तथ्यजाँच मिथ्या सूचना

बालकृष्णको घरको ढोका फुटाउँदै गरेको भन्दै भाइरल भएको भिडियो स्पेनको


बालकृष्णको घरको ढोका फुटाउँदै गरेको भन्दै भाइरल भएको भिडियो स्पेनको

नेपाल प्रहरीले बुधबार पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई घरबाटै पक्राउ गर्‍यो। योसँगै रातोपाटी लगायतका केही अनलाइन मिडियाले उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले घरको ढोका फुटाएको दावी गर्दै समाचार लेख्यो। 

योसँगै सामाजिक सञ्जालमा उनको घरको ढोका फुटाउँदै गरेको दावी गरिएका भिडियो भाइरल हुन थाल्यो। तर हाम्रो तथ्य जाँचले त्यो भिडियो नेपालको नभएर स्पेनको भएको देखिएको छ।

के थियो भाइरल भिडियोमा ?

@natureloverno1 युजर नेम भएको टिकटक प्रयोगकर्ताले बुधबार अपलोड गरेको भिडियोमा ‘खाडले ढोका नखोलेपछि ढोका फोरेर पक्राउ गरिएको छ’ लेखिएको छ। भिडियोमा बालकृष्ण खाँण र उनकी श्रीमती मञ्जुको सानो फोटो पनि राखिएको छ। भिडियोको सुरुमा बर्दी लगाएका सुरक्षाकर्मी जस्ता देखिने व्यक्तिले काठको जस्तो देखिने वस्तुले ढोकामा ड्याङड्याङ हान्दै गरेको देखिन्छ।

भिडियोमा पुरुष आवाजमा ‘बाल खाँडेको घर फुटाएको है’ भनिएको छ। त्यसपछि भिडियोमा महिला आवाज सुनिन्छ। महिला आवाजले घटना बारे बयान गर्दै ‘प्रहरीले ढोका फुटाएर उनको नजिक पुगेको थियो’ भन्छिन्।

त्यसपछि फेरि अघिकै ढोकामा हान्दै गरेको भिडियोसहित पुरुष आवाज सुनिन्छ, ‘निस्किनै भएन…ढोका फुटाएर निकाल्नु पर्‍यो।’

बिहीबार बिहान ११ बजेसम्म टिकटकको यो भिडियोमा ९ लाख ५३ हजार भ्युज, ४४ हजार लाइक, १९५६ कमेन्ट र १७४८ सेयर देखिन्छ।

यही भिडियो फेसबुकमा पनि फैलिएको छ।

के हो तथ्य ?

यो भिडियोको तथ्य जाँचका लागि हामीले यसलाई ‘इनभिड वी भेरिफाइ’ टुल प्रयोग गरेर की फ्रेम निकाल्यौँ र त्यसलाई विभिन्न रिभर्स इमेज सर्च इन्जिनमार्फत् खोज्यौँ।

यस क्रममा गुगलले केही टिकटक भिडियोहरु देखायो।

गुगलमा गरिएको रिभर्स इमेज सर्चको नतिजा।

तर टिकटक भिडियोको भरमा यो भिडियो कहाँको हो भन्ने पत्ता लगाउन सजिलो थिएन।

त्यसपछि हामीले यो भिडियोलाई ध्यान दिएर हेर्‍यौँ। भिडियोमा सुरक्षाकर्मीको बर्दी लगाएको जस्तो देखिने व्यक्तिको पछाडि लेखिएको अक्षरलाई याद गर्‍यौँ। त्यसमा लेखिएको थियो- Guardia Civil

Guardia Civil अर्थात् अङ्ग्रेजीमा Civil Guard स्पेनको कानुन कार्यान्वयन गर्ने निकाय रहेछ। हामीले यसबारे उसको वेबसाइट guardiacivil.es पनि हेर्‍यौँ।

अर्को रिभर्स सर्च इन्जिन टाइनआइमा एउटा फोटोको विवरणमा हामीले Incredible_Raid_Fail_Spanish_Off_0.jpg  समेत लेखेको भेट्यौ।

स्पेन र यी कीवर्ड राखेर फेरि गुगलमा सर्च गरेपछि हामीले यो भिडियोको वास्तविक स्रोत भेट्यौँ।

बेलायतको आइटिएन न्युजको युट्युब च्यानलमा यो भिडियो चार वर्षअघि अपलोड गरिएको रहेछ। भिडियोमा राखिएको विवरण अनुसार स्पेनको सिभिल गार्डले त्यहाँको क्याटलान पृथकतावादीविरुद्ध अपरेसन चलाउने क्रममा ढोका फोरेका थिए। ३४ पटक त्यसरी हानेपछि र केही पटक लात्तीले हानेपछि बल्ल ढोका खुलेको त्यसमा उल्लेख छ।

हेर्नुस् युट्युबमा राखिएको भिडियो-

यो भिडियोले स्रोतका रुपमा उल्लेख गरेको ट्विटर ह्यान्डलमा पनि यो भिडियो स्पेनकै रहेको उल्लेख छ।

तथ्य जाँच

दावी : नेपाल प्रहरीले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई ढोका फोरेर पक्राउ गरेको भिडियो।

दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ताहरु

तथ्य : मिथ्या सूचना। दावी गरिएको भिडियोमा देखिएका वर्दीधारीको पोशाकमा स्पेनको कानुन कार्यान्वयन गर्ने निकाय Guardia Civil लेखिएको छ। उक्त भिडियो सन् २०१९ को सेप्टेम्बरमा त्यहाँको क्याटलान पृथकतावादीविरुद्ध अपरेसन चलाउने क्रममा खिचिएको प्रष्ट छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add