तथ्यजाँच मिथ्या सूचना

भिपिएनबाट टिकटक चलाउँदा खातामा रहेको लाखौँ रुपैयाँ ह्याकरले ह्याक गरेको दावी गलत


भिपिएनबाट टिकटक चलाउँदा खातामा रहेको लाखौँ रुपैयाँ ह्याकरले ह्याक गरेको दावी गलत

नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएपछि भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क) बाट चलाउने क्रममा नुवाकोटकी एक महिलाको खातामा रहेको पैसा ह्याकरले ह्याक गरिदिएको दावीसहितको सूचना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर, हाम्रो तथ्य जाँचले भने उक्त सूचना मिथ्या भएको देखाएको छ।

के छ भाइरल सूचनामा ?
फेसबुकमा नविन खड्का नाम गरेको एकाउन्टबाट सोमबार (मंसिर ४, २०८०) एउटा स्टाटस पोस्ट भयो। त्यसमा लेखिएको थियो, ‘नुवाकोट रातमाटे घर भएकी ३२ वर्षीया पुतलीमाया थापामगरले भिपिएनबाट टिकटक चलाउँदा श्रीमानले विदेशबाट पठाएको उनको खातामा रहेको २ लाख ५२ हजार रुपैयाँ ह्याकरले ह्याक गरिदिएको छ। होशियार है ! होसियार भिपिएनबाट टिकटक चलाउनेहरू!’

यो पोस्टलाई मंगलबार (५ मंसिर २०८०) दिउँसोसम्म ४७८ पटक रियाक्ट, ९२ कमेन्ट र २३०० पटक सेयर गरिएको छ।


भाइरल सामग्रीको स्क्रिनसट । फेसबुक लिंक

त्यस्तै इशा गुरुङ नामको भेरिफाइड फेसबुक एकाउन्टबाट पनि सोमबार दिउँसो सोही विवरणसहितको सामग्री पोस्ट भएको छ। उक्त पोस्टमा मंगलबार दिउँसोसम्म ६९०० पटक रियाक्ट, १२०० कमेन्ट र २००० पटक सेयर गरिएको छ।

भाइरल पोस्टको स्क्रिनसट। लिंक

त्यसैगरी सुवास परियार नामको फेसबुक एकाउन्टबाट सोमबार नै एउटा भिडियो अपलोड गरिएको छ। त्यसमा पनि उस्तै  दावी छ। भिडियोलाई मंगलबार दिउँसोसम्म ४११ पटक रियाक्ट, ६ कमेन्ट र १६०० पटक सेयर गरिएको छ । उक्त भिडियोमा मेचिकाली खबरको वाटरमार्क देख्न सकिन्छ । मेचिकाली खबरले सोमबार उक्त भिडियो आफ्नो फेसबुक पेजमा सेयर गरेकोमा अहिले उक्त भिडियो हटाइसकिएको छ ।

सुभास परियारको फेसबुक एकाउन्टबाट पोस्ट गरिएको सामग्रीका स्क्रिनसट


फेसबुक लिंक

हामीले सामाजिक सञ्जाल फेसबुकमा यस सम्बन्धी विवरण खोजी गर्दा भिपिएन प्रयोग गर्दा बैंक एकाउन्ट ह्याक भएको दाबी गरिएका सामग्री फरक फरक एकाउन्ट तथा पेजमार्फत् सेयर र भाइरल भएको फेला पार्‍यौँ  जसको स्क्रिन रेकर्ड यहाँ राखिएको छ ।

के हो तथ्य ?

हामीले भाइरल सामग्रीको तथ्य जाँच गर्ने क्रममा सबैभन्दा पहिले त्यसमा दावी गरिएको ठाउँको बारेमा खोजी गर्‍यौँ । ठाउँ खोजी गर्ने क्रममा नुवाकोटको रातमाटे साबिक रातमाटे गाविस रहेको र अहिले बेलकोटगढी नगरपालिकाको वडा नं. ७ रहेको जानकारी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गतको साबिकको ठेगाना अनुसारको हालको ठेगाना खोज्ने वेबसाइटबाट पाइयो।

हामीले त्यहाँका वडाध्यक्ष भुवनेश्वर नेपालसँग सम्पर्क गर्‍यौँ । उनले यसबारेमा आफूकहाँ उजुरी नआएको र आफूले खोजी गर्दा पनि त्यस्तो नाम गरेको व्यक्ति नै फेला नपारेको जानकारी दिए।

त्यसपछि हामीले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सम्पर्क गरेर यसबारेमा जानकारी लियौँ। जिल्ला प्रहरी कार्यालयको टेलिफोनमा यसबारे सोध्दा त्यस्तो कुनै उजुरी वा जानकारी जिल्ला प्रहरी कार्यालयमा नआएको बताइयो।

हामीले यो विषय साइबर अपराधसँग जोडिएकाले नेपाल प्रहरीको साइबर ब्यूरोमा पनि सम्पर्क गर्‍यौँ। ब्यूरोका एसपी नरेन्द्र चन्दले यस विषयमा कुनै उजुरी नपरेको जानकारी गराए।

हामीले सामाजिक सञ्जालमा “भिपिएनबाट टिकटक चलाउँदा..” भन्ने कीवर्ड राखेर सर्च गर्दा ओखलढुंगा र प्युठानको ठेगाना राखेर नाम फरक तर अन्य विवरण उस्तै राखेर पनि सामाजिक सञ्जालमा पोस्ट भइरहेको फेला पार्‍यौँ। डोल्मा मनाङथिङ तामाङ नाम गरेको फेसबुक एकाउन्टबाट ‘यो खाली मगर टोली लाई मात्र दशा लागेको हो की नक्कली समाचार टोली हो?’ भन्दै एउटै विवरण तर फरक फरक नाम र ठेगाना भएका स्क्रिनसट राखिएको छ ।

स्क्रिनसट


फेसबुक लिंक

आधिकारिक कुनै पनि न्युजपोर्टलमा यसबारे समाचार पनि हामीले भेट्टाएनौँ।

तथ्यजाँच

दावी : भिपिएन मार्फत टिकटक चलाउँदा खातामा रहेको पैसा ह्याकरले ह्याक गरिदिए।

दावीकर्ताः सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्यः  मिथ्या सूचना। हामीले भाइरल सामग्रीका बारेमा तथ्यजाँच गर्ने क्रममा सामग्रीमा उल्लेख गरिएको ठाउँका वडाध्यक्ष भुवनेश्वर नेपाल, जिल्ला प्रहरी कार्यालय नुवाकोट र नेपाल प्रहरीको साइबर ब्यूरोमा सम्पर्क गर्दा त्यस्तो कुनै उजुरी नआएको बताए। वडाध्यक्ष नेपालले रातमाटेमा त्यस्तो नाम गरेको व्यक्ति पनि फेला नपरेको जानकारी गराए। हामीले सामाजिक सञ्जालमा एउटै विवरण सहितको फरक-फरक नाम र ठेगाना प्रयोग गरेर पनि उही सूचना पोस्ट गरेको पायौँ। आधिकारिक कुनै पनि न्युजपोर्टलमा यसबारे समाचार पनि हामीले भेट्टाएनौँ। यसै आधारमा हामी उक्त सूचना मिथ्या भएको निष्कर्षमा पुग्यौँ ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add