तथ्यजाँच मिथ्या सूचना

के आरजु देउवा भारत हुँदै सिंगापुर भागेकी हुन् ?


के आरजु देउवा भारत हुँदै सिंगापुर भागेकी हुन् ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान हुँदै गर्दा प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भारतको पटना, दिल्ली हुँदै सिंगापुर भागेको दावी गरिएको एउटा भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ।

तर हाम्रो तथ्य जाँचमा यो मिथ्या सूचना भएको भेटिएको छ। आरजु हिजो हेटौडाका दुई कार्यक्रममा उपस्थित रहेको र हिजै काठमाडौँ फर्किसकेको हाम्रो तथ्य जाँचमा खुलेको छ। हामीले आरजुलाई काठमाडौँमै भेटेर उनीसँग कुरा पनि गरेका छौँ।

के छ भाइरल भिडियोमा ?

स्टार अनलाइन न्युज नाम रहेको फेसबुक पेजमा राखिएको भाइरल भिडियोमा ‘पक्राउ पर्ने डरले भारत फरार भइन् आरजु, पट्ना, दिल्ली हुँदै सिंगापुर भागेको खुलासा’ शीर्षक राखिएको छ। हेर्नुस् फेसबुक लिङ्क

उक्त भिडियोमा एक महिला प्रस्तोताले वाचन गरेको मुख्य अंश यस्ता छन‍्-

‘आरजु भारत भागेको गोप्य सूचना सार्वजनिक भएको छ’, ‘आरजुलाई नाटकीय ढंगबाट फरार गराइएको समाचार सार्वजनिक भएको छ’, टोपबहादुर रायमाझीलाई एमाले अध्यक्ष केपी ओलीले भगाउन सफल भएका छन् भने आरजु राणा देउवालाई शेरबहादुर देउवाले भगाउन सफल भएका हुन्’, देउवापत्नी राणा वीरगञ्ज पर्सास्थित नेपाली कांग्रेसका नेता अजय चौरसियाको छोराको विवाह समारोहमा सहभागी भएकी थिइन्…चौरसियाकै मिलेमतोमा वीरगञ्जबाट रक्सौल हुँदा उनलाई गाडीमा पटना पुर्‍याएर पटनाबाट दिल्ली पठाउने प्लेन बुक गरेर दिल्ली पठाइएको खुलेको हो र हाल आरजु दिल्ली लुकेर बसेको बताइन्छ। दिल्लीबाट ५ बजेर १५ मिनेटमा आरजु सिंगापुर उडिसकेको र उनी सिंगापुरसम्म पुग्ने बताइएको छ। आरजु नेपालबाट सम्भव नभएपछि दिल्लीबाट सिंगापुरको यात्रा गरेकी हुन्’

बिहीबार राति ९:४२ मा फेसबुकमा अपलोड गरिएको यो भिडियोमा शुक्रबार बिहान ११ बजेसम्म २१ हजार रियाक्सन, ६७ सय सेयर, १३ सय कमेन्ट देखिन्छ भने ६ लाख १५ हजार पटक यो भिडियो हेरिएको छ।

हेर्नुस् भिडियोको स्क्रिनरेकर्ड-

फेसबुकमा अन्य थुप्रै पेज र प्रोफाइलमार्फत् पनि यो भिडियो फैलिएको छ। हेर्नुस् स्क्रिनरेकर्ड

के हो तथ्य ?

अपडेट : यो तथ्यजाँच प्रकाशित भएपछि हामीले आरजु राणा देउवालाई काठमाडौँस्थित उनी हाल बसिरहेको निवासमा भेटेर कुराकानी गरेका छौँ। हेर्नुस् भिडियो-

यो विषयमा तथ्य जाँचका लागि हामीले सुरुमा आरजु राणा देउवाको आधिकारिक फेसबुक पेज हेर्‍यौँ। त्यहाँ उनले हिजो (बिहीबार) दिउँसो १ बजेर ३८ मिनेटमा फेसबुकमा पोस्ट गरेकी थिइन्।

फेसबुकमा उनले प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशको आयोजनमा भएको अन्तरक्रिया कार्यक्रममा आफूलाई प्रमुख अतिथिको आतिथ्यता प्रदान गरेको उल्लेख गरेकी छिन्।

फेसबुक लिङ्क

हामीले फेसबुकमा अपलोड गरिको फोटोमा आरजु र भित्तामा कार्यक्रम भएको मिति वैशाख २८ र स्थान हेटौडा पनि देख्यौँ।

यो विषयमा थप जानकारीका लागि हामीले कार्यक्रमका आयोजक प्रदेश नीति तथा योजना आयोगका  प्रवक्ता शुकदेव सापकोटासित मोबाइलमा सम्पर्क गर्‍यौँ। उनले कार्यक्रमको आयोजना भएको भए पनि कार्यक्रममा आफू सहभागी नभएकोले को-को उपस्थित थिए तत्काल बताउन असमर्थ भएको बताए।

