तथ्यजाँच भ्रामक सूचना

के इजलासमा बहस सुन्दासुन्दै न्यायाधीश मरासिनीलाई हृदयघात भएको हो?


के इजलासमा बहस सुन्दासुन्दै न्यायाधीश मरासिनीलाई हृदयघात भएको हो?

मंगलबार निधन भएका उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीलाई इजलासमा बहस सुन्दासुन्दै हृदयघात भएको खबर मिडियामा आएका छन्। तर हाम्रो तथ्य जाँचले भने उक्त समाचार भ्रामक रहेको देखिएको छ।

के छ दावी ?

कर्पाेरेट नेपाल डटकम नामको अनलाइन न्युपोर्टलले ‘इजलाशमा बहस सुन्दासुन्दै न्यायाधीश मरासिनीको हृदयघातका कारण निधन’ शीर्षकमा माघ १६, २०८० मा समाचार लेखेको छ।

कर्पोरेटनेपालको फेसबुक पेजमा सेयर गरिएको यो समाचारमा १६७ रियाक्सन, ३४ कमेन्ट र १३ सेयर देखिन्छ।

समाचारमा लेखिएको छ- ‘पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनिको हृदयघातका कारण आइतबार निधन भएको छ । इजलाशमा बहस सुन्दासुन्दै उनलाई हृदयघात भएको जनाइएको छ।’

समाचारको आर्काइभ लिंक

के हो तथ्य ?

हामीले तथ्य जाँचका लागि उच्च अदालत पाटनका उपरजिष्ट्रार तथा प्रवक्ता तीर्थराज भट्टराईसँग जिज्ञासा राखेका थियौँ। उनले इजलासमा बहस सुन्दासुन्दै नभई घरबाट कार्यालय आउने तयारी गरिरहेका बेला घरमै हृदयघात भएको जानकारी गराए।

समाचारमा मरासिनीको आइतबार निधन भएको भनिएको छ। तर उनको मंगलबार (१६ माघ २०८०) निधन भएको हो ।
मरासिनीलाई हृदयघात भएको र निधन भएको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएका छन्।

नयाँ पत्रिका, रातोपाटी, नेपालप्रेस  मा प्रकाशित समाचारमा पनि उनलाई घरमै हृदयघात भएको लेखिएको छ।

तथ्य जाँच

दावी :  इजलासमा बहस सुन्दासुन्दै न्यायाधीश मरासिनीको हृदयघातका कारण निधन।

दावीकर्ताः कर्पाेरेट नेपाल डटकम

तथ्यः भ्रामक सूचना। न्यायाधीश मरासिनीको मृत्यु हृदयघातका कारण भएको त हो तर इजलासमा बहस सुन्दासुन्दै नभएर घरबाट कार्यालय आउने तयारी गरिरहेका बेला। उनलाई घरमै हृदयघात भएको जानकारी उच्च अदालत पाटनका उपरजिष्ट्रार तथा प्रवक्ता तीर्थराज भट्टराईले दिए। मंगलबार प्रकाशित अन्य समाचारमा पनि न्यायाधीश मरासिनीलाई घरमै हृदयघात भएको उल्लेख छ। त्यसैले कर्पाेरेट नेपालमा प्रकाशित समाचार भ्रामक रहेको निष्कर्षमा हामी पुग्यौँ।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add