- वसन्त खड्का
- जेष्ठ ३०, २०८०
के हो नाम्चेमा १२ वर्षपछिकै अत्यधिक गर्मी भएको भाइरल समाचारको तथ्य?
कान्तिपुर टेलिभिजन, कान्तिपुर राष्ट्रिय दैनिक लगायत विभिन्न अनलाइन मिडियाहरुमा समेत सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा १२ वर्ष पछि अधिकतम तापक्रम १२ डिग्री सेल्सियस पुगेको र अत्यधिक गर्मीका कारण स्थानीय घर बाहिर निस्कन नसकेको दावीसहितको समाचार भाइरल भएको छ। तर, हाम्रो तथ्य जाँचले भने यो दावी दुई कारणले गलत देखिएको छ- एक, यो सिजनमा नाम्चेको औसत तापक्रम समाचारमा दावी गरिए जस्तो ४/५ डिग्री नभई १०/११ डिग्री सेल्सियस भएको नास्टका साइन्टिफिक अफिर देवेश कोइरालाले बताएका छन्। दुई, स्थानीय घर बाहिरै निस्कन नसक्ने गरी गर्मी नभएको त्यहाँका कम्तिमा तीन जना स्थानीयले बताएका छन्। यसबाहेक समाचारमा नाम्चेको तापक्रमको स्रोत उल्लेख छैन, त्यहाँको तापक्रम आधिकारिक रुपमा मौसम पूर्वानुमान महाशाखामा उपलब्ध पनि छैन र नाम्चेको सबैभन्दा नजिक रहेको वेदर स्टेसनको तथ्याङ्क हेर्दा १२ डिग्रीभन्दा माथि अधिकतम तापक्रम विगत तीन वर्षमै ११२ दिन रेकर्ड भएको देखिन्छ।
समाचारमा के छ ?
कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको र फेसबुकमा शुक्रबार ९ जुन २०२३ मा अपलोड गरिएको समाचारमा ‘सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा गर्मीले सीमा नाघेको, दैनिक तापक्रम १२ डिग्री सेल्सियससम्म पुगेपछि स्थानीय घर बाहिर निस्कन नसकेको, यो सिजनमा अघिल्ला वर्षहरुमा औसत तापक्रम ४-५ डिग्री सेल्सियस मात्र हुने गरेको र १२ वर्षपछि यसपाली नाम्चेबजारको तापक्रम १२ डिग्रीसम्म पुगेको दावी गर्दै अहिले आलु गोड्ने सिजन भए पनि गर्मीका कारण किसान बारीमा जान नसकेको’ भनिएको छ।
भिडियोलाई मंगलबार दिउँसोसम्म ३ लाख ८१ हजार पटक हेरिएको छ भने १५ हजार रियाक्सन र १६ सय कमेन्ट अनि ६६७ पटक सेयर गरेको देखिन्छ।
त्यसैगरी कान्तिपुर राष्ट्रिय दैनिकले २७ जेठ २०८० शनिबारको अङ्कको पहिलो पेजमा नाम्चेमा १२ वर्षयताकै उच्च तापक्रम शीर्षकमा फोटोसहितको बक्स समाचार राखेको छ।
फोटोको क्याप्सनमा लेखिएको छ- ‘सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजार, जहाँ शुक्रबार १२ वर्षयताकै उच्च तापक्रम (१२ डिग्री सेल्सियस मापन गरिएको छ। समुद्र सतहबाट ३४ सय मिटर उचाइमा रहेको हिमाली क्षेत्र नाम्चे बजारमा तापक्रम लगातार बढेपछि दिउँसो स्थानीयवासी घरबाट बाहिर निस्कनसमेत सकेका छैनन्।’
इकान्तिपुरमा यो समाचार हिमाली भेगमै बढ्यो गर्मी शीर्षकमा प्रकाशित भएको देखिन्छ।
रातोपाटी, केन्द्रबिन्दू, डीसीनेपाल, हिमालयटाइम्स लगायतका अनलाइनहरुमा पनि यही व्यहोराको समाचार प्रकाशन भएको देखिन्छ।
के हो तथ्य ?
