तथ्यजाँच भ्रामक सूचना

के पक्राउ परेका अनमोल केसी नर्भिक अस्पतालमा भर्ना भएका हुन् ?


के पक्राउ परेका अनमोल केसी नर्भिक अस्पतालमा भर्ना भएका हुन् ?

फिल्मको आर्थिक लेनदेनसम्बन्धी विवादमा परेको उजुरीपछि नेपाली चलचित्रका नायक अनमोल केसीलाई प्रहरीले शुक्रबार पक्राउ गरेपछि सोही रात नर्भिक अस्पताल भर्ना गरिएको खबर विभिन्न अनलाइनहरुमा आएको छ।

तर हाम्रो तथ्य जाँचमा यो खबर भ्रामक देखिएको छ। नर्भिक अस्पताल र प्रहरी अधिकारी दुवैले केसीलाई नर्भिक अस्पतालमा भर्ना नगरिएको बताएका छन्।

कहाँ कस्तो खबर ?

अनमोल केसी नर्भिकमा भर्ना शीर्षकको समाचारमा अनलाइनखबरले  निर्माता सरोज न्यौपानेलाई उद्‍धृत गर्दै ‘छातीमा केही समस्या भएपछि अनमोललाई नर्भिकमा भर्ना गरिएको जानकारी दिए’ लेखिएको छ। हेर्नुस् अर्काइभ लिङ्क।

त्यसैगरी अर्को अनलाइन सेतोपाटीले लेखेको छ- ‘उनलाई गएराति साढे ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।’ हेर्नुस् अर्काइभ लिङ्क।

‘स्वास्थ्यमा समस्या आएपछि अनमोल केसी नर्भिकमा भर्ना’ शीर्षकमा नेपालप्रेसले पनि उनी निकटस्थ स्रोतलाई उद्‍धृत गर्दै नर्भिक अस्पतालमा भर्ना भएको समाचार लेखेको छ। हेर्नुस् अर्काइभ लिङ्क।

त्यस्तै लोकान्तरले पनि ‘गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको’ समाचार लेखेको छ। हेर्नुस् अर्काइभ लिङ्क।

हामीले अनमोल केसी र नर्भिक कीवर्ड राखी गुगलमा सर्च गर्दा अरु पनि थुप्रै अनलाइनहरुले उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको समाचार राखेको देख्यौँ।

त्यसैगरी रुटिन अफ नेपाल बन्दले पनि एक्स, फेसबुक र इन्स्टाग्राममा केसी नर्भिक अस्पतालमा भर्ना भएको लेखेको थियो। हेर्नुस् एक्सको स्क्रिनसट (अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्)

के हो तथ्य ?

यो बारेमा तथ्य जाँचका लागि हामीले सबैभन्दा पहिले नर्भिक अस्पतालमा सोध्यौँ। नर्भिक अस्पतालको रिसेप्सनले ‘एडमिट भएर बस्नुभएको भए आइपीडी डिपार्टमेन्टमा हुनुपर्ने’ जानकारी दिँदै ‘यो नामको कोही प्यासेन्ट भर्ना नभएको’ जानकारी दियो।

त्यसपछि हामीले जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेललाई यस विषयमा सोध्यौँ। उनले अनमोल केसीलाई चिरायु अस्पतालमा भर्ना गरिएको पुष्टि गरे।

अनलाइन न्युजपोर्टल उकेराले पनि अनमोल प्रहरी हिरासतमा बस्नै नमानेपछि चिरायु अस्पतालमा राखियो शीर्षकको समाचारमा ‘जति प्रयास गरे पनि हिरासतमा बस्न नमानेपछि प्रहरीले नै खोजेर बेलुका साढे ११ बजेतिर महाराजगन्जको चिरायु अस्पतालमा लगेर भर्ना गरेको’ र ‘अनमोलसँगै प्रहरी सुरक्षाकर्मी समेत रहेको’ अस्पतालका एक अधिकारीलाई उद्‍धृत गर्दै लेखेको छ। हेर्नुस् लिङ्क। 

तथ्य जाँच

दावी : पक्राउ परेका अनमोल केसीलाई नर्भिक अस्पतालमा भर्ना गरियो।

दावीकर्ता : अनलाइनखबर, सेतोपाटी, लोकान्तर, नेपालप्रेस लगायतका अनलाइनहरु।

तथ्य : भ्रामक सूचना। पक्राउ परेका अनमोल केसीलाई अस्पतालमा भर्ना गरिएको खबर साँचो हो। तर उनलाई नर्भिक अस्पतालमा नभई चिरायु अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताएका छन् भने नर्भिक अस्पतालले पनि त्यो नामको बिरामी भर्ना नभएको जानकारी दिएको छ। तसर्थ नेपाली अनलाइन मिडियाका समाचार भ्रामक छन्।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add