्लोड गरिएको छ। भिडियोको थम्बनेलमा सीके राउतले ‘बरु घाँटी काट्छु तर तपाईँको साथ छोड्दिन, सडकमा उत्रिन्छु’ भनेको लेखिएको छ।
बिहीबार दिउँसोसम्म यो भिडियो १२ हजार पटक हेरिएको छ।
युट्युबको शीर्षक र थम्बनेल
के हो तथ्य ?
सीबीनेपालको भाइरल सामग्री र त्यसमा राखिएको युट्युब भिडियोमा सीके राउतले दावी गरिएको जस्तो बोली कहाँ, कुन कार्यक्रममा बोलेको केही उल्लेख गरेको छैन।
भिडियोको स्रोत खोज्ने क्रममा भिडियोका पृष्ठभूमिमा रहेको पर्दा, तराजु अङ्कित ब्यानर र मधुरो अक्षरमा देखिएको महाधिवेशन लेखिएको अक्षर तथा राउतले लगाएको पोशाकलाई आधार मानेर खोज्दा उक्त भिडियो तराजु चुनाव चिह्न रहेको विवेकशील साझा पार्टीको माघ २७ देखि २८ गतेसम्म काठमाडौँमा भएको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रको भिडियो भएको निश्कर्षमा हामी पुग्यौँ।
भाइरल सामग्रीमा रहेको भिडियोमा सीके राउतसहित डा. बाबुराम भट्टराईले पनि सम्बोधन गरेको देख्न सकिन्छ। उक्त दिनको कार्यक्रममा सीके राउतसहितका नेताहरुको छोटो सम्बोधन सहितको समाचारको भिडियो कान्तिपुर टेलिभिजनले माघ २७ गते आफ्नो युट्युब च्यानलमा अपलोड गरेको छ ।
कान्तिपुर टिभीको समाचारको लिंक
सोही दिनको करिब साढे दुई घण्टा लामो भिडियोलाई सूत्र टिभी नामको युट्युब च्यानलले पनि माघ २७ अर्थात् फेब्रुअरी १० मा अपलोड गरेको भेटियो। त्यसमा सीके राउतसहितका विभिन्न नेताहरुले सम्बोधन गरेको देख्न सकिन्छ।
सूत्र टिभीको युट्युब भिडियोको लिंक
भिडियोको १ घण्टा ३० मिनेटदेखि १ घण्टा ५० मिनेटसम्म करिब २० मिनेट राउतको सम्बोधन रहेको छ। हेर्नुस् यहाँ क्लिक गरी। हामीले राउतको सम्बोधन पूरै सुन्यौँ र पायौँ- त्यसमा उनले रविको नाम दुई पटक मात्र लिएका छन्। भिडियोको १ घण्टा ४२ मिनेटमा उनले भनेका छन्- ‘रविजीको वा रास्वपाको जुन अहिले देखिन्छ, त्यो तीन महिनाको जस्तो पार्टी देखिएला तर त्यो पछाडि चाहिँ रविजीलाई आफ्नो छवि बिल्ड गर्नका लागि, जनता जनता बीचमा गएर आफ्नो सम्पर्क बनाउनका लागि १० वर्षभन्दा बढी नै शायद् खर्चिनु भएको छ। त्यो कुरा चाहिँ भुल्नु हुन्न।’
भाइरल पोस्ट, भिडियोको शीर्षक वा थम्बनेलमा दाबी गरिए जसरी राउतले आफू सकिएर भएपनि रवि लामिछानेलाई बचाउँछु भनेको उक्त दिनका अन्य भिडियोहरु हेर्दा पनि देखिएन।
तथ्य जाँच
दावी : सीके राउतले रवि लामिछानेबारे आफू सकिएर भएपनि तपाईँलाई बचाउँछु, रविको लागि सडकमा उत्रन्छु, बरु घाँटी काट्छु तर तपाईँको साथ छोड्दिनँ भनेको।
दावीकर्ता : सीबीनेपाल र जनज्योति मिडिया युट्युब च्यानल।
तथ्यः मिथ्या सूचना। विवेकशील साझा पार्टीको महाधिवेशनको उक्त भिडियोमा सीके राउतले वैकल्पिक राजनीतिक शक्ति र रास्वपाका बारेमा बोले पनि भाइरल पोस्टहरुमा दावी गरिए जस्तो रवि लामिछानेबारे बोलेको देखिएन। त्यसैले यो दाबी गलत हो।