- उमेश श्रेष्ठ
- अशोज १२, २०८०

के विष्णु माझीको गीत भारतीय टेलिभिजन कार्यक्रममा बजेको हो?
सामाजिक सञ्जाल फेसबुक र टिकटकमा एउटा क्लिप भाइरल भएको छ जसमा नेपाली गायिका विष्णु माझीको गीतमा केही कलाकार नाचिरहेको देखिन्छन्। सोनी टिभीको लोगो रहेको सो भिडियोमा विष्णु माझीको गीत ‘इन्डियाज गट ट्यालेन्ट’ (वास्तविक पोस्टमा स्पेलिङ गलत लेखिएको) को मञ्चमा गुञ्जिएको दावी गरिएको छ।
तर हाम्रो तथ्य जाँचमा यो मिथ्या सूचना भएको देखिएको छ। अर्कै गीतमा गरिएको नृत्यको भिडियोलाई सम्पादन गरेर नेपाली गीत राखेको भेटियो।
यस्तो छ भाइरल पोस्ट
एएमसी आरके स्था नामको फेसबुक प्रोफाइलमा १४ सेप्टेम्बरमा यो भिडियो राखिएको छ। विष्णु माझीको गीत इन्डियाज गट ट्यालेन्टको मञ्चमा गुन्जिएको दावी गरिएको यो पोस्टमा केही कलाकार नाचिरहेका छन् भने एक कलाकार कृष्णको भेषभुषामा देखिन्छन्। त्यसमा भारतीय टिभी च्यानल सोनी इन्टरटेनमेन्टको लोगो देखिन्छ।

सेप्टेम्बर २८ मा यो तथ्य जाँच तयार पार्दासम्म यो भिडियो फेसबुकमा ७ लाख ५८ हजार पटक हेरिएको छ भने त्यसमा ३७ हजार रियाक्सन र ११ सय कमेन्ट देखिन्छन्।
भिडियोमा टिकटकको लोगो र आइडी पनि देखिन्छ।
@nirajofficialndci युजरनेमको टिकटक आइडीमा यही भिडियो १५ लाख पटक हेरिएको छ भने यसलाई ५६ हजारभन्दा बढीले लाइक गरेका छन्। हेर्नुस् अर्काइभ लिङ्क।

के हो तथ्य ?
हामीले यो भिडियोको क्लिप्सलाई रिभर्स इमेज सर्च गरी हेर्दा सोनी टेलिभिजनको युट्युब च्यानलमा NEW! India’s Got Talent S10 | Ep 12 | Janmashtami Special | 3 Sep 2023 | Teaser शीर्षकको भिडियो भेट्टायौँ।
२०२३ सेप्टेम्बर ३ मा राखिएको यो भिडियोको दृश्य र भाइरल भएको भिडियोको दृश्य समान छन्। तर वास्तविक भिडियोमा गीत भने विष्णु माझीको नभएर अर्कै छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्।
तथ्य जाँच
दावी : विष्णु माझीको गीत इन्डियाज गट ट्यालेन्टको मञ्चमा गुन्जियो।
दावीकर्ता : फेसबुक र टिकटक प्रयोगकर्ता
तथ्य : मिथ्या सूचना। सोनी टेलिभिजनमा कृष्ण जन्माष्टमिको अवसरमा प्रसारित कार्यक्रमको भिडियोमा अडियो परिवर्तन गरी विष्णु माझीको गीत सम्पादन गरी राखिएको हामीले फेला पार्यौँ। तसर्थ यो दावी मिथ्या भएको निश्कर्षमा हामी पुग्यौँ।