तथ्यजाँच मिथ्या सूचना वागमती

एलन मस्ककी रोबोट गर्लफ्रेन्ड ? के हो भाइरल फोटोको तथ्य?


एलन मस्ककी रोबोट गर्लफ्रेन्ड ? के हो भाइरल फोटोको तथ्य?

सामाजिक सञ्जालमा अहिले केही फोटो भाइरल भएका छन् जसमा संसारकै धनी व्यक्तिमध्ये एक एलन मस्क र एक रोबोट युवती देखिन्छन्। एलन मस्क आफ्नी रोबोट प्रेमिकासँग रमाउँदै गरेको दावी फोटोसँगै भाइरल भएको पोस्टमा गरिएको छ।

तर हाम्रो तथ्य जाँचले सो फोटो साँच्चिकै नभएर एआई (आर्टिफिसियल इन्टेलिजेन्स) बाट बनाइएको फोटो भएको खुलेको छ।

के छ भाइरल पोस्टमा ?

समिर लम्साल नामको २ लाखभन्दा बढी फलोअर्स भएको फेसबुक पेजमा ‘संसारकै धनी व्यक्ति एलन मस्क आफ्नो रोबोट प्रेमिकासँग रमाउँदै’ क्याप्सन राखेर चार वटा फोटो राखिएको छ।

२०२३ मे १७ गरिएको यो पोस्टमा मे १९ साँझसम्म ३८ सय रियाक्सन, ३१९ कमेन्ट र ६५ सेयर देखिन्छ।

न्युजपोर्टल अर्थतन्त्र डट कमको फेसबुक पेजमा पनि सोही विवरणका साथ यी चार फोटो राखिएको छ। उक्त पोस्टमा ३ सयभन्दा बढी रियाक्सन छ।

फेसबुकमा अरु थुप्रैले पनि यही विवरणका साथ यी फोटोहरु सेयर गरिरहेका छन्। हेर्नुस् स्क्रिनरेकर्ड-

के हो तथ्य ?

एलन मस्कको सामाजिक सञ्जाल र अन्य मूलधारका मिडिया कुनैमा पनि यसबारे समाचार हामीले भेटेनौँ।

हामीले यी फोटोहरुलाई रिभर्स इमेज सर्च गर्ने क्रममा थाहा पायौँ कि यी फोटोहरु art_is_2_inspire नाम गरेको इन्स्टाग्राम अकाउन्टबाट पहिलो पटक अपलोड भएका थिए।

भाइरल भएका मध्ये दुई वटा फोटो यो अकाउन्टबाट मे ४ तारिखमा अपलोड भएको भेटियो।

उनी Guerrero Art नामको फेसबुक पनि चलाउँछन्। सोही फेसबुकबाट AI Art Universe नामको फेसबुक ग्रुपमा मे ४ मा नै एलन मस्क र रोबोटका फोटोहरु राखिएका छन्। त्यसमा बाँकी भाइरल भएका बाँकी दुईसहित अन्य फोटोहरु पनि देख्न सकिन्छ।

हेर्नुस् फेसबुक ग्रुपको लिङ्क। 

फेसबुकमा गरिएको पोस्टमा एआईमा प्रयोग गरिएको प्रम्प्टसमेत राखिएको छ।

हामीले इन्स्टाग्राममा art_is_2_inspire सित सम्पर्क गरी यसबारे जानकारी माग्यौँ। उनले ती फोटोहरु एआईबाट आफूले बनाएको पुष्टि गरे।

तथ्य जाँच

दावी : एलन मस्कको रोबोट गर्लफ्रेन्ड छ।

दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्य : मिथ्या सूचना। भाइरल भएका फोटोहरु आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट बनाइएको सो फोटो बनाउने जेभियर आर्टले पुष्टि गरेका छन्। उनले art_is_2_inspire युजरनेमबाट इन्स्टाग्राममा राखेको र  Guerrero Art ले एआई आर्ट युनिभर्स नामको फेसबुक ग्रुपमा राखेका ती फोटोहरुमा पनि एआईबाटै बनाइएको उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add