- वसन्त खड्का
- भदौ १, २०८०
के एक लाख तिर्न बाँकी भएकाले सिम्रिक एयरको उडानमा रोक लागेको थियो?
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा साउन ३१ गते आयोजित कार्यक्रममा बोल्ने क्रममा सिम्रिक एयरले एक लाख रुपैयाँ तिर्न बाँकी हुँदा उडानमा प्रतिबन्ध लगाइएको दाबी गरेका छन्। तर हाम्रो तथ्य जाँचमा भने यो दावी भ्रामक रहेको देखिएको छ।
के भनेका थिए ओलीले ?
पार्टीको उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्थाः समस्या र समाधान’ विषयक कार्यक्रममा बोल्ने क्रममा ओलीले भनेका थिए, ‘एउटा हेलिकोप्टरको ४७ लाख… त्यो सिम्रिक कि के भन्ने छ नि… ४७ लाख कि कति बाँकी नतिरेको हुनाले उडान बन्द गरियो भनियो। कति बाँकी छ तिर्छु भनेर जाँदा एक लाख बाँकी रहेछ (हाँस्दै)। एउटा हेलिकोप्टर कम्पनी पहिल्यै बन्द गरिहाल्यो। भरे खोज्दै जाँदाखेरी एक लाख बाँकी रहेछ।’
सुनौलो नेपाल टिभी नाम गरेको युटुब च्यानलमा अपलोड भएको ओलीले बोलेको भिडियोको लिंक
न्युज एजेन्सी नेपालले यो कार्यक्रमको ५० मिनेटको भिडियो युट्युबमा अपलोड गरेको छ। हेर्नुस्।
के हो तथ्य ?
निजी क्षेत्रको हेलिकोप्टर कम्पनी सिम्रिक एयरले तिर्नुपर्ने बक्यौक्ता तिर्न पटक-पटक ताकेता गरे पनि अटेर गरेको दावी गर्दै २६ साउन २०८० बाट लागू हुने गरी कम्पनीका सबै हेलिकोप्टर उडानमा रोक लगाएको सूचना नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको थियो।
सिम्रिक एयरको उडानमा प्रतिबन्ध लगाएको सम्बन्धी समाचारहरुमा कम्पनीले प्राधिकरणलाई बुझाउनु पर्ने ४६ लाख ४३ हजार रुपैयाँ नबुझाएको उल्लेख गरिएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूललाई उद्धृत गर्दै लेखिएका समाचारहरुमा विमानस्थल सेवा शुल्क नियमावली २०७८ को व्यवस्था अनुसार सम्पूर्ण उडानहरु साउन २६ गतेदेखि लागू हुने गरी रोक लगाएको उल्लेख गरिएको छ।
हेर्नुस् यस सम्बन्धमा सेतोपाटी, अनलाइन खबर, नयाँ पत्रिका र शिलापत्रमा प्रकाशित समाचारका लिंक।
यो समाचार प्रकाशित भएपछि कम्पनीले एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले सात दिन भित्र हिसाब मिलान गराउन आग्रह गर्दै लेखेको पत्रको म्याद नसकिँदै अधिकारको दुरुपयोग गर्दै संस्थाको गरिमामा आँच पुग्ने गरी बदनियतपूर्ण ढंगले समाचार सम्प्रेषण गरेको बताएको थियो।
हेर्नुस् सिम्रिक एयरले सार्वजनिक गरेको प्रेस विज्ञप्ति
प्राधिकरणले सिम्रिक एयरका हेलिकोप्टर उडानमा रोक लगाएको समाचार प्रकाशित भएको दुई दिन पछि अर्थात् २०८० साउन २८ मा कम्पनीले बक्यौता रकम तिरेकाले हेलिकोप्टर उडानमाथि लागेको प्रतिबन्ध हटेको समाचार प्रकाशित भए। समाचारमा कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने ५५ लाख भन्दा बढी बक्यौता रकम बुझाएपछि साउन २८ देखि उडान प्रतिबन्ध फुकुवा भएको उल्लेख गरिएको छ।
हेर्नुस् इकान्तिपुर, अनलाइनखबर र शिलापत्रमा उडान प्रतिबन्ध हटाएको समबन्धी समाचारका लिंक ।
भएको के हो ?
हामीले नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक जगन्नाथ निरौलासँग यसबारे जिज्ञासा राख्यौँ। उनले सिम्रिक एयरले तिर्नुपर्ने ५५ लाख रुपैयाँ नतिरेका कारण उडानमा रोक लगाएको र प्राधिकरणले पत्र काटेपछि कम्पनीले बाँकी रकम चुक्ता गरेकाले उडान प्रतिबन्ध हटाएको दावी गरे।
हामीले सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीसित पनि यसबारे सोध्यौँ। जोशीले प्राधिकरणले उडानमा रोक लगाउने निर्णय गरेको अर्काे दिन साउन २६ गते नै प्राधिकरणलाई २७ लाख रुपैयाँ बुझाएको जानकारी दिए।
तथापि जोशीले प्राधिकरणले दाबी गरेजस्तो ५५ लाख रुपैयाँ नै तिर्न बाँकी भने नरहेको र भुक्तानी गरेको रकमसमेत प्राधिकरणले अपडेट नगर्दा ठूलो रकम बक्यौता देखिएको बताए।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता र सिम्रिक एयरका महाप्रबन्धक दुवैको भनाईले एक लाख रुपैयाँ मात्र भुक्तानी बाँकी रहेकोले उडान रोकिएको भन्ने ओलीको दावी गलत देखिन्छ। यद्यपि बक्यौता रकम बारे प्रवक्ता र महाप्रबन्धकको भनाई बाझिएको छ। बक्यौता रकम कति बुझाइयो भन्ने बारे सार्वजनिक रुपमा कागजात उपलब्ध नभएकोले हामीले यसलाई यकिन गर्न सकेनौँ।
तथ्य जाँच
दावी : नागरिक उड्डयन प्राधिकरणलाई एक लाख रुपैयाँ तिर्न बाँकी भएकाले सिम्रिक एयरको हेलिकोप्टर उडानमा रोक लगाइयो ।
दावीकर्ता : पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली ।
तथ्यः भ्रामक सूचना। नेपाल उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक जगन्नाथ निरौलाले हामीसँगको कुराकानीमा सिम्रिक एयरले ५५ लाख रुपैयाँ तिर्न बाँकी रहेकाले उडानमा रोक लगाएको बताए । उनले प्राधिकरणले पत्र काटेपछि कम्पनीले उक्त रकम भुक्तानी गरेकाले उडान प्रतिबन्ध हटाएको जानकारी दिए । सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले समेत प्राधिकरणले उडानमा प्रतिबन्ध लागएछि २७ लाख र त्यस बाहेक पनि थप रकम दिएको बताए । यसले ओलीको एक लाख तिर्न बाँकी भएकाले सिम्रिक एयरको उडानमा रोग लगाइयो भन्ने भनाईलाई खण्डन गर्छ । तसर्थ ओलीको भनाई भ्रामक रहेको निष्कर्षमा हामी पुग्यौँ।