हामीले यस विषयमा तथ्य जाँच गर्न जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाको तथ्यांक शाखामा सम्पर्क गर्यौँ।
उक्त शाखाले दिएको जानकारी अनुसार हाल नाम्चेमा मौसम नाप्ने सरकारी स्टेसन सञ्चालनमा छैन। नाम्चेमा वेदर स्टेसन सन् १९४९ देखि १९८३ सम्म सञ्चालनमा थियो।
जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा राखिएको जानकारी अनुसार पनि नाम्चेको स्टेसन अस्थायी रुपमा बन्द छ। हेर्नुस् विभागमा राखिएको जानकारी।
मौसम पूर्वानुमान महाशाखाले नाम्चे बजारको आधिकारिक तथ्याङ्क उपलब्ध नभएको बताएपछि हामीले नाम्चेबाट सबैभन्दा नजिक रहेको तापमान मापन स्टेसनको तथ्याङ्क माग गर्यौँ। नाम्चे बजारभन्दा ३४० मिटर उचाईमा रहेको स्याङबोचेमा भने नेपाल सरकारको वेदर स्टेसन सञ्चालनमा छ।
गत वर्ष नै १२ डिग्रीभन्दा बढी तापक्रम
आवश्यक दस्तुरसहित निवेदन बुझाएपछि हामीले प्राप्त गरेको नाम्चे बजारबाट सबभन्दा नजिक रहेको स्याङबोचेको आधिकारिक मौसमसम्बन्धी तथ्याङ्कमा गत वर्ष अर्थात् सन् २०२२ को जुलाई ३ मा अधिकतम तापक्रम १६.५ डिग्री सेल्सियस मापन भएको उल्लेख छ।
कान्तिपुर टेलिभिजन र कान्तिपुर दैनिकले १२ वर्षपछि यसपाली नाम्चेबजारको तापक्रम १२ डिग्रीसम्म पुगेको दावी गरे पनि यसको आधिकारिक स्रोत खुलाएको छैन। हामीले प्राप्त गरेको तथ्याङ्क अनुसार नाम्चे बजारबाट नजिकै र त्यो भन्दा उचाईमा रहेको स्याङबोचेमा १२ डिग्रीभन्दा माथि तापक्रम पुगेको रेकर्ड यस्तो थियो-
स्याङबोचेमा १२ डिग्रीभन्दा माथि अधिकतम तापक्रम रेकर्ड भएको ११२ दिन रहेको तथ्याङ्कमा भेटियो-
औसत तापक्रमको दावी पनि गलत
कान्तिपुर टेलिभिजन र कान्तिपुर राष्ट्रिय दैनिकको दावी छ, 'यसअघिका वर्षमा यो समय यहाँको औसत तापक्रम ४ देखि ५ डिग्री सेल्सियससम्म हुने गर्थ्यो।'
हामीले प्राप्त गरेको स्याङबोचेको तथ्याङ्कमा जुन महिनाको औसत तापक्रम सन् २०२१ मा ११.९९ डिग्री सेल्सियस र सन् २०२२ मा ११.६३ डिग्री सेल्सियस देखिन्छ।
नाम्चे बजारकै औसत तापक्रम आधिकारिक रुपमा खोज्ने क्रममा हामी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) पुग्यौँ। नास्ट र इटालीको ev-k2-cnr नामको संस्थाले मिलेर नाम्चे बजारसहित उच्च हिमाली क्षेत्रमा अटोमेटिक वेदर स्टेसन राखेका थिए।
