तथ्यजाँच मिथ्या सूचना

कोरियन भाषा परीक्षाबारे गोरखापत्रमा प्रकाशित समाचार गलत


कोरियन भाषा परीक्षाबारे गोरखापत्रमा प्रकाशित समाचार गलत

सरकारी स्वामित्वको ‘गोरखापत्र’ दैनिकको मंसिर १५ गतेको अंक र सोही दिनको अनलाइन संस्करणमा समेत पहिलो चरणको सिप बिल्डिङतर्फको भाषा परीक्षामा १२ हजार ९८ जना प्रशिक्षार्थी उत्तीर्ण भएको समाचार प्रकाशित गरिएको छ । हाम्रो तथ्यजाँचले भने उक्त सामग्री मिथ्या भएको देखिएको छ।

के छ समाचारमा?

गोरखापत्रको मंसिर १५ गतेको अंकको अर्थबजार पृष्ठमा ‘सिप बिल्डिङतर्फ दक्षिण कोरिया जान बाह्र हजार योग्य’ शीर्षकमा एक कोलमको समाचार छापिएको छ। उक्त समाचारमा वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाका अनुसार असोज १ देखि मङ्सिर ७ सम्म सञ्चालन गरिएको पहिलो चरणको सिप बिल्डिङतर्फको परीक्षामा साढे ३५ हजार सहभागी भएको र भाषा परीक्षामा १२ हजार ९८ जना उत्तीर्ण भएको उल्लेख गरिएको छ।

गोरखापत्रमा प्रकाशित समाचारको स्क्रिनसट

पत्रिकाको सोही दिनको अनलाइन संस्करणमा पनि सोही विवरण सहितको समाचार प्रकाशित गरिएको छ ।

अनलाईन संस्करणमा प्रकाशित समाचारको स्क्रिनसट


अनलाइन समाचारको आर्काइभ लिंक

के हो तथ्य ?

समाचारको तथ्य जाँच गर्ने क्रममा हामीले इपिएस कोरिया शाखाको वेब पेज हेर्‍यौँ। त्यहाँ सिप बिल्डिङ क्षेत्रतर्फको कोरियन भाषाको नतिजा प्रकाशित सम्बन्धी सूचना देख्यौँ। उक्त सूचनामा पहिलो चरणको कोरियन भाषा परीक्षामा चार हजार ९८ जना उत्तीर्ण भएको उल्लेख गरिएको छ।

सूचनामा २०८० असोज १ देखि मंसिर ७ गतेसम्म सञ्जालन भएको सिप बिल्डिङ क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षामा ३०३५४ पुरुष र २१५३ महिला गरी कूल ३५५०७ जना सहभागी भएकामा ३९०१ जना पुरुष र १९७ महिला गरी कूल ४०९८ जना उत्तीर्ण भएको उल्लेख गरिएको छ।

इपिएस कोरिया शाखाले प्रकाशित गरेको सूचनाको स्क्रिनसट

लिंक

त्यस्तै ह्युमन रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरियाको वेबपेजमा पानी जहाज निर्माण क्षेत्रको सिप परीक्षा सम्बन्धी सूचना प्रकाशित गरिएको छ। उक्त सूचनामा पनि पहिलो चरणको परीक्षामा ४०९८ जना उत्तीर्ण भएको उल्लेख गरिएको छ।

उक्त सूचनाको स्क्रिनसट


लिंक

तथ्य जाँच

दावी : सिप बिल्डिङतर्फ क्षेत्रतर्फको कोरियन भाषा परिक्षामा बाह्र हजार ९८ उत्तीर्ण

दावीकर्ताः गोरखापत्र दैनिक

तथ्यः मिथ्या सूचना। इपिएस कोरिया शाखा र ह्युमन रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया (एचआरडिके) को वेबपेजमा २०८० असोज १ देखि मंसिर ७ गतेसम्म सञ्जालन भएको सिप बिल्डिङ क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परिक्षामा ४०९८ जना उत्तीर्ण भएको उल्लेख गरिएको छ। आधिकारिक निकायले प्रकाशित गरेको विवरण र गोरखापत्रमा प्रकाशित विवरणमा फरक देखिएकाले गोरखापत्रमा प्रकाशित समाचार मिथ्या रहेको निष्कर्षमा हामी पुग्यौँ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add