तथ्यजाँच मिथ्या सूचना वागमती

प्रधानमन्त्रीको भारतीय कार्ड दावी गर्दै भाइरल भएको सामग्रीको तथ्य के हो?


प्रधानमन्त्रीको भारतीय कार्ड दावी गर्दै भाइरल भएको सामग्रीको तथ्य के हो?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारतीय आधार कार्ड र स्थायी लेखा संख्या (प्यान) कार्ड रहेको भन्दै विभिन्न सामग्री सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। हाम्रो तथ्य जाँचमा भने ती सामग्री जोसुकैले जसको सुकै फोटो राखेर बनाउन पाइने वेबसाइटबाट बनाइएको अर्थात् मिथ्या रहेको पाइएको छ।

के छ भाइरल सामग्रीमा ?

नेपालसरकार युएनपी (Nepalsarkar Unp) नाम गरेको फेसबुक एकाउन्टबाट ‘राजनेता क.प्रचण्ड’  नामको ग्रुपमा जुलाई ९ मा एउटा पोस्ट भएको छ, जसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो र छविलाल दाहाल नाम उल्लेख भएको भारतीय आधार कार्ड जस्तो देखिने परिचय पत्र राखिएको छ। पोस्टमा यो उनको भारतको रासन कार्ड, आधार कार्ड भएको प्रमाण दावी गरिएको छ।

उक्त पोस्टमा साउन १, २०८० सोमबार साँझसम्म ४५९ पटक रियाक्ट, ३१३ कमेन्ट ५६०० पटक सेयर गरिएको छ ।

भाइरल सामग्रीको स्क्रिनसट


फेसबुक लिंक

त्यस्तै ‘डि इज ब्याक’ नामको फेसबुकबाट पनि जुलाई १४ मा सोही तस्वीर र भाषा प्रयोग गर्दै उक्त सामग्री सेयर गरिएको छ । उक्त सामग्रीमा ४७ रियाक्सन, ७ वटा कमेन्ट र ३५ पटक सेयर गरिएको छ ।

सेयर गरिएको सामग्रीको स्क्रिनसट


फेसबुक लिंक

लेखनाथ पोखरेल नाम गरेको फेसबुक एकाउन्टबाट ‘क्या है यस्तो ?’ लेख्दै प्रधानमन्त्रीको फोटो प्रयोग गरिएका दुई वटा परिचयपत्र जस्तै देखिने सामग्री सेयर गरिएको छ। एउटा तस्वीरमा अन्य भाइरल सामग्रीमा जस्तै प्रधानमन्त्रीको फोटो र छविलाल दाहाल नाम उल्लेख गरिएको छ भने अर्काे फोटोमा स्थायी लेखा संख्या कार्ड लेखिएको छ जसमा प्रधानमन्त्री दाहालको तस्वीर प्रयोग गरिएको छ भने नाम घनश्याम दाहाल उल्लेख गरिएको छ ।

फेसबुकमा सेयर गरिएको सामग्रीको स्क्रिनसट


फेसबुक लिंक

के हो तथ्य ?

हामीले भाइरल भएको स्थायी लेखा संख्या कार्डको फोटोलाई गुगलको रिभर्स इमेज सर्चबाट खोज्यौँ।

 

 

 

 

त्यस क्रममा हामी adarshc.com वेबसाइटमा पुग्यौँ जसबाट सहजै  प्रधानमन्त्रीको फोटो प्रयोग गरी बनाएको जस्तै नक्कली स्थायी लेखा संख्या कार्ड, आधार कार्ड बनाउन सकिन्छ।

हामीले पनि यसबाट एउटा नक्कली लेखा संख्या कार्ड बनायौँ। व्यक्तिको नाममा फेक कुमार नक्कली, बाबुको नाम मिसइन्फरमेसन बाजे र शिवपुरीबाट खिचेको काठमाडौ सहरको तस्वीर राख्दा पनि उक्त एप्लिकेसनले लेखा संख्या कार्ड बनाइदियो । हेर्नुहोस हामीले बनाएको फेक कुमार नक्कलीको स्थायी लेखा संख्या कार्ड

वेबसाइटमा भरिएको विवरण (माथि) र तयार भएको कार्ड (तल)

त्यसैगरी भाइरल भएको आधार कार्ड जस्तो देखिने कार्ड पनि यही वेबसाइटबाट बनाउन सकिन्छ।

हेर्नुस् हामीले यही वेबसाइटबाट बनाएको यस्तै आधार कार्ड-

 

यसमा भाइरल भएको फोटोमा जस्तो क्युआर कोड नभए पनि त्यो सजिलै थप्न सकिन्छ।

प्रधानमन्त्रीको फोटो जोडेर नक्कली भारतीय आधार कार्ड तथा लेखा संख्या कार्ड जस्तै देखिने सामग्री सामाजिक सञ्जालबाट पोस्ट गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले असार ३१, २०८० मा बुटबलबाट ४९ वर्षीय शेरबहादुर रानालाई पक्राउ गरेको छ। उनले टाइगर राना मगर नाम गरेको फेसबुक एकाउन्टबाट प्रधानमन्त्रीप्रति घृणा र द्वेष फैलाउने सामग्री पोस्ट गरेको साइबर ब्यूरोले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

ब्युरोको फेसबुक पेजमा राखिएको प्रेस विज्ञप्तिको लिंक

आरोपित पक्राउ परेको विषयमा इकान्तिपुर प्रकाशित समाचारको लिंक

रातोपाटी अनलाइनमा प्रकाशित समाचारको लिंक

प्रधानमन्त्रीको तस्वीर जोडेर भारतीय आधार कार्ड र लेखा संख्या कार्ड भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिएका सामग्री मिथ्या भएको भन्दै प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले त्यस्ता कार्य गर्ने व्यक्तिलाई कानुनको दायरामा ल्याउने बताएका छन्। मल्लले असार ३१ गते फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘आफ्नो देशको वहालवाला प्रधानमन्त्रीको भारतीय नक्कली आधार कार्ड बनाई सामाजिक संजालमा पोस्ट्याउने कामलाई सामान्य विषय भनेर बस्न सकिदैन । यो राष्ट्रप्रतिको गम्भीर अपराध हो । अपराध गर्नेलाई कानुनको दायरामा ल्याउनु राज्यको कर्तव्य हो । राज्यले आफ्नो जिम्मेवारी पूरा गर्छ, गर्नु पर्छ ।’

मल्लको स्टाटसको स्क्रिनसट


फेसबुक लिंक

तथ्य जाँच

दावी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारतीय आधार कार्ड र स्थायी लेखा संख्या कार्ड ।

दावीकर्ताः सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्यः मिथ्या सूचना। भारतीय आधार कार्ड र स्थायी लेखा संख्या कार्ड जस्तो देखिने कार्ड  इन्टरनेटमा उपलब्ध निःशुल्क वेबसाइटबाट बनाएको देखिन्छ। यस्तो वेबसाइटबाट जुनसुकै व्यक्तिको फोटो राखेर जस्तोसुकै नामबाट नक्कली डकुमेन्ट बनाउन मिल्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add