तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

के अमेरिकी राष्ट्रपतिका छोरा बन्दूक राखेको मुद्दामा दोषी ठहर भएका हुन्?


के अमेरिकी राष्ट्रपतिका छोरा बन्दूक राखेको मुद्दामा दोषी ठहर भएका हुन्?

अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई पाँच वर्षअघि झुटो बोलेर बन्दूक किनेको अभियोगमा अदालतले दोषी ठहर गरेको समाचार केही नेपाली अनलाइन मिडियाहरुले दिएका छन्।

तर, हाम्रो तथ्य जाँचमा यो खबर भ्रामक देखिएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार हन्टर बाइडेनलाई बन्दूक खरिद गर्दा झुट्टा विवरण दिएको विषयमा तीन वटा फौजदारी अभियोग दायर भएको हो।

कहाँ कस्तो समाचार ?

इमेज च्यानल टेलिभिजन, इमेज एफएमसहित सञ्चालन गर्ने इमेज ग्रुप अफ कम्पनीको अनलाइन न्युजपोर्टल  इमेजखबर डट कममा  शुक्रबार बिहान ‘अमेरिकी राष्ट्रपति बाइडेनका छोरा झुठो बोलेर हतियार किनेको आरोपमा दोषी ठहर’ शीर्षकमा समाचार राखिएको छ।

समाचारमा लेखिएको छ- “डेलाबर अदालतमा चलिरहेको मुद्धामा अदालतले ५३ बर्षिय बाइडेनलाई तीन वटा आरोपमा दोषी ठहर गरेको हो । सन् २०१८ मा उनले कोबरा स्वचालित बन्दुक खरिद गर्ने क्रममा झुठो बोलेको ठहर अदालतको छ । बन्दुक खरिद गर्ने समयमा उनी कोकिनका दुब्र्यसनी रहेकोमा उनले आफू दुब्र्यसनी रहेको विषय ढाँटेर डेलाबरबाट बन्दुक किनेको अदालतको ठहर छ । अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति बाइडेनमाथि नै महाअभियोग प्रक्रिया शुरु गर्न अनुमति दिएको बेला छोरा बाइडेन दोषी करार भएका छन्।”

हेर्नुस् अर्काइभ लिङ्क। 

यस्तै समाचार अरु विभिन्न नेपाली अनलाइन न्युजपोर्टलमा पनि आएका छन्।

केन्द्रबिन्दू डट कमले ‘अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बन्दुक राखेको मुद्दामा दोषी ठहर’ शीर्षकको समाचारमा लेखेको छ-पाँच वर्षअघि अवैध रूपमा बन्दुक किनेको मुद्दामा अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टरलाई दोषी ठहर गरिएको छ। जानकारीका अनुसार अमेरिकी न्याय विभागले हन्टर बाइडेनलाई कर र हतियारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। 

हेर्नुस् अर्काइभ लिङ्क।

त्यसैगरी डीसीनेपाल डट कमले पनि ‘अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बन्दुक राखेको मुद्दामा दोषी ठहर’ शीर्षकमा लेखेको छ- पाँच वर्षअघि अवैध रूपमा बन्दुक किनेको मुद्दामा अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टरलाई दोषी ठहर गरिएको छ। जानकारीका अनुसार अमेरिकी न्याय विभागले हन्टर बाइडेनलाई कर र हतियारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ।

हेर्नुस् अर्काइभ लिङ्क। 

बाइडेनका छोरा बन्दुक राखेको मुद्दामा दोषी ठहर शीर्षकमा खरिबोट डट कमले लेखेको छ- पाँच वर्षअघि अवैध रूपमा बन्दुक किनेको मुद्दामा अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टरलाई दोषी ठहर गरिएको छ।

हेर्नुस् अर्काइभ लिङ्क

के हो तथ्य ?

यसको तथ्य जाँचका लागि हामीले विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीका समाचारहरु हेर्‍यौँ।

अमेरिकी टेलिभिजन सीएनएनले २०२३ सेप्टेम्बर १४ का दिन Hunter Biden indicted on gun charges शीर्षकमा लेखेको समाचारमा राष्ट्रपनि जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि अभियोग दायर भएको र बहालवाला अमेरिकी राष्ट्रपतिका छोरामाथि पहिलो पटक यस्तो अभियोग लगाइएको पनि उल्लेख छ। समाचारमा दोषी ठहर भएको विषयमा केही लेखिएको छैन।

हेर्नुस् अर्काइभ लिङ्क।

त्यसैगरी बीबीसीले पनि  Hunter Biden indicted on three federal gun charges शीर्षकको समाचारमा उनलाई तीन वटा अभियोग लगाइएको भनिएको छ। यसमा पनि दोषी ठहर भएको लेखिएको छैन।

दि न्युयोर्क टाइम्सले Hunter Biden Was Indicted on Gun Charges शीर्षकमा र रोयटर्सले  पनि Biden’s son Hunter hit with gun charge, first for a US president’s child शीर्षकमा उनीमाथि अभियोग लगाइएको समाचार दिएको छ।

सीएनएनले अभियोग पत्रको पूर्ण पाठसमेत सार्वजनिक गरेको छ।

तथ्य जाँच

दावी : अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन बन्दूक राखेको मुद्दामा दोषी ठहर भएका छन्।

दावीकर्ता : इमेज च्यानल, डीसी नेपाल, खरिबोट, केन्द्रबिन्दू।

तथ्य : भ्रामक सूचना। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार हन्टर बाइडेनलाई तीन वटा अभियोग लगाइएको हो, उनी दोषी ठहर भइसकेका छैनन्। तसर्थ नेपाली अनलाइन मिडियाहरुले दिएको समाचार भ्रामक छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add