- वसन्त खड्का
- माघ २७, २०७९
के कान्तिपुर र न्युज २४ टिभीका प्रस्तोताले रवि लामिछानेबारे एउटै स्क्रिप्ट पढेका हुन् ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे लेखिएको एउटै स्क्रिप्ट दुई फरक प्रस्तोताले पढेको भिडियो केही दिन यता सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। केही भिडियोमा ती दुई प्रस्तोता फरक फरक टेलिभिजन च्यानलको रहेको दावी पनि गरिएको छ। तर हाम्रो तथ्य जाँचमा भिडियोलाई भ्रामक रुपमा व्याख्या गरेको देखिएको छ।
यस्तो छ भाइरल सामग्री
‘रवि लामिछाने सपोटर्स’ नामको फेसबुक पेजबाट पोस्ट गरिएको भिडियोमा एक पुरुष र एक महिला टिभी प्रस्तोताले रवि लामिछानेलाई सम्बोधन गर्दै एउटै सामग्री वाचन गरेको देख्न सकिन्छ।
भिडियोमा ‘स्क्रिप्टधरी सेम’ लेखिएको छ। ६ फेब्रुअरीको राति अपलोड भएको यो पोस्टमा १० फेब्रुअरीको रातसम्म ३२ सय रियाक्सन, ४ सयभन्दा बढी कमेन्ट र २४१ पटक सेयर भएको देखिन्छ।
१ लाख ६२ हजार भ्युज भएको उक्त भिडियोसहितको पोस्टमा गरिएका अधिकांश कमेन्टहरुमा पनि फरक-फरक टेलिभिजनमा एउटै स्क्रिप्ट पढेको आसय देखिन्छ।
उक्त पोस्टमा आएका कमेन्टका नमूना।
त्यस्तै कर्मा लामा लो नामको फेसबुक प्रोफाइलले सोही सामग्रीलाई न्यूज २४ को समाचारको स्क्रिप्ट र कान्तिपुर टिभीको समाचारको स्क्रिप्ट समान भएको दावी गर्दै पोस्ट गरेका छन्।
फेसबुक पोस्टको स्क्रिनसट।
यस्तो छ भाइरल भएको भिडियो-
के हो तथ्य?
फरक फरक टेलिभिजनमा एउटै स्क्रिप्ट प्रसारण भएको हो कि होइन भन्ने खोज्न हामीले भिडियोमा प्रयोग भएको ब्याकग्राउन्ड म्युजिकमा ध्यान दियौँ।
महिला प्रस्तोताले स्क्रिप्ट पढ्दै गरेको भिडियोमा ब्याकग्राउन्ड म्युजिक न्युज २४ टेलिभिजनको राति ८ बजे प्रसारण हुने बुलेटिनमा बज्ने गरेको हामीले पायौँ।
यही ‘क्लु’का आधारमा न्युज २४ टेलिभिजनको युट्युब च्यानलमा खोज्दै जाँदा हामीले २०२३ जनवरी २७ मा अपलोड भएको यो भिडियो भेट्यौँ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुस्।
भिडियोको सुरुमा महिला प्रस्तोताको वाचन भाइरल भएको भिडियोमा भएको वाचन समान छ। तर भाइरल भएको भिडियोलाई क्रप गरिएकोले अनुहार बाहेक अरु देखिन्न।
न्युज २४ को युट्युब च्यानलमा रहेको भिडियो (बायाँ) र भाइरल भिडियोको महिला प्रस्तोतामात्रै देखिने स्क्रिनसट।
त्यसैगरी भाइरल सामग्रीमा देखिएको पुरुष प्रस्तोताले वाचन गरेको सामग्री सोही टेलिभिजनको युट्युब च्यानलमा त्यसको भोलिपल्ट अर्थात् जनवरी २८ मा अपलोड भएको भेटियो। यो भने बिहान ७ बजेको समाचारमा प्रसारण भएको भिडियो रहेछ।
हेर्नुहोस् भिडियो
न्यूज २४ का कार्यक्रम संयोजक नवराज चालिसेले नेपालफ्याक्टचेकसँग कुरा गर्दै दुवै भिडियो आफ्नै टेलिभिजनको रहेको पुष्टि गर्दै एउटै टेलिभिजनको समाचार सामग्रीमा स्क्रिप्ट दोहोरिनु सामान्य अभ्यास भएको बताए।
उनका अनुसार महिला प्रस्तोता सुस्मा केसी श्रेष्ठ र पुरुष प्रस्तोता अनिल सुनाम न्युज २४ मा न्युज एङ्करका रुपमा कार्यरत छन्।
तथ्य जाँच
दावी : फरक-फरक टेलिभिजनका प्रस्तोताले रवि लामिछानेबारे एउटै स्क्रिप्ट वाचन गरे।
दावीकर्ता : सामाजिक सञ्जाल
तथ्यः भ्रामक सूचना। दुई फरक प्रस्तोताले एउटै स्क्रिप्ट वाचन गरेको सही हो। तर दावी गरिए जस्तो यी दुई फरक टिभी च्यानलका प्रस्तोता नभएर एउटै अर्थात् न्युज २४ टेलिभिजनका प्रस्तोता हुन्।