त्यसपछि हामीले हेटौडास्थित ‘समृद्ध समाज’ दैनिकका प्रकाशक तथा सम्पादक सुरेश श्रेष्ठसित सम्पर्क गर्‍यौँ। उनले हिजो बिहीबार आरजु राणा देउवा उक्त कार्यक्रममा उपस्थित भएको पुष्टि गरे।

सम्पादक सुरेश श्रेष्ठका अनुसार आरजु हिजो हेटौडाका दुई कार्यक्रममा उपस्थित थिइन्। उनले हिजै हेटौडामा रहेको स्वदेशी मार्टको पनि उद्घाटन गरेकी थिइन्।

सुरेशका अनुसार बुधबार मार्टले प्रेस मिट गरेर बिहीबार उद्घाटनमा आरजु आउने जानकारी दिइएको थियो।

उद्घाटनको बारेमा आरजुले पनि आफ्नो फेसबुकमा फोटो राखेकी छिन्। मार्ट उद्घाटनको फोटो भने आज शुक्रबार बिहान ७ बजेर ५८ मिनेटमा मात्र अपलोड गरिएको छ।

हेर्नुस् फेसबुक लिङ्क। 

यी कार्यक्रमको समाचार हेटौडाबाट प्रकाशित हुने स्थानीय पत्रिकाले पनि आज लेखेका छन्। हामीले प्राप्त गरेको  ‘साझा कुरा’ दैनिकका दुई समाचारमा आरजुको फोटो र नाम देखिन्छ।

प्रदेश नीति तथा योजना आयोगको आयोजनामा भएको कार्यक्रममा आरजु सहभागी भएको बारे ‘साझा कुरा’ दैनिकमा छापिएको समाचारको कटिङ

हिजो हेटौडास्थित स्वदेशी मार्टको उद्घाटन आरजुले गरेको बारे ‘साझा कुरा’मा छापिएको समाचारको कटिङ।

कहाँ छिन् आरजु अहिले ?

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनको टिममा ‘सञ्चार विज्ञ’ रहेका गोविन्द परियारका अनुसार आरजु राणा देउवा हेटौडाको कार्यक्रम सकाएर हिजै काठमाडौँ फर्किसकेकी छिन्।

‘उहाँ सिमराबाट बुद्ध एयरको उडानबाट काठमाडौँ फर्कने कार्यक्रम थियो। तर प्लेन छुटेकोले गाडीबाट हिजो काठमाडौँ आउनु भएको थियो, भाइरल भएको समाचारमा कुनै सत्यता छैन’, परियारले नेपालफ्याक्टचेकलाई बताए।

वीरगञ्जमा एउटा पारिवारिक कार्यक्रममा सहभागी हुन उनी अस्ति त्यहाँ पुगेको र त्यहाँबाट हिजो हेटौडाका कार्यक्रममा सहभागी हुँदै हिजै काठमाडौँ फर्केको परियारको कथन थियो।

परियारका अनुसार आरजु आज प्रतिनिधि सभाको बैठकमा सहभागी हुनेछिन् र समय मिलेमा आज बोल्ने तयारी पनि छ।

तर, प्रतिनिधि सभाको वेबसाइटमा राखिएको जानकारी अनुसार आज प्रतिनिधि सभाको बैठक छैन। प्रतिनिधि सभाको अर्को बैठक जेठ १ गते सोमबार निर्धारण गरिएको छ।*

तथ्य जाँच

दावी : पक्राउ पर्ने डरले भारत फरार भइन् आरजु, पट्ना, दिल्ली हुँदै सिंगापुर भागेको खुलासा

दावीकर्ता : स्टार अनलाइन न्युज (फेसबुक पेज)

तथ्य : मिथ्या सूचना। हामीले उनलाई शुक्रबार काठमाडौँमै भेटेर भिडियोसमेत बनाएका छौँ। दावी गरिए जस्तो उनी वीरगञ्ज पुगेको देखियो तर त्यसपछि बिहीबार भाइरल सूचनामा दावी गरिए जस्तो भारत गएको नभई हेटौडाका दुई कार्यक्रममा सहभागी भएको हेटौडाका पत्रकार, हेटौडाका पत्रिका र प्राप्त फोटोले पुष्टि गर्छ। तसर्थ आरजु भारत हुँदै सिंगापुर भागेको भाइरल सूचनामा सत्यता देखिँदैन।

[*स्पष्टताका लागि थपिएको : यस तथ्य जाँचमा गोविन्द परियारले आज आरजु प्रतिनिधि सभाको बैठकमा सहभागी हुने बताएको मात्र उल्लेख गरिएको थियो। तर प्रतिनिधि सभाको आगामी बैठक जेठ १ गते सोमबार मात्र हुने निर्धारण भएको प्रतिनिधि सभाको वेबसाइटमा उल्लेख भएकोले स्पष्टताका लागि यो जानकारी थपिएको छ।]

[** थप अपडेट गरिएको : तथ्य जाँच प्रकाशन भएपछि हामीले आरजुलाई उनकै निवासमा भेटेर कुराकानी गरेको भिडियो पनि अपडेट गरेका छौँ]


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add