तथ्यजाँच मिथ्या सूचना

के नाम शिखर सम्मेलनमा नेपाल बाहेक अरु देशबाट विदेश मन्त्री वा विदेश सचिवमात्र गएका हुन्?


के नाम शिखर सम्मेलनमा नेपाल बाहेक अरु देशबाट विदेश मन्त्री वा विदेश सचिवमात्र गएका हुन्?

युगाण्डामा भर्खरै सकिएको असंलग्न राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा नेपालबाहेक अरु मुलुकबाट विदेशमन्त्री वा विदेश सचिव (मात्र) गएको दावी गरिएको पोस्ट सामाजिक सञ्जालमा भाइरल भएको छ। तर हाम्रो तथ्य जाँचमा यो सम्मेलनमा थुप्रै देशहरुबाट राष्ट्रप्रमुख र सरकार प्रमुखको सहभागिता भएको देखिएको छ।

के छ दावी ?

फेसबुकमा १ लाख २० हजार फलोअर्स भएका राजीव खत्रीले शनिबार बिहान एउटा पोस्ट गरे। न्युज २४ टेलिभिजनका पत्रकार समेत रहेका खत्रीले युगाण्डामा भएको असंलग्न राष्ट्रहरुको शिखर सम्मेलन (नाम) मा नेपाल बाहेक अरु मुलुकबाट विदेशमन्त्री वा विदेश सचिव गएको दावी गरेका छन्।

आइतबार रातिसम्म उनको पोस्टमा २ हजार ४ सय रियाक्सन छन् भने २३० कमेन्ट र २०६ सेयर गरिएको छ।

राजीव खत्रीको फेसबुक पोस्टको स्क्रिनसट। आर्काइभ लिङ्क।

के हो तथ्य ?

के खत्रीले दावी गरे जस्तै सम्मेलनमा नेपाल बाहेक अरु मुलुकबाट विदेश मन्त्री वा विदेश सचिवमात्रै गएका हुन् त ? यसको तथ्य जाँचका लागि हामीले सम्मेलन आयोजक देश युगान्डाको परराष्ट्र मन्त्रालयको आधिकारिक वेबसाइट हेर्‍यौँ।

त्यसमा जनवरी १८ मा अपडेट गरिएको सूचनामा श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिङ्घे, केन्याका राष्ट्रपति विलियम रुटो, इक्वेटोरियल गिनीका राष्ट्रपति टिओदोरो ओबियाङ, बहमासका प्रधानमन्त्री इबी डेभिस सम्मेलनका लागि युगान्डा आइपुगेको  उल्लेख छ। हेर्नुस् अर्काइभ लिङ्क

युगान्डाको परराष्ट्र मन्त्रालयको आधिकारिक एक्स (पहिलेको ट्विटर) ह्यान्डलमा सम्मेलनका लागि त्यहाँ पुगेका राष्ट्र तथा सरकार प्रमुखहरुको विस्तृत जानकारी राखिएको छ। यसमा राखिएको जानकारी अनुसार बोत्सवानाका राष्ट्रपति, घानाका राष्ट्रपति, साउथ अफ्रिकाका राष्ट्रपति सम्मेलनमा सहभागी हुन पुगेका थिए।

त्यसैगरी तान्जानियाका प्रधानमन्त्री, टर्कीका उपराष्ट्रपति, जिम्बाब्वेका राष्ट्रपति पनि सम्मेलनमा सहभागी थिए।

क्युबाका उपराष्ट्रपति पनि सम्मेलनमा सहभागी थिए।

साउथ सुडानका राष्ट्रपति, जिबुटीका राष्ट्रपति र सोमालियाका राष्ट्रपतिले पनि सम्मेलनमा सहभागिता जनाएका थिए।

तथ्य जाँच

दावी : युगान्डामा भएको असंलग्न राष्ट्रहरुको शिखर सम्मेलन (नाम) मा नेपाल बाहेक अरु मुलुकबाट विदेशमन्त्री वा विदेश सचिव (मात्र)  गएको।

दावीकर्ता : राजीव खत्री।

तथ्य : मिथ्या सूचना। सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको पनि उपस्थिति रहेको सम्मेलन आयोजक देश युगान्डाको परराष्ट्र मन्त्रालयको वेबसाइट र सोसल मिडियामा राखेको जानकारीबाट प्रष्ट हुन्छ। दक्षिण एसियाबाटै श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिङ्घे सहभागी भएका थिए। तसर्थ, अरु मुलुकबाट विदेश मन्त्री वा विदेश सचिव (मात्र) गएको दावी गलत छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add