तथ्यजाँच भ्रामक सूचना

भड्किलो नाराको आवाज सम्पादन गरी थपिएको भिडियो नेपालगञ्जको भन्दै भाइरल


भड्किलो नाराको आवाज सम्पादन गरी थपिएको भिडियो नेपालगञ्जको भन्दै भाइरल

दुई समुदायबीच सामाजिक र धार्मिक सद्‍भाव भड्किने जोखिम बढेपछि नेपालगञ्जमा स्थानीय प्रशासनले मंगलबार कर्फ्यु आदेश जारी गरेको छ।  बाँके जिल्ला प्रशासन कार्यालयका अनुसार सामाजिक सञ्जालमा निश्चित समुदायलाई लक्षित गरी लेखिएको भनिएको स्टायटसबाट विवाद सुरु भएको थियो। यसबीच सामाजिक सञ्जालमा भड्किलो आवाजसहितको एउटा भिडियो नेपालगञ्जमा लागेको नारा भएको दावी गर्दै भाइरल भइरहेको छ। तर हाम्रो तथ्य जाँचमा उक्त भिडियोमा भएको नाराको आवाज १२ वर्ष पुरानो भिडियोबाट लिइएको खुलेको छ।

के छ भाइरल भिडियोमा ?

एक्स (पुरानो नाम ट्विटर) मा आफूलाई भारतको कट्टर हिन्दू राष्ट्रवादी संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को सदस्य रहेको उल्लेख गरेका पंकज दासले मंगलबार बिहान ९ बजेर २५ मिनेटमा गरेको पोस्टमा एउटा भिडियो रहेको छ।

भिडियोमा नाराबाजी, आगजनी र विरोध प्रदर्शन गरिरहेका दृश्य छन्। पोस्टमा उनले नेपालगञ्जमा मुस्लिम समुदायले ‘सर तन से जुदा’ जस्तो हिंसात्मक नारा लगाएको, धार्मिक भावना भडकाउने भाषण गरेको दावी गरिएको छ। 

भिडियोको अडियोमा भाषण जस्तो सुनिने एक व्यक्तिको आक्रोशपूर्ण अभिव्यक्ति सुनिन्छ जसमा उनले पोस्टमा लेखे जस्तो नारा पनि सुनिन्छ।

६ घण्टामा यो तथ्य जाँचका लागि स्क्रिनसट लिँदासम्म यो पोस्ट ५ हजार ७ सयभन्दा बढी पटक हेरिएको छ भने २४ रिट्विट र ४१ लाइक देखिन्छ। त्यसैगरी १९ रिप्लाइहरु छन्।

ट्विटरको स्क्रिनसट

हेर्नुस् अर्काइभ लिङ्क। 

के हो तथ्य ?

यो भिडियोमा लागेको नारालाई Gustakhe nabi ki ek saza  र sir tan se juda कीवर्ड राखी फेसबुकमा सर्च गर्दा हामीले थुप्रै भिडियो भेट्टायौँ। भारतमा पनि यो नाराका कारण सद्‍भावमा असर परेको समाचारहरु हामीले गुगल गर्दा भेट्यौँ।

गुगल सर्चको स्क्रिनसट

युट्युबमा हामीले यही कीवर्ड राखेर सर्च गर्दा हामी एउटा यस्तो भिडियोमा पुग्यौँ, जहाँको आवाज हुबहु नेपालगञ्जको भनी भाइरल भएको भिडियोमा रहेको आवाजसँग मिल्छ।

सइद आफताब अलि कादरी चिस्टीको आवाज रहेको यो गीतमा रहेको आवाज सम्पादन गरी नेपालगञ्जको भनिएको भिडियोमा राखिएको छ।

यो भिडियो मे २८, २०११ अर्थात् १२ वर्षअघि युट्युबमा अपलोड भएको देखिन्छ।

युट्युब भिडियोको स्क्रिनसट

 

हेर्नुस् दुवै भिडियोका अडियोको तुलना-

तथ्य जाँच

दावी : भाइरल भएको भिडियोमा भएको भड्काउ भाषणको अडियो नेपालगञ्जमा भएको प्रदर्शनको हो।

दावीकर्ता : पंकज दास

तथ्य : भ्रामक सूचना। पंकजले गरेको ट्विटमा उक्त भिडियोमा सुनिएको भड्काउ नारा नेपालगञ्जमै भएको प्रदर्शनको जस्तो दावी गरिएको छ। तर यो भिडियोमा प्रयोग गरिएको आवाज १२ वर्षअघि युट्युबमा अपलोड भएको सइद आफताब अलि कादरी चिस्टीको गीतबाट लिइएको हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add