- उमेश श्रेष्ठ
- असार १६, २०८०
के उपसभामुखले संसदमा आफ्नो फोटो नराखिएको भन्दै असन्तुष्टि जनाएकी हुन्?
केही अनलाइन मिडियाहरुमा शनिबार (असार १६ गते) संसदमा सभामुखको मात्र फोटो राखियो, उपसभामुखको राखिएन भनेर उपसभामुख इन्दिरा रानाले असन्तुष्टि जनाएको खबर आयो। ६५ औँ संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले ‘उपसभामुखलाई बायस गरेको जस्तो पनि लाग्छ’ भनेको दावी ती समाचारहरुमा थियो।
तर हाम्रो तथ्य जाँचमा उपसभामुख इन्दिरा रानाले बोलेको विषयलाई भ्रामक रुपमा सम्प्रेषण गरेको भेटियो।
के छापियो खबरमा ?
‘संसदमा सभामुखको मात्र फोटो छ, हाम्रो छैन : उपसभामुख राना’ शीर्षक राखिएको समाचार यस्तो छ-
समाचारको लिडलाइनमै उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि जनाएको लेखिएको छ।
त्यसैगरी कोट राखेर लेखिएको छ- ‘भित्र पस्नेबित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन । उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ’ उनले भनिन् ।
रातोपाटीले पनि त्यस्तै हेडलाइन राख्दै समाचारमा उनको कोट यसरी राख्यो- ‘उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ।’
अरु अनलाइन मिडियाहरुले यस्तै समाचार र शीर्षक राखेका छन्-
सेतोपाटी : संसदमा तस्बिर नराखेकोमा उपसभामुख रानाको असन्तुष्टि
नेपालभ्युज : उपसभामुख रानाको गुनासो- ‘संसदमा सभामुखको मात्र फोटो छ, हाम्रो राखिएन’
नेपालप्रेस : संसदमा सभामुखकाे मात्रै फाेटाे राखेकाे भन्दै उपसभामुख रानाले जनाइन् असन्तुष्टि
इमेजखबर : संसदमा उपसभामुखको फोटो नराखेको प्रति उपसभामुख रानाको असन्तुष्टि
उकेरा : संसद्मा सभामुखको मात्र फोटो राखेको भन्दै उपसभामुखको असन्तुष्टि
के हो तथ्य ?
यो विषयमा तथ्य जाँच गर्न हामीले उपसभामुखले उक्त कार्यक्रममा के सम्बोधन गरेकी थिइन्, त्यो पूरै सुन्यौँ।
उनले बोलेको पूरै भाषण ‘उपसभामुख इन्दिरा रानाको सचिवालय – Secretariat of Indira Rana’ नामको फेसबुक पेजमा अपलोड भएको छ। त्यसमध्ये समाचारमा उल्लेख भएको अंश हामीले काटेर तल राखेका छौँ।
उनले भनेकी छिन्-
अस्ति म सिंगापुरमा गाको थिएँ। त्यो डब्लुटिओको कन्फ्रेन्समा। त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ। त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखज्यूले कस्तो लाउँछ ? त्यो विकास क्रमअनुसार त्यसरी राख्नुभएको छ के हरेक । हामीमा खै त त्यस्तो ?’
भित्र पस्ने बित्तिकै हाम्रो त्यहाँको सम्माननीय सभामुखज्युको त यत्रो फोटो राख्नुभा छ हाम्रोमा त छैन सभामुखज्युकोमा फोटो पनि। संसदलाई त मलाई त यो एकदमै अलिक बायस गरेको जस्तो पनि लाग्छ। मैले यो…मैले यहीँबाट यो कुराहरु उठाउँदैछु र संसदले सरकार, संसदबाटै सरकार उत्पन्न हुने हो। अब सरकारकै कन्ट्रोल हुन्छ भन्छ यो कुरा पनि हामीले एकदमै मनन गर्नुपर्ने लागेको छ।
समाचारहरुमा उल्लेख भए जस्तो सभामुखको मात्र फोटो राखेकोमा उपसभामुखले असन्तुष्टि जनाएको वा उपसभामुखलाई बायस गरे जस्तो पनि लाग्छ भनेर कतै भनेको अडियोमा सुनिँदैन।
उनले सिंगापुरको संसदमा सभामुखको फोटो राखेको र संसद प्रति बायस भएको बताएको अडियो सुन्दा बुझिन्छ।
यस विषयमा थप जानकारीका लागि हामीले उपसभामुख इन्दिरा रानालाई मोबाइलमा सोध्यौँ।
उनले भनिन्, ‘अस्ति त्यो कार्यक्रममा प्रस्तोताले कृष्णप्रसाद भट्टराई नेपालकै पहिलो सभामुख हो भनेर भन्नुभयो। त्यो सुनेपछि मैले अभिलेख राख्नुपर्छ भन्ने हिसाबले त्यो बोलेको हो।मैले मेरो फोटो राखेन भनेको होइन। एउटा बोल्छु अर्कै लेखिराछ । सन्दर्भ नै मिल्दैन क्या।’
तथ्य जाँच
दावी : संसदमा सभामुखको मात्र फोटो राखियो, उपसभामुखको राखिएन भनेर उपसभामुख इन्दिरा रानाले असन्तुष्टि जनाइन्। उनले ‘उपसभामुखलाई बायस गरेको जस्तो पनि लाग्छ’ भनिन्।
दावीकर्ता : अनलाइनखबर, रातोपाटी, सेतोपाटी, नेपालभ्युज, नेपालप्रेस, इमेजखबर, उकेरा आदि।
तथ्य : भ्रामक सूचना। उपसभामुखले आफ्नो फोटो नराखिएकोमा असन्तुष्टि जनाएको अडियोमा सुनिँदैन। समाचारहरुमा उद्धरण नै राखेर उनले ‘उपसभामुखलाई बायस गरेको जस्तो पनि लाग्छ’ भनेको दावी गरिएको छ। तर हामीले अडियोमा त्यस्तो भनेको कतै सुनेनौँ।