तथ्यजाँच मिथ्या सूचना

के हो राष्ट्रपतिबारे सेतोपाटीमा छापिएको भन्दै भाइरल भएको स्क्रिनसटको तथ्य?


के हो राष्ट्रपतिबारे सेतोपाटीमा छापिएको भन्दै भाइरल भएको स्क्रिनसटको तथ्य?

राष्ट्रपति रामचन्द्र पौडेलको फोटो सहित उनले आफ्नो पहिलो काम भारतबाट नेपाल आएर बसेकालाई नागरिकता दिने हुनेछ शीर्षक लेखिएको सेतोपाटी डट कमसमेत देखिने एउटा स्क्रिनसट अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। तर हाम्रो तथ्य जाँचले उक्त सामग्री मिथ्या सूचना भएको देखिएको छ।


के छ भाइरल सामग्रीमा ?

भाइरल सामग्रीमा राष्ट्रपति रामचन्द्र पौडेलको तस्विर छ। तस्बिरमुनि ‘मेरो पहिलो काम भारतबाट नेपाल आएर बसेकालाई नागरिकता दिने हुनेछ–रामचन्द्र पौडेल !’ शीर्षक राखिएको छ। शीर्षकभन्दा माथि अङ्ग्रेजीमा setopati.com लेखिएको देखिन्छ।

यो स्क्रिनसट फेसबुक र ट्विटर प्रयोगकर्ताहरुले सेयर गरिरहेका छन्।

राजेन्द्रप्रसाद सापकोटा नाम राखिएको ट्विटर एकाउन्टबाट यो स्क्रिनसटसहित गरिएको ट्विटमा बिहीबार दिउँसोसम्म ३२ पटक रिट्विट, २१ पटक कोट ट्विट, ३५ कमेन्ट र १०४ लाइक तथा २७ हजार भ्युज देखिएको छ।

हेर्नुस् अर्काइभ लिङ्क।

फेसबुकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रोफाइल पिक्चर राखिएको निकिता कान्छी नामको एकाउन्टबाट सेयर यही स्क्रिनसटमा बिहीबार दिउँसोसम्म ८६ कमेन्ट, ८० सेयर र ३१६ पटक रियाक्ट भएको देखिन्छ।

हेर्नुस् अर्काइभ लिङ्क। 

यसबाहेक अरु थुप्रैले पनि फेसबुकमा यो स्क्रिनसट राखेका छन्। हेर्नुस् स्क्रिनरेकर्ड

के हो तथ्य ?

सेतोपाटीमा छापिएको जस्तो देखिने स्क्रिनसटको तथ्य जाँच गर्ने क्रममा हामीले सबैभन्दा पहिला यो हेडलाइन राखेर गुगलमा सामान्य र सेतोपाटीमा मात्र एडभान्स सर्च दुवै उपायबाट खोज्यौँ। तर हामीले कुनै नतिजा फेला पारेनौँ।

भाइरल स्क्रिनसटमा सेतोपाटीको वेबएड्रेस पनि उल्लेख भएकाले हामीले सो अनलाइनका सम्पादक सुदीप श्रेष्ठसँग जिज्ञासा राख्यौँ।

‘यस किसिमको कुनै सामग्री हाम्रो अनलाइनमा प्रकाशन भएको छैन,’ श्रेष्ठले भने। उनले भाइरल स्क्रिनसटमा देखिने फन्ट र सेतोपाटीको फन्ट पनि अमिल्दो रहेको जानकारी दिए।

हामीले राष्ट्रपतिका प्रमुख स्वकीय सचिव सुरेश चालिसेसँग जिज्ञासा राख्यौँ।  राष्ट्रपतिले यस किसिमको कुनै अभिव्यक्ति नदिएको उनले बताए।  गलत उद्देश्य राखेर नक्कली समाचारको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल गरिएको उनले प्रष्ट्याए।

राष्ट्रपति पौडेलको भनाईसहित भाइरल भइरहेको सामग्रीमा प्रयोग भएको तस्विर पनि अहिलेको नभएर पौडेल राष्ट्रपति हुनुभन्दा पहिले कै भएको देखिएको छ। हामीले भाइरल स्क्रिनसटमा भएको फोटोलाई गुगल रिभर्स इमेज सर्च गरेर हेर्‍यौँ। यही तस्विर नोभेम्बर २२, २०२२ मा नेपाललाइभ टुडेले प्रकाशन गरेको थियो।

तनहुँ १ मा रामचन्द्र पौडेलको अग्रता कायमै शीर्षकको समाचारमा उक्त तस्वीर प्रयोग गरिएको छ, जसमा नेपाललाइभको लोगोसमेत छ। भाइरल सामग्रीमा सोही तस्विरलाई क्रप गर्दै दायाँबाट बायाँ फ्लिप गरेर प्रयोग भएको देखिन्छ।

हेर्नुस् नेपाललाइभ टुडेमा प्रयोग भएको तस्विरसहितको समाचारको लिंक

यसअघि पनि आम निर्वाचनका बेला स्थापित मिडियाका अनलाइनमा प्रकाशन भए झैँ देखिने मिथ्या स्क्रिनसट भाइरल भएका थिए जसको हामीले तथ्य जाँच गरेर मिथ्या भएको निश्कर्ष निकालेका थियौँ। हेर्नुस् त्यतिबेलाको सामग्री। 

तथ्य जाँच

दावी :  ‘मेरो पहिलो काम भारतबाट नेपाल आएर बसेकालाई नागरिकता दिने हुनेछ–रामचन्द्र पौडेल !’ शीर्षकको सेतोपाटी उल्लेख भएको समाचार जस्तै देखिने स्क्रिनसट

दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता

तथ्यः मिथ्या सूचना। यसलाई सेयर गर्ने कसैले पनि पूरा समाचार वा समाचारको लिङ्क सेयर गरेका छैनन्। सेतोपाटीमा यस्तो समाचार प्रकाशन भएको हामीले खोज्दा भेटेनौँ। सेतोपाटीका सम्पादक सुदीप श्रेष्ठले पनि त्यस्तो सामग्री आफूहरुले प्रकाशन नगरेको बताए। त्यसैले सामाजिक सञ्जालमा भाइरल भएको सामग्री मिथ्या भएको निष्कर्षमा हामी पुग्यौँ।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add