तथ्यजाँच भ्रामक सूचना

के यति एयरलाइन्स विश्वकै ‘चढ्न नहुने’, ‘असुरक्षित’ एयरलाइन्सको सूचीमा परेको हो?


के यति एयरलाइन्स विश्वकै ‘चढ्न नहुने’, ‘असुरक्षित’ एयरलाइन्सको सूचीमा परेको हो?

केही अनलाइन मिडियासहित सामाजिक सञ्जालमा नेपालको यति एयरलाइन्स विश्वकै चढ्न नहुने, असुरक्षित एयरलाइन्सको सूचीमा परेको खबर भाइरल भएको छ। ती समाचारमा दावी गरिए अनुसार एयरलाइन्सरेटिङ्ग्समा सात स्टार मध्ये तीनभन्दा कम रेटिङ पाउने विश्वका तीन एयरलाइन्समध्ये एकमा यति परेको हो।

तर हाम्रो तथ्यजाँचमा यो दावी भ्रामक देखियो। एयरलाइन्सरेटिङ्ग्सले नेपाल एयरलाइन्सबाहेक नेपालका अरु कुनै पनि एयरलाइन्सको रेटिङ गरेको देखिएन। इयुको प्रतिबन्ध सूचीमा भने यति एयरलाइन्समात्र हैन, नेपालका सबै एयरलाइन्स समेटिएको छ।

के छ दावी ?

१९ लाख फलोअर्स भएको सूत्रन्युज नामको फेसबुक पेजले जनवरी ९ मा ‘विश्वमै अति असुरक्षित विमान कम्पनी’ लेख्दै एउटा पोस्ट फेसबुकमा सेयर गरेको छ जसमा सूत्रन्युज डट कममा प्रकाशित ‘यति एयरलाइन्स : विश्वमै अति असुरक्षित विमान कम्पनी !’ शीर्षकको समाचारको लिङ्क छ। जनवरी १७ सम्म यो पोस्टमा २ हजार रियाक्सन, १५५ कमेन्ट र १ सय पटक सेयर गरिएको छ।

सूत्रन्युजको फेसबुक पेजको स्क्रिनसट। फेसबुक पेज लिङ्क। अर्काइभ लिङ्क

समाचारमा दावी गरिएको छ- ‘विश्वका जोखिमपूर्ण तीन एयरलाइन्स भित्र नेपालको यति एयरलाइन्स अति जोखिम हुने कम्पनी भित्र परेको उड्डयन सम्बन्धि समाचार प्रकाशन गर्ने टकर न्युज डट कोले उल्लेख गरेको छ।’ सूत्रन्युजको समाचार अर्काइभ लिङ्क।

रुटिन अफ सेयर मार्केट फेसबुक पेजको स्क्रिनसट। फेसबुक लिङ्क। अर्काइभ लिङ्क।

त्यसैगरी ‘रुटिन अफ सेयर मार्केट’ नामको फेसबुक पेजले पनि ‘यती एयरलाइन्सका यात्रु १००% असुरक्षित, २०२४ मा चढ्न नहुने तीन विश्वका एयरलाइन्स सूचीमा नेपालको यती एयरलाइन्स !’ शीर्षकमा एउटा पोस्ट राखेको छ जसमा यो फ्याक्ट चेक गर्दासम्म ११ सय रियाक्सन, ११० सेयर र २९ कमेन्ट छन्। उक्त पोस्टमा अर्थकागज डट कममा प्रकाशित सोही शीर्षकको समाचारको लिङ्क राखिएको छ।

अर्थकागज डट कममा प्रकाशित समाचारमा पनि ‘टकरन्युज डट को’को समाचारलाई आधार बनाइएको छ। हेर्नुस् अर्थकागजमा प्रकाशित समाचारको स्क्रिनसट।

समाचारको लिङ्क।अर्काइभ लिङ्क।

नेपालप्रेसले पनि पुस २४ गते (जनवरी ९) मा ‘२०२४ मा चढ्न नहुने तीन विश्वका एयरलाइन्स सूचीमा पर्‍यो नेपालको यती एयरलाइन्स’ शीर्षकको समाचार राखेको थियो। प्रकाशन भएको केही समयमा नै हटाइएको सो समाचारको अर्काइभ हेर्न यहाँ क्लिक गर्नुस्।

सो समाचारमा पनि ‘टकरन्यूज डट कोले एयरलाइन्स रेटिङको तथ्यांकलाई आधार मानेर बनाइएको सूचीमा यती एयरलाइन्स पनि परेको’ दावी गर्दै ‘सात स्टारमा तीनभन्दा कम ल्याउने तीन एयरलाइन्समा यती परेको’ लेखिएको छ।

नेपालप्रेसमा प्रकाशित समाचारको अर्काइभ स्क्रिनसट।

के हो तथ्य ?

