- वसन्त खड्का
- बैशाख १०, २०८०
रास्वपाले तनहुँमा एमालेलाई सघाउने दावी गरिएको स्क्रिनसट नक्कली
प्रतिनिधि सभाको रिक्त तीन स्थानका लागि २०८० वैशाख १० गते भइरहेको उपनिर्वाचनको अघिल्लो साँझदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँमा एमालेलाई सघाउने सहमति भएको दावी गरिएको सामग्री सामाजिक सञ्जालमा फैलिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेजबाट पोस्ट भएजस्तो गरी राखिएको सामग्री नक्कली भएको हाम्रो तथ्य जाँचले देखाएको छ।
के छ ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भेरिफाइड फेसबुक एकाउन्टबाट पोस्ट भएको जस्तो देखिने गरी स्क्रिनसट गरिएको सामग्रीमा लेखिएको छ, ‘एमाले र रास्वपाको सहमति अनुसार तनहुँमा एमालेलाई सघाउने निर्णय गरेका छौँ। केही बाध्यात्मक परिस्थिति सृजना भएको कारणले यो निर्णय गर्नुपरेको हो, यसको लागि हाम्रा शुभचिन्तकहरुसँग हामी माफी माग्दछौँ।’
उक्त सामग्री लामिछानेको आधिकारिक फेसबुक एकाउन्टबाट पोस्ट गरिएको हो भन्ने पार्नका लागि स्क्रिनसटमा ४६०० सय रियाक्सन, ३५० कमेन्ट र १७५ सेयर भएको जस्तो देखिने बनाइएको छ ।
सामग्रीको स्क्रिनसट लिंक अर्काइभ लिंक
के हो तथ्य ?
हामीले चितवनमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसित कुरा गर्यौँ। उनले आफूले फेसबुकमा यस्तो नलेखेको र यस्तो सहमति पनि नभएको बताए।
हामीले रविको भेरिफाइड फेसबुक एकाउन्ट हेर्यौँ। त्यहाँ एमाले र रास्वपाबीच सहमति भएको सामग्री पोस्ट भएको पाइएन।
त्यसैगरी हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक फेसबुक पेजमा पनि हेर्यौँ। त्यहाँ पनि उक्त स्क्रिनसटमा दावी गरिएजस्तो रास्वपाले उपनिर्वाचनमा तनहुँमा एमालेलाई सघाउने भनेर निर्णय गरेको आधिकारिक सूचना वा जानकारी थिएन।
बरु रवि लामिछाने स्वयंले वैशाख १० गते बिहान आफ्नो आधिकारिक फेसबुक एकाउन्टबाट एउटा भिडियो सन्देश पोस्ट गर्दै लेखेका छन्, ‘रास्वपाले कसैसँग चुनावी तालमेल गरेको छैन।’
दुई मिनेट दुई सेकेन्डको भिडियोमा उनले थप भनेका छन्, ‘आदरणीय महानुभावहरु अहिले विभिन्न फेकन्यूजहरु ठाउँठाउँमा आएर कायरहरुले चुनावबाट प्रतिस्पर्धा गर्न नसकेर नक्कली न्यूजहरु बनाएर, फेकन्यूजका कारखानाहरु चलाएर हाम्रो समर्थन कुन दललाई यो दललाई भनेर गलत सूचनाहरु प्रवाह गरिरहेका छन्। ती गलत सूचनाको पछि नलाग्नुहोला। ती हारेको मानसिकता लिएका मान्छेहरुको पछि नलाग्नुहोला।’
उनले सो भिडियोमा यो कुरालाई ध्यानमा राख्न निर्वाचन आयोग र प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराएका छन्।
त्यसैगरी रास्वपाकी नेतृ एवं प्रतिनिधि सभा सांसद सुमना श्रेष्ठले पनि पार्टीका बारेमा भ्रम सृजना गर्ने प्रयास भइरहेको भन्दै फेसबुकबाट भिडियो सन्देश पोस्ट गरेकी छिन्। उक्त पोस्टमा उनले लेखेकी छिन्, ‘रास्वपाका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस खालका झुठा पोष्टहरूप्रति सम्बन्धित सबै सजग रहनुहुन अनुरोध गर्दछौं। सामाजिक सञ्जालहरूको दुरुपयोग गरी भइरहेका यस खालका अफवाह फैलाउने/झुठको खेती गर्ने हरूको निगरानी तथा कानुन बमोजिम कारवाही गरियोस् भनी सम्मानित निर्वाचन आयोग तथा अन्य सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराउन चाहन्छौं। स्वच्छ मनले स्वस्थ प्रतिस्पर्धा मार्फत् जनमत हासिल गरी देशको सेवामा समर्पित होओैं। यस्तो गलत अभ्यासले आजका नेपालीलाई भ्रमित बनाउन सक्दैन भन्ने सबैले बुझ्नुपर्छ।’
श्रेष्ठले फेसबुकमार्फत दिएको भिडियो सन्देशको लिंक
राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक फेसबुक पेजमा पार्टीका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने, विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएको विषयमा निर्वाचन आयोगलाई इमेलमार्फत् ध्यानाकर्षण गराएको उल्लेख छ।
यसअघि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को मतदानको अघिल्लो दिन स्थापित मिडियाका अनलाइनहरुमा प्रकाशन भएको झैँ देखिने केही स्क्रिनसटहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए। सेतोपाटी, उज्यालो, नयाँ पत्रिका लगायतका अनलाइनहरुमा प्रकाशित झैँ देखिने समाचारहरुमा माओवादीलाई भोट नदिन कांग्रेसले सर्कुलर गरेको दावी गरिएको थियो। ती स्क्रिनसट पनि मिथ्या रहेको तथ्य जाँच नेपालफ्याक्टचेकले गरेको थियो। हेर्नुस् लिङ्क।
यस्ता स्क्रिनसट एचटिएमएल कोडबारे सामान्य जानकारी राख्ने जोकसैले सहजै बनाउन सक्छन्।
तथ्य जाँच
दावी: एमाले र रास्वपाको सहमति अनुसार तनहुँमा एमालेलाई सघाउने निर्णय भएको भन्दै रास्वपाका सभापति रवि लामिछानेले फेसबुकमा लेखे।
दावीकर्ताः सामाजिक सञ्जाल प्रयोगकर्ता
तथ्य : मिथ्या सूचना। रास्वपाका सभापति रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक फेसबुक पेज कतै पनि उक्त स्क्रिनसटमा दावी गरिएको जस्तो सामग्री पोस्ट गरिएको पाइएन। बरु रवि आफै र उनको पार्टी रास्वपाले समेत उपनिर्वाचनमा कहीँकतै सहमति वा तालमेल नभएको प्रष्ट पार्दै भाइरल सामग्रीमा सत्यता नभएको प्रष्ट पारेकाले यो सामग्री मिथ्या भएको निश्कर्षमा हामी पुग्यौँ।