नास्टको हाइ अल्टिच्युड रिसर्चका साइन्टिफिक अफिसर देवेश कोइरालाले हामीलाई सन् २००२ देखि २००६ सम्मको र सन् २०१२ को तापक्रमको तथ्याङ्क उपलब्ध गराए।
कोइरालाका अनुसार सन् २०१२ मा अर्थात् आजभन्दा ११ वर्षअघि नाम्चे बजारको औसत तापक्रम जुनमा १०.२, जुलाईमा १०.९ र अगस्तमा ९.४ रहेको थियो।
कोइरालाका अनुसार उपलब्ध सन् २००२ देखि सन् २००६ सम्मको तथ्याङ्कमा पनि जुन, जुलाई महिनामा नाम्चे बजारको औसत तापक्रम १० देखि ११ डिग्री सेल्सियसको हाराहारीमा रहेको देखिन्छ।
त्यसैगरी यी दिनहरुमा पनि नाम्चे बजारको तापक्रम १२ डिग्री सेल्सियस पार गरेको तथ्याङ्कमा देखिन्छ-
सन् २००२ को जुलाई १७,
सन् २००३ को जुलाई २४ र जुलाई २५, अगस्त १३ र अगस्त १५,
सन् २००५ को जुन १५ र जुन १६, जुलाई ३० र ३१, अगस्त १,२,३, ४
सन् २००६ को जुलाई ८,९,१०, १४,१७, १८, २१, अगस्त ११ र १३
ev-k2-cnr कै तथ्याङ्कमा आधारित रहेर विनोद दवाडी, शंकर शर्मा, कल्पना हमाल, नितेश खड्का, यमप्रसाद धिताल र शिवकुमार महतोले गरेको अध्ययन Journal of Institute of Science and Technology को Vol. 26 No. 2 (2021) मा प्रकाशन भएको छ।
Does the High Elevation Climate along Mt. Everest can be Represented by Lower Elevation Stations? शीर्षकको रिसर्च आर्टिकलमा उल्लेख भए अनुसार नाम्चे बजारको दैनिक Mean तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्छ। २४ घण्टाको अधिकतम तापक्रम र न्यूनतम तापक्रमलाई जोडेर दुईले भाग गरेपछि प्राप्त हुने संख्यालाई मिन तापक्रमका रुपमा लिइन्छ।
यो अध्ययनले पनि वार्षिक औसत तापक्रम गर्मी महिनामा १०.८ डिग्रीसम्म हुने देखाएको छ।
वर्ल्डवेदरअनलाइनमा उपलब्ध तथ्यांक अनुसार सन २०१३ जुन ११ मा नाम्चेको अधिकतम तापक्रम १४ डिग्री मापन भएको देखिन्छ ।
तापक्रमसम्बन्धी जानकारीको स्क्रिनसट
२५ डिग्री नाघेको थियो नाम्चे बजारको तापक्रम
जल तथा मौसम विज्ञान विभागको पुस्तकालयमा उपलब्ध 'क्लाइमेटोलोजिकल रेकडर्स अफ नेपाल भोलुम –१' पुस्तकका अनुसार ४३ वर्षअघि अर्थात् सन १९८० अप्रिल ९ मा नै नाम्चे बजारको अधिकतम तापक्रम २५.२ डिग्री मापन भएको देखिन्छ ।
उक्त पुस्तकमा उपलब्ध तथ्यांकको स्क्रिनसट
अत्यधिक गर्मीका कारण स्थानीय घर बाहिर निस्कन नसकेका हुन्?