यसको तथ्य जाँचका लागि हामीले नेपाली अनलाइन न्युजपोर्टलहरुमा प्रकाशित समाचारले स्रोत बनाएको ‘टकरन्युज डट को’ मा प्रकाशित समाचार खोज्यौँ। केही अनलाइनहरुले लिङ्कब्याक राखेको कारण पनि हामीलाई ओरिजिनल सोर्समा पुग्न गाह्रो भएन।

समाचार टकरन्युजमा नभई टिकरन्युज (tickernews.co) मा प्रकाशन भएको हामीले पायौँ।

टिकरन्युजमा जनवरी ८ मा ‘Worst airlines to avoid in 2024’ शीर्षकमा समाचार प्रकाशन भएको छ। टिकरन्युजले airlineratings.com ले एयरलाइन्सहरुको सुरक्षा मापदण्डलाई मूल्याङ्कन गर्दै दिने सात स्टारको रेटिङमा तीन वटा एयरलाइन्सले तीन भन्दा तल स्टार मात्रै पाएको उल्लेख छ। टिकरन्युजका अनुसार यस्ता एयरलाइन्समा इन्डोनेसियाको लायन एयर, नेपालको यति एयरलाइन्स र पपुआ न्युगिनीको पिएनजी एयर पर्छन्।

टिकरन्युजमा प्रकाशित समाचारको स्क्रिनसट। अर्काइभ लिङ्क।

हामीले टिकरन्युजको वेबसाइटलाई ध्यानसँग केलायौँ। यो न्युजपोर्टल  कहाँबाट सञ्चालित, यसमा को को छन्, कार्यालयको मोबाइल वा फोन सम्पर्क ठेगाना केही पनि उल्लेख भएको देखेनौँ।

त्यसपछि हामी टिकरन्युजमा प्रकाशित समाचारले स्रोत बताएको airlineratings.com मा गयौँ। यो वेबसाइटको सेफ्टी रेटिङ टुल (https://www.airlineratings.com/safety-rating-tool/) मा विश्वका विभिन्न एयरलाइन्सको नाम र सात वटा स्टारको रेटिङ राखिएको छ। हामीले त्यसमा नेपाल देशको एयरलाइन्स हेर्न खोज्दा यस्तो भेटियो-

एयरलाइनरेटिङ्गसको स्क्रिनसट।

यसमा नेपालको नेपाल एयरलाइन्सको सात स्टारमा एक स्टारमात्र रेटिङ देखिएको छ।

हामीले त्यसैमा यति एयरलाइन्स टाइप गरेर खोज्यौँ, तर देखिएन।

नेपाल एयरलाइन्सबाहेक अरु कुनै पनि एयरलाइन्सको रेटिङ्ग्स त्यसमा गरेको भेटिएन।

टिकरन्युजले सातमा तीनभन्दा कम स्टार मात्रै पाउने तीन वटा एयरलाइन्सको नाम मात्रै लेखेकोमा हामीले यसमा तीन भन्दा कम स्टार पाउने प्रशस्त एयरलाइन्स देख्यौँ। दुई स्टारमात्र पाउने एयरलाइन्सहरु ६ वटा छन्-

 

त्यसैगरी एक स्टार मात्रै पाउने एयरलाइन्स पनि नेपालको नेपाल एयरलाइन्समात्र नभएर विभिन्न देशका ८ एयरलाइन्स छन्।

यद्यपि, युरोपियन युनियनले आफ्नो क्षेत्रमा उडान प्रतिबन्ध लगाएका एयरलाइन्सको सूचीमा भने यति एयरलाइन्ससहित नेपालका सबै एयरलाइन्स परेका छन्। हेर्नुस् २०२३ नोभेम्बर ३० मा प्रकाशित पछिल्लो सूची। अर्काइभ लिङ्क।

तथ्य जाँच

दावी : यति एयरलाइन्स विश्वकै ‘चढ्न नहुने’, अति असुरक्षित एयरलाइन्सको सूचीमा परेको छ।

दावीकर्ता : टिकरन्युज, सूत्रन्युज, अर्थकागज

तथ्य : भ्रामक सूचना। नेपाली अनलाइन न्युजपोर्टलहरुले टिकरन्युजलाई र टिकरन्युजले एयरलाइनरेटिङ्ग्सलाई स्रोत बताएको छ। तर एयरलाइनरेटिङ्ग्सले भने यति एयरलाइन्सलाई सूचीकृत नै गरेको छैन। नेपालको नेपाल एयरलाइन्सलाई बाहेक अरु कुनै पनि एयरलाइन्स त्यसमा सूचीकृत छैन। यद्यपि उडान सुरक्षा समेतलाई ध्यानमा राख्दै युरोपियन युनियनले आफ्नो एयरस्पेसमा उडान प्रतिबन्ध लगाएका एयरलाइन्सको सूचीमा यति एयरलाइन्ससहित नेपालका सबै एयरलाइन्स पनि पर्छन्।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add