- उमेश श्रेष्ठ
- भदौ २४, २०८०
के प्रतिलिपि अधिकारको मुद्दामा तीन वर्षभन्दा बढी कैद हुन्छ?
प्रतिलिपि अधिकार उल्लंघनको विषयमा गायक प्रमोद खरेलको जाहेरीका आधारमा परेको मुद्दामा विन्धवासिनी म्यूजिक प्रालिका सञ्चालकहरुलाई काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेको र तीन वर्षभन्दा बढी कैद हुने भएपछि सजाय निर्धारणका लागि फेरि सुनुवाई गर्ने आदेश दिएको समाचार अनलाइनखबरले प्रकाशन गरेको छ।
तर हाम्रो तथ्य जाँचमा यो मिथ्या सूचना देखिएको छ। प्रतिलिपि अधिकार ऐनमा यति धेरै वर्ष कैदको व्यवस्था छैन।
के छ समाचारमा ?
अनलाइनखबरले २०८० भदौ २१ गते प्रतिलिपि अधिकारको मुद्दा जिते प्रमोद खरेलले शीर्षकमा समाचार राखेको छ।
समाचारमा काठमाडौँ जिल्ला अदालतको न्यायाधीश उत्तम सिलुवालको इजलासले गायक प्रमोद खरेलको प्रतिलिपि अधिकार उल्लङ्घन गरेकोमा विन्धवासिनी म्यूजिक प्रा.लि.का सञ्चालक लीला शर्मा रेग्मी र सुवास रेग्मीलाई दोषी ठहर गरेको र उनीहरुमाथि ३ वर्षभन्दा बढी कैद हुने भएपछि सजाय निर्धारणका लागि फेरि सुनुवाइ गर्न आदेश दिएको उल्लेख छ।
अनलाइनखबरको समाचारको स्क्रिनसट। अर्काइभ लिङ्कको लागि यहाँ क्लिक गर्नुस्।
के हो तथ्य ?
हामीले यसको तथ्य जाँचका लागि काठमाडौँ जिल्ला अदालतको आधिकारिक वेबसाइटमा हेर्यौँ।
भदौ २१ गते न्यायाधीश उत्तम सिलुवालको इजलासले प्रमोद खरेलको जाहेरीले नेपाल सरकार वादी र लीला शर्मा रेग्मीसमेत दुई जना प्रतिवादी रहेको प्रतिलिपि अधिकार ऐन अन्तर्गतको कसूरमा कसुर ठहर भएको र सजाय निर्धारकणको लागि पेश गर्ने आदेश दिएको उल्लेख छ।
के अनलाइनखबरले दावी गरे जस्तै यो कसुरमा तीन वर्षभन्दा बढी कैदको सजाय व्यवस्था छ त ? यसका लागि हामीले प्रतिलिपि अधिकार ऐन २०५९ हेर्यौँ जसको अन्तिम संशोधन २०७५ सालमा भएको छ।
ऐनको दफा २७, २८ र २९ मा दण्ड सजाय सम्बन्धी व्यवस्था छ।
संरक्षित अधिकारको उल्लङ्घन गरेमा उल्लङ्घन गर्ने व्यक्तिलाई कसूरको मात्र अनुसार १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था दफा २७ ले गरेको छ। सोही दफामा दोस्रो पटकदेखि पटकै पिच्छे २० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ।
यसको अर्थ अधिकतम सजाय एक वर्षसम्म मात्र छ।
दफा २९ ले यो ऐन र यस ऐन अन्तर्गत बनेका नियममा लेखिएका अन्य कुनै कुरा उल्लङ्घन गरेमा कसूरको मात्रा अनुसार पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।
के प्रतिलिपि अधिकार सम्बन्धी अधिकतम ६ महिनासम्म कैद हुने सजायमा पनि सजाय निर्धारणका लागि पेश गर्न आदेश दिने गरिएको छ त ?
यसका लागि हामीले पुराना प्रतिलिपि अधिकार सम्बन्धी मुद्दाको आदेश हेर्यौँ।
राजन इशान (राणा)ले ‘वशमा छैन मेरो मन’ बोलको गीत आफ्नो मन्जुरी र अनुमति बेगर रन्जना म्युजिक र इन्द्रेणी क्यासेट सेन्टरका भगवानकुमार श्रेष्ठ र अर्जुन श्रेष्ठले बिक्री गरी प्रतिलिपि अधिकारको उल्लङ्घन गरेको भन्दै दिएको जाहेरीको आधारमा मुद्दा चलेको थियो।
सो मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीले २०८० वैशाख २४ गते कसूर ठहर गरेका थिए र सजाय निर्धारणका लागि वैशाख ३१ गतेको पेशी तोकेका थिए।
फैसलाको अंश।
सो मुद्दामा प्रतिवादी भगवानकुमार श्रेष्ठलाई ५० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति भराइदिने फैसला भएको थियो। एक करोड ५९ लाख क्षतिपूर्तिको मागलाई सो हदसम्म पुग्न नसक्ने ठहर गरिएको थियो।
तथ्य जाँच
दावी : प्रतिलिपि अधिकार ऐन अन्तर्गतको मुद्दामा तीन वर्षभन्दा बढी कैद सजाय हुने
दावीकर्ता : अनलाइनखबर
तथ्य : मिथ्या सूचना। प्रतिलिपि अधिकार ऐन अन्तर्गतको मुद्दामा अधिकतम ६ महिना सजाय हुने व्यवस्था दफा २५ ले गरेको छ। दोस्रो पटकदेखि त्यस्तो कसुर गरे अधिकतम एक वर्षसम्म मात्र कैद हुने व्यवस्था छ। तसर्थ अनलाइनखबरको तीन वर्षभन्दा बढी कैद सजाय हुने दावी मिथ्या ठहर्छ।