समाचारमा १२ डिग्री सेल्सियसमा गर्मी महसुस भएका कारण नाम्चे बजारका मानिसहरु दिउँसो घरबाट बाहिर ननिस्किएको दाबी गरिएको छ।
हामीले नाम्चेका तीन स्थानीयसँग यसबारे कुरा गर्यौँ- पेम्बा ग्याल्जेन शेर्पा, मिङ्ग्मा ग्याल्जेन र आङ दोर्जी शेर्पा। तीनै जनाले त्यस्तो अवस्था नरहेको बताए।
नाम्चेको खुम्बु लजका सञ्चालक पेम्बाले त्यो भन्दा गर्मी पहिले नै भएको भन्दै १२ डिग्रीको तापक्रममा ज्याकेट लगाएर बस्ने अवस्था हुने बताए।
मिङ्ग्माले आफू भर्खर सात दिनको पदयात्रा गरेर आएको बताउँदै बाहिर निस्कनै नसक्ने किसिमको गर्मी नभएको बताए। ‘त्यस्तो छैन, दिउँसोमा गर्मी त छ, ब्लुस्काई छ, तर त्यस्तो बाहिरै निस्कनै नसक्ने गर्मी त के होला र ? पहिले पनि मनसुन अघि यस्तै गर्मी हुन्थ्यो। पहिलो पटक यस्तो गर्मी भएको भन्ने होइन होला', उनले भने, 'म भर्खर खुम्जुङ, नाम्चे हुँदै लुक्ला आइरहेको छु। खासै त्यस्तो गर्मी छैन । बेलुका पनि हामी सिरक लगाएर सुत्छौँ। मनसुन अलिकति डिले भएर मात्र गर्मी भएको हो । गत वर्ष पनि जुनमा पानी नपरेर यस्तै भएको थियो। म आठ नौ घण्टासम्म ट्रेकिङ हिडेको हो । त्यस्तो हिँड्नै नसक्ने गर्मी छैन।’
त्यस्तै अर्का स्थानीय आङदोर्जीले पनि मिडियामा दाबी गरेजस्तो गर्मी नभएको बताए। 'टेम्परेचर त बढिरहेको छ, तर मान्छे बाहिर नै ननिस्कने त्यस्तो चाहिँ होइन', उनले भने, '१२ डिग्री भनेको नर्मलै हो। त्यस्तो बाहिरै निस्किन नसक्ने त होइन। बूढापाकाहरु त बाहिर घाम तापेर बसिरहेको छ रे।’
तथ्य जाँच
दावी : नाम्चे बजारमा १२ वर्षपछि तापक्रम १२ डिग्री सेल्सियस पुग्यो, यो सिजनमा अघिल्ला वर्षहरुमा औसत तापक्रम ४-५ डिग्री सेल्सियस मात्र हुन्थ्यो, अत्यधिक गर्मीका कारण स्थानीय घर बाहिर निस्कन सकेका छैनन्।
दावीकर्ताः कान्तिपुर टेलिभिजन, कान्तिपुर राष्ट्रिय दैनिक र अन्य अनलाइन मिडियाहरु।
तथ्यः मिथ्या सूचना। नाम्चे बजारमा १२ वर्षपछि तापक्रम १२ डिग्री सेल्सियस पुगेको आधिकारिक स्रोत कान्तिपुर टेलिभिजन र दैनिकले उल्लेख गरेको छैन। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाको तथ्यांक शाखामा नाम्चे बजारको तथ्याङ्क नै रहेको छैन। शाखाले उपलब्ध गराएको तापक्रम सम्बन्धी तथ्यांक अनुसार नाम्चेबजार भन्दा उचाइमा रहेको स्याङबोचेमा गत वर्ष नै अधिकतम तापक्रम १६ डिग्रीभन्दा माथि पुगेको देखिन्छ भने सन् २०२० को अक्टोबरदेखि सन् २०२० को डिसेम्बरसम्म १२ डिग्रीभन्दा माथि तापक्रम रेकर्ड भएको ११२ दिन रहेको छ।
अर्काेतर्फ १२ डिग्री सेल्सियसको तापक्रममा अत्यधिक गर्मीका कारण स्थानीय घरबाहिर निस्किन नसकेको भन्ने दाबीलाई पनि हामीले कुरा गरेका तीन जना स्थानीयले अस्वीकार गरेका छन्। तसर्थ हामीले यसलाई मिथ्या सूचनामा वर्गीकरण गरेका छौँ।